'सबै म्युचुअल फण्ड उस्तै हुँदैनन्, फण्डको प्रकार बुझेर लगानी गर्नुपर्छ' अन्तर्वार्ता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 29, 2021 | 07:30:09 PM मा प्रकाशित

sarbottam cement

नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा प्रवर्दित एनआईबिएल एस क्यापिटल ले एनआईबिएल समृद्धि फण्ड २ ल्याउने तयारी गरिरहेको छ। क्यापिटलले उक्त म्युचुअल फण्ड ल्याउने अनुमती माग्दै नेपाल धितोपत्र बोर्ड, (सेबोन) मा आबेदन दिएको छ। 

भारतीय बोर्डबाट चार्टड एकाउन्टेन्ट गरेका मेख बहादुर थापासँग भारतको पुंजीबजारसँग सम्बन्धित कम्पनीमा काम गरेको अनुभव समेत रहेको छ। नेपाल आएपछि धितोपत्र बजारको नियामक नेपाल धितोपत्र बोर्डमा ४ बर्षसम्म विभागीय प्रमुखको रुपमा काम गरेका थापाको नेतृत्वमा नै सिद्दार्थ क्यापिटलको स्थापना भई उनको नेतृत्त्वमा सिद्दार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम १ नेपालको पुंजीबजारमा पहिलोपटक संचालनमा आएको थियो। 

सर्वसाधारणहरुसँग रहेको सानो सानो आकारको लगानी जुटाएर ठुलो थैली बनाएर सामुहिक लगानी कोष संचालनमा ल्याउने काम गरेका थापा पछिल्लो ७ बर्षदेखि एनआईबिएल एस क्यापिटलको नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मवारीमा रहेका छन्। 

सबै सामुहिक लगानी कोषहरुले निश्चित बर्ष आयु भएका बन्दमुखी योजना संचालन गरिरहेको बेला थापाकै नेतृत्वमा एनआइबिएल एस क्यापिटलले नेपालमा पहिलो पटक खुलामुखी योजना संचालनमा ल्याएको छ। 

बिजपाटी डटकमले मुद्रा तथा पुंजीबजारमा प्रत्यक्ष रुपमा जोडिएर झन्डै डेढ दशक लामो समयदेखि काम गरिरहेका थापासँग एनआईबिएलले संचालक गरिसकेका म्युचुअल फण्ड, संचालन गरिरहेका म्युचअल फण्ड र अब संचालन हुने एनआईबिएल समृद्धि फण्ड २ को बारेमा तथा समग्र म्युचुअल फण्डको अहिलेको अवस्थाबारे कुराकानी गरेको छ। प्रस्तुत छ नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्ष समेत रहेका मेख बहादुर थापासंग गरिएको कुराकानीको सम्पादित अंश:

एनआईबिएल एस क्यापिटल एनआईबिएल समृद्धि फण्ड २ नामक योजना संचालनमा ल्याउने तयारीमा छ, यो योजना एनआईबिएल समृद्धि फण्ड १ भन्दा के कुराले फरक छ ?

प्राविधिक रुपमा 'एनआईबिएल समृद्धि फण्ड १' जस्तै हो, धेरै कुरा उस्तै छ, तात्विक भिन्नता धेरै छैन। यसको ठुलो हिस्सा इक्विटी तथा धितोपत्रमा लगानी हुन्छ र केहि अंश डिबेन्चर, फिक्स डिपोजिट मा लगानी हुन्छ भने बाँकी क्यास फलोको रुपमा रहन्छ।

त्यसैले 'एनआईबिएल समृद्धि फण्ड -२' ब्यालेन्स टाईपको योजना हो र यो योजना एनआईबिएल समृद्धि फण्ड -१  कै निरन्तरता हो। 

'एनआईबिएल समृद्धि फण्ड -२' ब्यालेन्स टाईपको योजना हो र यो योजना एनआईबिएल समृद्धि फण्ड -१  कै निरन्तरता हो

यसको आकार कत्रो हुन्छ ?

एनआईबिएल समृद्धि फण्ड २ को आकार १ अर्ब २० करोडको रहेको छ। नियमावली निर्देशिकाअनुसार धेरै माग आएको अवस्थामा यसको आकार २० प्रतिशतले बढ्न सक्छ। त्यो भनेको 'एनआईबिएल समृद्धि फण्ड-२' को आकार बढीमा १ अर्ब ५० करोडसम्मको हुन सक्छ, तर यसको आकार खासमा १ अर्ब २० करोडको हो। 

 'एनआईबिएल समृद्धि फण्ड-२' को आकार बढीमा १ अर्ब ५० करोडसम्मको हुन सक्छ, तर यसको आकार खासमा १ अर्ब २० करोडको हो

यस योजनाका इकाईधनीले पाउने लाभांश के हुन्छ ?

लाभांश प्रक्षेपण गरेर इकाईधनी प्रभावित गर्न हुदैन, लाभांश प्रक्षेपण गर्नु एक किसिमले लोभलालच दिनु जस्तै हो भनेर भन्छ धितोपत्रको सिद्दान्तले। त्यहि भएर लाभांश प्रक्षेपणमा हाम्रो जोड हुदैन।

तर पनि सामुहिक लगानी कोषको सामान्य सिद्दान्त अनुसार यस्ता योजनाले कम जोखिममा निश्चित आम्दानी हुने फिक्स डिपोजिटमा प्राप्त हुने प्रतिफल भन्दा धेरै प्रतिफल दिनुपर्छ भन्ने विश्वब्यापी मान्यता रहेको छ। त्यसकारण एनआईबिएल समृद्धि फण्ड २ ले कम्तिमा फिक्स डिपोजिटबाट प्राप्त हुने अर्थात ८-९ प्रतिशत भन्दा बढी प्रतिफल दिने हाम्रो लक्ष्य छ। 

 एनआईबिएल समृद्धि फण्ड २ ले कम्तिमा फिक्स डिपोजिटबाट प्राप्त हुने अर्थात ८-९ प्रतिशत भन्दा बढी प्रतिफल दिने हाम्रो लक्ष्य छ

कस्ता र कुन बर्गका व्यक्तिहरुका लागि एनआइबिएल समृद्धि फण्ड २ बढी उपयोगी हुने देख्नुहुन्छ र यस योजनाका लक्षित इकाईधनीहरु को हुन् ?

जोसंग सेयरबजारमा चाहना र इच्छा छ तर समय र ठुलो पूंजी छैन भने ती बर्गका व्यक्तिहरुले यसमा लगानी गर्न सक्छन। पटक्कै जोखिम मोल्दीन भन्ने बर्गका व्यक्तिहरुका लागि यो फण्ड उचित नहोला तर थोरै भएपनि जोखिम लिन्छु र प्रतिफल पनि राम्रै लिन्छु भन्नेहरुका लागि पक्कै पनि यो फण्डमा लगानी गर्नु उचित हुन्छ। 

संस्थागत लगानीकर्ताको लागि एनआइबिएल समृद्धि फण्ड २ मा लगानी गर्नु बढी फाइदामुलक हुन्छ

संस्थागत लगानीकर्ताको लागि त यो फण्डमा लगानि गर्नु अत्यन्त लाभदायक हुन्छ। संस्थागत लगानीकर्ताले आफैंले सेयरबजारमा लगानी गर्नु व्यवसायिक पनि हुदैन र अर्को तर्फ संस्थागत लगानीकर्ताले आफैं लगानी गर्दा समय र व्यवस्थापनको अभावले गर्दा सहि समयमा उचित लाभ लिनबाट बन्चित पनि हुनुपर्ने हुन्छ। त्यसैले गर्दा संस्थागत लगानीकर्ताको लागि एनआइबिएल समृद्धि फण्ड २ मा लगानी गर्नु बढी फाइदामुलक हुन्छ। 

बजारमा अरु म्युचुअल फण्डहरु पनि छन्, लगानीकर्तासँग लगानी गर्नलाई धेरै विकल्पहरु छन्, त्यहिपनि लगानीकर्ताले एनआईबिएल समृद्धि फण्ड २ नै किन रोज्ने ?

यो एकदम जायम प्रश्न हो, नेपाली बजारमा अहिलेसम्म पनि म्युचुअल फण्ड भनेको सबै उस्तै हुन् भन्ने बुझाई रहेको छ। तर यथार्थ के हो भने सबै म्युचुअल उस्तै हुदैनन् र छैनन् पनि। 

म्युचुअल फण्ड जोखिम र प्रतिफलको आधारमा, यसले लगानी गर्ने क्षेत्रको आधारमा, यसलाई संचालन गर्ने व्यक्तिहरुको आधारमा म्युचुअल फण्डहरु फरक फरक हुने गर्दछन। तर तितो सत्य भनेको नेपाली बजारमा यस्ता धेरै प्रकारका म्युचुअल फण्ड संचालनमा ल्याउने अभ्यास सुरु भईसकेको छैन। 

अहिले हाम्रो बजारमा २-३ प्रकारका म्युचुअल फण्ड संचालनमा छन्। जस्तो एउटा एनआईबिएल समृद्धि फण्ड १ र २ जस्तो ब्यालेन्स टाइपको म्युचुअल फण्ड, यस्ता योजनाले ६०-७० प्रतिशत फण्ड इक्विटीमा लगानी गर्ने र बाँकी कम जोखिम भएका फिक्स डिपोजिट र डिबेन्चरमा लगानी गर्ने गर्दछन। यस्ता योजना कम जोखिम लिएर बढी प्रतिफल हासिल गर्नेमा केन्द्रित हुन्छन।  

कुनै फण्ड आक्रामक रुपमा बढी जोखिम लिने र बढी नै प्रतिफल दिने प्रकारका हुन्छन। यस्ता योजनाले आफ्नो फण्डको ठुलो हिस्सा अर्थात झन्डै ९० प्रतिशत फण्ड इक्विटीमा लगानी गर्दछन र केहि पैसा लिक्वीडिटिको उदेश्यले मात्र राखिएको हुन्छ।  एनआईबिएल प्रगति फण्ड यसको उदाहरण हो। यस्ता योजनाले आफ्नो फण्ड फिक्स डिपोजिट वा डिबेन्चर जस्ता इन्स्ट्रुमेन्टमा लगानी गर्दैनन्। यसमा जोखिम पनि बढी हुन्छ र प्रतिफल पनि बढी हुन्छ। 

अहिले हाम्रो बजारमा २-३ प्रकारका म्युचुअल फण्ड संचालनमा छन्

अब लगानीगर्नेहरुले म्युचुअल फण्डको प्रकार बुझेर आफ्नो उदेश्य अनुसार लगानी गर्ने बानि बसाल्नुपर्छ। सेयरबजार बढ्दा यसको असर यस्ता योजनामा कस्तो पर्छ भन्ने कुरा म्युचुअल फण्डले गर्ने लगानीमा निर्भर हुन्छ। इक्विटी फण्ड भनेको सेयरबजारसँग प्रत्यक्षरुपमा सम्बन्ध राख्ने हुन्छन, यस्ता योजनाका ठुलो हिस्सा अर्थात पुरै जस्तो पैसा इक्वीटिमा लगानी हुन्छ जसले गर्दा बजार बढ्दा नाफा बढी हुन्छ, घट्दा कम नाफा हुन्छ। 

जहाँ एनआईबिएल समृद्धि फण्ड जस्तो योजनाहरुको बजारको रफ्तारसँग प्रत्यक्ष सम्बन्ध हुदैन। ब्यालेन्स फण्ड बजारसँग प्रत्यक्ष प्रतिकृया नराख्ने प्रकारका हुन्छन्। एनएमबि र एनआईसी एसिया क्यापिटलले डेबट फण्ड पनि संचालनमा ल्याएका छन्। यिनीहरुले आफ्नो लगानीको ठुलो हिस्स डिबेन्चरमा लगानी गर्दछन, यसको अर्थ सेयरबजारमा हुने गतिबिधिसँग यिनीहरुको प्रत्यक्ष सम्बन्ध हुदैन र जोखिम पनि कम हुन्छ, यसको अर्थ प्रतिफल पनि इक्विटी फण्ड हरुको तुलनामा कम नै हुने गर्दछ। 

अर्को हिसाबले हेर्ने हो भने एनआईबि एस क्यापिटलले खुलामुखी योजना पनि संचालनमा ल्याएको छ। यसको इकाईधनीहरुले एनआईबिएल एस क्यापिटलको काउन्टर मार्फत नै इकाई किनबेच गर्न सक्छन। यसको ट्रेडिङको सुविधा पनि एनआईबिएल ले नै उपलब्ध गराउछ। यसको फाइदा भनेको बजारमा कारोबारमा आएका अन्य म्युचुअल फण्डको इकाई न्याभ भन्दा पनि तलको मुल्यमा कारोबार भईरहेको हुन्छ भने एनआईबिएलको खुलामुखी योजनाको इकाई यसको वास्तविक न्याभमा नै कारोबार हुन्छ। यसको किनबेच घरमै बसेर अनलाइन मार्फत पनि हुने भएकाले किनबेच सहज पनि छ। 

कोष व्यवस्थापकहरुको अनुभव, दक्षता कति छ, यसले दिएको प्रतिफलको बिगत कस्तो छ भनेर पनि हेर्नुपर्ने हुन्छ। हामीले दुईवटा क्लोजिंङ  फण्ड संचालनमा ल्याईसक्यौं र नेपालमा पहिलोपटक ओपन इन्ड फण्ड पनि हामीले नै ल्याएका छौ। 

अर्कोकुरा, कोष व्यवस्थापनको गुणस्तरीयता पनि महत्त्वपूर्ण सूचक मध्ये एक हो। एनआईबिएल ले फण्ड म्यानेजमेन्ट क्वालिटीमा एएमसी प्लस थ्री ग्रेड पाएको छ। यो क्वालिटी पाउने केहि म्युचुअल फण्ड मध्ये एनआइबिएल पनि एक हो। यसले पनि हाम्रो क्षमता दर्शाउछ। 

हरेक बर्ष समृद्धि फण्डले लाभांश वितरण गरिरहेको छ र औशतमा १६-१७ प्रतिशतको रिटर्न दिंदै आएका छौं

हरेक बर्ष समृद्धि फण्डले लाभांश वितरण गरिरहेको छ र औशतमा १६-१७ प्रतिशतको रिटर्न दिंदै आएका छौं। यो भनेको फिक्स डिपोजिट र डिबेन्चरबाट प्राप्त हुने प्रतिफल भन्दा धेरै नै हो। 

केहि गुनासो एनआइबिएल को प्रगति फण्डमा छ।  प्रगति फण्ड ल्याउने समय पनि मिलेन र अर्को कुरा यो फण्डको झन्डै पुरै हिस्सा इक्विटीमा लगानी भएको छ, किनकि यो इक्विटी फण्ड हो। बजार डाउनट्रेन्ड हुँदा यो फण्ड पनि त्यसैगरि नराम्रोसँग प्रभावित भएको थियो तर अहिले बजार बिस्तारै उकालो लाग्दै गर्दा एनआइबिएल प्रगति फण्डले राम्रो गरिरहेको छ र न्याभ पनि साढे १६ रुपैयाँ पुगेको छ। बजारको अपवार्ड ट्रेन्डमा यो न्याभ अझैं माथि जाने गरि लगानी गर्न सकिन्थ्यो तर जोखिमलाई पनि हेरे हामीले ब्यालेन्स रुपमा लगानी गरिरहेका छौँ। र यो बर्ष प्रगति फण्डले पनि राम्रै अंकको लाभांश दिनेमा विश्वस्त छौं। 

म्युचुअल फण्डहरुले बैंकमा फिक्स डिपोजिट राखेर आम्दानि गरे, फिक्स डिपोजिटमै राख्ने भए म्युचुअल फण्डमा किन लगानी गर्ने भन्ने जस्ता आलोचना पनि सुनिन्छ, यसमा तपाइँ के भन्नुहुन्छ ?

म्युचुअल फण्डबारे वास्तविक ज्ञान नहुँदा यस प्रकारको आलोचना भएको हो भन्ने मलाई लाग्छ। म्युचुअल फण्ड बिभिन्न प्रकृतिका हुन्छन र आफ्नो प्रकृति अनुसार नै लगानीको निर्णय लिन्छन र लगानीको क्षेत्र रोज्छन्। 

जस्तो, एनआईसी एसियाको डाइनामिक डेबट फण्ड ओपन इन्डेड फण्ड आउदै छ, फिक्स इन्कम हुने इन्स्ट्रुमेन्टमा लगानी गर्छु भनेर एनएमबि को एनएमबि हाइब्रिड फण्ड आउदैछ, जुन धितोपत्र बोर्डबाट स्वीकृत पनि भईसकेको छ। 

जसले आफु संचालनमा आउदै गर्दा नै यो क्षेत्रमा यसरी लगानी गर्छु भनेर आएका छन्, उनीहरुलाई फिक्स डिपोजिटमा राखेको भनेर आक्षेप लगाउनु भनेको हाम्रो बुझाईको कमजोरी पनि हो।  

जसले आफु संचालनमा आउदै गर्दा नै यो क्षेत्रमा यसरी लगानी गर्छु भनेर आएका छन्, उनीहरुलाई फिक्स डिपोजिटमा राखेको भनेर आक्षेप लगाउनु भनेको हाम्रो बुझाईको कमजोरी पनि हो

हो जसले इक्विटी फण्ड भनेर ल्याएका छन् तर फिक्स डिपोजिट राखेका छन् भने यस्ता कोष व्यवस्थापक माथिको आक्षेप जायज पनि हो तर जसले संचालनमा आउँदा पनि निश्चित र फिक्स आम्दानि हुने प्रकृतिका लगानीका इन्स्ट्रुमेन्टमा लगानी गर्छु भनेर आएका हुन्छन उनीहरुलाई फिक्स डिपोजिटमा राख्यो भनेर लगाइने आक्षेप गलत हो। 

भनेपछि म्युचुअल फण्ड इक्विटी फण्ड हो कि, डेब्ट फण्ड हो कि, ब्यालेन्स फण्ड हो के हो भनेर यकिन गर्न सक्नुपर्ने रहेछ ?

पक्कैपनि म्युचुअल फण्ड भनेको एकै हुदैनन्, यसको प्रकृति अनुसार लगानीको क्षेत्र हुन्छ र लगानीको क्षेत्र अनुसार जोखिम हुन्छ, जोखिम अनुसार प्रतिफल हुन्छ। अब बढी जोखिम मोलेर बढी प्रतिफल लिन्छु भन्ने हो भने इक्विटी फण्ड रोज्नु पर्यो। होइन कम जोखिम लिन्छु र कम नै प्रतिफल भएपनि हुन्छ भन्ने हो भने  डेब्ट फण्ड रोज्नु पर्यो। 

वा जोखिम पनि ठिकै लिन्छु र प्रतिफल पनि राम्रै लिन्छु भन्ने हो भने ब्यालेन्स फण्ड रोज्नु पर्यो। खालि प्रतिफल मात्र हेरेर नभई यसको लगानीको क्षेत्र र जोखिम पनि हेरेर आफ्नो उदेश्यअनुसार फण्डमा लगानी गर्ने निर्णय लिनुपर्छ। 

लगानीकर्तासँग प्राथमिक बजार अर्थात आइपीओमा लगानी गर्ने, सेयरको दोस्रो बजारमा सुचिकृत कम्पनीका सेयरमा लगानी गर्ने, फिक्स आम्दानी भएका निश्चित अवधिका डिबेन्चरमा तथा बिभिन्न बैंक वित्तीय संस्थामा मुद्दती खातामा लगानी गर्ने विकल्पहरु हुन्छन्, यस्तो अवस्थामा यी सबै लगानीका विकल्प छाडेर म्युचुअल फण्डमै लगानी किन गर्ने ?

यो लगानीका लागि व्यवहारिक प्रश्न हो। सबै भन्दा पहिला हामि बचत गर्ने कि लगानी गर्ने भन्ने कुरामा स्पष्ट हुनुपर्दछ। म बचत मै बस्ने हो कि लगानीतर्फ पनि अगाडी बढ्ने हो भन्ने कुरामा स्पष्ट हुनुपर्छ। बचतमै बस्छु भन्ने हो भने बैंक वित्तीय संस्थामा सेभिङ खाता खोलेर त्यहीं पैसा राख्नु पर्यो।  

यो भन्दा बढी दिर्घकालिन रुपमा बचत गर्छु भन्ने हो भने बैंक वित्तीय संस्थामा फिक्स डिपोजिट अर्थात मुद्दती खातामा निश्चित अवधिको लागि पैसा राख्दा हुन्छ। फिक्स डिपोजिटमा पैसा राख्नु लगानी नभई दिर्घकालिन प्रकृतिको वचत हो भन्छु म। अलिकति लामोसमयसम्म पैसाको जरुरि हुदैन र लामोसमयसम्म बचत गर्छु भन्नेहरुले फिक्स डिपोजिटमा पैसा राख्ने हो, त्यसैले यो फिक्स डिपोजिटमा पैसा राख्नु लगानी गर्नु होइन।  कुनै जोखिम हुदैन तर केहि भएपनि ब्याजबाट आम्दानि हुन्छ भनेर बैंकमा सेभिङ वा मुद्दतिमा पैसा राख्ने हो। 

तर जीवन निर्वाहको लागि चाहिने पैसा छ अब म लगानी तर्फ पनि अगाडी बढ्छु भन्ने हो भने लगानी गर्ने हो। यसको पहिलो विकल्पमा डिबेन्चरमा जान सकिन्छ। डिबेन्चर अलि कति लामो अवधि नेपालमा औषतमा ७ बर्षको लागि हुने भएकाले यो बचत भन्दा पनि लगानी हो। डिबेन्चरमा जोखिम कम भएपनि अलिकति आम्दानी पनि हुन्छ। तर नेपालमा अहिलेसम्म डिबेन्चरको हकमा अवस्था सहज छैन। आफुलाई पैसा चाहिएको बेला डिबेन्चर बिक्रि गर्नुपर्यो भने त्यसको लागि बजार उपलब्ध छैन। 

डिबेन्चर पछिको माथिको अवस्था भनेको लगानीको लागि उचित रोजाई हो म्युचुअल फण्ड। म्युचुअल फण्डमा गरिने लगानी डिबेन्चरमा भन्दा बढी जोखिम हुन्छ र प्रतिफल पनि बढी हुन्छ। 

सामान्यतया म्युचुअल फण्ड हरुले सेयरबजारमा धेरै लगानी गर्ने भएकाले नाफा पनि बढी हुन्छ र जोखिम पनि बढी हुन्छ। बैंकमा फिक्स डिपोजिटमा राख्दा बार्षिक औषत ८-९ प्रतिशत प्रतिफल आउँछ भने म्युचुअल फण्डबाट राम्रो हुँदा औषतमा १८-१९ प्रतिशत प्रतिफल आउँछ र अलिकति नराम्रो हुँदा ९-१० प्रतिशत हुन्छ तर औषतमा १६-१७ प्रतिशत प्रतिफल आउछ। 

अर्को कुरा, म्युचुअल फण्ड भनेको धेरै इकाईधनीका थोरै थोरै पैसा जम्मा गरेर बनेको ठुलो थैली हो। यहाँ पैसाको आकार पनि ठुलो हुन्छ भने लगानीको निर्णय लिनलाई अनुभवी तथा दक्ष व्यक्तिहरुको समुह हुन्छ। यस्ता व्यक्तिहरुको काम नै बजारको अध्ययन, अनुसन्धान र विश्लेषण गरेर लगानी गर्ने भएकाले जोखिम कम गरेर बढी प्रतिफल आउने गरि लगानीको निर्णय लिने हुन्छ। 

आफुले प्रत्यक्ष रुपमा सेयरबजारमा लगानी गरेर आम्दानि गर्नको लागि पर्याप्त समय, जानकारी, ज्ञान र विश्लेषण क्षमताको खाँचो पर्दछ भने पुंजीको आकार पनि ठुलो हुनुपर्दछ। यी सबै कुरा एकै व्यक्तिमा हुने सम्भावना कम छ। 

यी हुँदा हुँदै अर्को महत्त्वपूर्ण कुरा, म्युचुअल फण्ड मा गरिएको लगानी सुनचाँदीमा गरिएको लगानी भन्दा पनि बढी सहज हुन्छ। आवश्यक परेको बेला जुनै बेला पनि सहजै यसको इकाई बिक्रि गर्न सकिन्छ। 

त्यसैले तपाइँसँग पैसा छ तर बचत भन्दा माथि उक्लिएर लगानी गर्ने चाहना छ भने आजको दिनमा म्युचुअल फण्डमा नै लगानी गर्नु बढी फाइदाजनक हुने मेरो बुझाई छ। 

लगानी कहाँ गर्ने भन्दा पहिलो उत्तर म्युचुअल फण्ड भन्ने सुनिदैन, म्युचुअल फण्डको प्रचार प्रसार तथा प्रवर्द्धनमा कोष व्यवस्थापकहरु चुकेका हुन् ?

यसमा कोष व्यवस्थापकहरु कहीं न कहिँ चुकेको नै भन्छु। कहिँ न कहीं हामि कोष व्यवस्थापकहरुले आम सर्वसाधारणलाई म्युचुअल फण्डको महत्त्व बुझाउन नसकेको नै भन्छु। 

नेपाल धितोपत्र बोर्ड नियामक भएको नाताले उसले एउटा दिशा निर्देश गर्ने कुरा आफ्नो ठाउँमा छ तर हामि कोष व्यवस्थापकहरु मार्केट प्लेयर हुँदा हुँदै पनि हामीले म्युचुअल फण्डबारे पर्याप्त प्रचार प्रसार गर्न नसकेकै हो। 

म्युचुअल फण्डक प्रकृति, यिनले लगानी गर्ने क्षेत्र र यिनिहरुले दिन सक्ने प्रतिफलबारे पर्याप्त जानकारी गराउन नसक्दा कहिलेकाहीं गलत आक्षेप पनि सहनु परेको छ। भर्खरै मात्र हामीले नेपालमा नै पहिलोपटक ओपन इन्ड प्रकृतिको खुलामुखी योजना ल्याएका छौं तर यो योजना ल्याउदै गर्दा कोभिड १९ को बिश्वब्यापी महामारी सुरु भयो जसले गर्दा हामीले योजना गरेअनुसार यसको प्रचार प्रसार गर्न सकेका छैनौ। 

हामि प्राइभेट प्लेयर भएर कति कहाँ खर्च गर्ने भन्ने पनि हुन्छ र हामीले मात्र किन र कति खर्च गर्ने भन्ने पनि प्रश्न रहन्छ। नेपालमा मात्र नभई विदेशमा पनि खुलामुखी योजना ल्याउदा एक पटक प्रचार प्रसार हुन्छ र त्यसको इकाई बिक्रि भए पश्चात प्रचार प्रसार खासै हुदैन नेपालमा पनि त्यहि हुदै आएको छ। 

खुलामुखी योजना निरन्तर रुपमा अगाडी बढ्ने भएकाले यसको आकार पनि बढाउनु पर्ने हुन्छ र त्यसकालागि प्रचार प्रसार पनि निरन्तर गर्नुपर्ने हुन्छ। भारत लगायतका देशमा खुलामुखी योजना बढी हुने भएकाले त्यहाँ प्रचार प्रसार बढी हुने गर्दछ। नेपालमा बल्ल हामीले खुलामुखी योजना सुरु गरेका छौं। यसको प्रचार प्रसार तथा प्रवर्द्धन निरन्तर गर्नुपर्ने हुन्छ तर हाम्रा पनि सिमितता हुन्छन, त्यसैले कसरी अगाडी बढ्ने भन्ने कुरामा हामि छलफलमा छौं। 

बन्दमुखी र खुलामुखी योजना मध्ये लगानीकर्ताको आकर्षण कुनमा कस्तो रह्यो ?

जसलाई म्युचुअल फण्डको बारेमा थाहा छ, उहाँहरु खुलामुखी योजनामा पनि हुनुहुन्छ। सुरुमा हामीले ३० करोडको आकारबाट सुरु गरेका थियौं तर अहिले यसको आकार ५० करोडको पुगेको छ। 

आन्तरिक प्रचार प्रसार, बिभिन्न तालिम लगायतका माध्यमबाट खुलामुखी योजनामा लगानी जुटाएको हो। बन्दमुखी योजनामा एक पटक प्रचार प्रसार गरेर लगानी जुटाएपछि कसरी बढी न्याभ पुर्याउने र बढी प्रतिफल दिने भन्नेमा ध्यान केन्द्रित हुन्छ। तर खुलामुखी योजनामा आकार पनि बढाउनु पर्ने भएकाले प्रचार प्रसार र प्रवर्द्धन निरन्तर गर्नुपर्ने हुन्छ। 

तर बुझ्ने हो भने खुलामुखी योजनामा धेरै बिकल्पहरु हुन्छन। यसमा आफुले चाहेको बेला यसको वास्तविक न्याभ कै मुल्यमा आफुसंग भएको इकाई बिक्रि गर्न सकिन्छ। अर्को महत्त्वपूर्ण कुरा, प्रत्येक महिना आफुले निश्चित रकम यस फण्डको इकाईमा लगानी गर्न सकिन्छ। 

सिस्टोमेटिक इन्भेष्टमेन्ट प्लान अनुसार प्रत्येक महिना निश्चित रकम लगानी गर्छु  र लगानीको आदत बनाउन सकिन्छ। यसमा एउटा फाइदा भनेको सानो सानो रकम लगानी हुँदा लगानी गरेको महसुस हुदैन तर राम्रो रकम लगानी भईरहेको हुन्छ। अर्कोकुरा, लगानीको लागि स्वअनुसाशन कायम हुन्छ। 

त्यसपछि, अर्कोमहत्वपूर्ण कुरा भनेको बजारमा न्याभ कहिले माथि हुन्छ भने कहिले तल पुग्छ, अनुसासन कायम गरे यसमा लगानी गर्ने हो भने न्याभ तलमाथि हुँदाको फाइदा उठाउन सकिन्छ। 

यसमा लाभांश पुन लगानी गर्ने विकल्प पनि खुला छ। बार्षिक रुपमा प्राप्त हुने लाभांश आफुले नलिई पुन लगानी गर्ने विकल्प पनि यसमा हुन्छ। यति मात्र नभई खुलामुखी योजनामा सिस्टोमेटिक विथड्रल को योजना पनि रोज्न सकिन्छ। यो एउटा पेन्शन प्लान जस्तो हो। निश्चित अवधि पछि निश्चित रकम झिक्छु भनेर त्यहि अनुसार योजना पनि बनाउन सकिन्छ। 

बैंकहरुमा यो उत्कृष्ट बैंक भनेझैं कोष व्यवस्थापकहरुमा यो कोष व्यवस्थापक उत्कृष्ट भनेर छुट्याउने आधार कुन हो र एनआइबिएल को स्थान के हो ?

यसमा पहिलो कुरा नेपाल धितोपत्र बोर्डले गर्ने रेटिंङ नै पहिलो आधार हो। फण्ड म्यानेजमेन्ट क्वालिटीमा  प्राप्त हुने एएमसी ग्रेड नै हो। यसले पनि कुन व्यवस्थापक उत्कृष्ट भन्ने कुरा छुट्याउन सहज हुन्छ। 

अर्को कोष व्यवस्थापकले व्यवस्थापन गरेका बिभिन्न म्युचुअल फण्डहरुले दिने प्रतिफल नै हो। तर म्युचुअल फण्डको तुलना गर्दा उस्तै प्रकृतिका म्युचुअल फण्डहरु एक ठाउँ राखेर तुलना गर्नुपर्ने हुन्छ। जस्तो सबै कोष व्यवस्थापकले संचालन गरिरहेका इक्विटी फण्डलाई एक ठाउँमा राखेर त्यसले दिएको प्रतिफललाई आधार मानेर कुन कोष व्यवस्थापक उत्कृष्ट भन्न सकिन्छ।  

सिधा नाङ्गो आँखाले हेरेर निर्णय गर्ने हो भने न्याभ नै हो। जुन योजनाको न्याभ धेरै छ त्यहि नै राम्रो हो पनि भन्न सकिन्छ

अब सिधा नाङ्गो आँखाले हेरेर निर्णय गर्ने हो भने न्याभ नै हो। जुन योजनाको न्याभ धेरै छ त्यहि नै राम्रो हो पनि भन्न सकिन्छ।

यसमा फण्ड म्यानेजमेन्ट क्वालिटी रेटिंङमा एनआईबिएल एस क्यापिटल संचालनमा रहेका मध्ये टपमा नै छ। हाम्रो फण्ड म्यानेजमेन्ट क्वालिटी रेटिंङ प्लस ३ एएमसी ग्रेड छ। यो बाहेक समृद्धि फण्डमा हाम्रो राम्रो छ। त्यसपछि सहभागिता फण्डमा पनि राम्रो गरिरहेका छौं, खुलामुखी योजनामा पहिलो बर्षमा नै ८।२५ प्रतिशत लाभांश दिएका छौं। तर प्रगति फण्डले बिभिन्न कारणले योजना गरेअनुसार गर्न सकेन तर यो बर्ष राम्रो गर्छौं भन्ने हाम्रो बिश्वास छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved