काठमाडौँ उपत्यकाका १७ वटा तारे होटेल सहित २१ होटल कारबाहीमा परेका छन् । म्याद गुज्रिएका र मानव स्वास्थ्यमा हानी पुग्ने अखाद्य वस्तुहरू बिक्रीवितरण गरेको पाइएपछि उनीहरु कारवाहीमा परेका हुन् ।
अधिकांश तारे होटलहरूले म्याद गुज्रिएका अखाद्य वस्तुहरू बिक्री गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको हो । काठमाडौँका तारे होटलसहित २१ वटा ठूला होटलमा विभागले अनुगमन गरेको थियो । अनुगमन गर्दा सबै होटलमा म्याद सकिएका खाद्य वस्तुहरू फेला परेको थियो । विभागका सूचना अधिकारी आनन्दराज पोखरेलका अनुसार अखाद्य वस्तुहरू बिक्री वितरण गरेको पाइएपछि १७ वटा तारे होटललाई जनही (प्रतिहोटल) ३ लाख रुपैयाँ जरिवाना गरिएको छ ।
पहिलो पटक भएकाले होटलहरुको नाम भने गोप्य राखिएको छ ।
‘नाम सार्वजनिक गर्दा मुलुकको पर्यटन क्षेत्रमा नकारात्मक असर पर्छ भनेर हाललाई नाम सार्वजनिक नगरिएको हो’ उनले भने, ‘जरिवाना तिराएर अब आइन्दा म्याद नाघेका र अखाद्य वस्तु बिक्रि वितरण नगर्न सचेत गराइएको छ ।’