कोरानाको दोस्रो लहरले यतिबेला देशभरी नै आक्रान्त फैलिएको छ । दैनिक रुपमा सयौँको संख्यामा कोरोनाको सिकार बन्न बाध्य छन्, नेपाली जनता ! प्राकृतिक रुपले नै उपयोग गर्न सकिने अक्सिजन हाल जति नै खर्च गर्छु भने पनि पाउन नसकिने अवस्था छ ।
यस्तो जटिल परिस्थितिमा सरोकारवाला निकाय भने सत्ता जोगाउँन र
ढाल्न मै व्यस्त देखिन्छ । केहि दिन देखि त बैठकको बैठकमै व्यस्त छन् राजनीतिक
दलहरु ! कारोनाको उपचारमा रहेका अस्पताल प्राय सबैबाट अक्सिजन सकिएको मात्र सूचना
आएका छन् जसको समाधानमा भन्दा कुर्सी तानातानमा मस्त छ सरोकारवाला निकाय !
तीन वर्ष अगाडि सत्तारोहण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले गत सोमबार
संसदबाट विश्वासको मत गुमाएपछि नयाँ सरकार गठन गर्ने होडबाजी चलेको छ । कोही
कुर्सी च्याप्ने योजनामा मस्त छन् भने कोही कुर्सी आफ्नो पक्कडमा कसरी ल्याउने
भन्ने योजना बुन्न मै व्यस्त छन् । कोरोनाका कारण दैनिक बढ्दै गएको मृत्युदर र
संक्रमितको अवस्था बारे कसैलाई मतलव छैन मतलव गर्नेपनि मात्र बचनमा मात्र सीमित
भएको प्रष्ट देखिन्छ ।
जनता के एक भोटर, मृत्युको तथ्याङ्कमा मात्र १ अंक, राजनितीक दलको र्यालीमा केवल एक भेडा मात्र हुन् ? जसलाई आफ्नो शक्ति देखाउँनकै लागि प्रलोभनमा पारेरै भए पनि घण्टौँ यात्रा
गराएर सामेल गराउँने अनी आज प्राकृतिक रुपमा पाइने अक्सिजन समेत खान नपाएर तड्पी
तड्पी जीवनको भिख माग्दै मर्न बाध्य हुँदा भने विलीन भइदिने ?
आज सम्म त जनताको नाममा राजनीति गरेउ, जनता निरन्तर कोभिड को कारण मृत्युवरण गर्न बाध्य छन्, भोलि जनता नै रहेनन भने कसको नाममा राजनीति गर्ने हो ? आफ्नो राजनीतिक भविष्यको लागि पनि आज जनता बचाउनु आवश्यक छ भन्ने ज्ञान कसले
गएर सुनाइदिनु पर्ने हो ? जनताका नाममा राजनिती गर्नेहरु आफ्नै
भविष्यका लागि भए पनि केही त गर ।