लगानी सम्मेलन : सरकारको दाबीमा 'सफल' तर विज्ञका दृष्टिमा 'असफल'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2024 | 12:02:20 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सरकारले तेस्रो लगानी सम्मेलन सफल भएको दाबी गरेको छ। काठमान्डौमा आयोजित दुई दिने लगानी सम्मेलनमा विभिन्न देशका कम्पनीले नेपालका कैयौँ क्षेत्रमा लगानीको प्रतिबद्धता जनाएको र केही सम्झौता पनि भएकोले सम्मेलन पूर्ण रुपमा सफल भएको सरकारको दाबि छ। 

अर्थमन्त्री वर्षमान पुन: ले लगानी सम्मेलनको पहिलो दिनको सत्रलाई सम्बोधन गर्दै सम्मेलन "भव्य रूपमा सफल भएको" र लगानीकर्ता एवं साझेदारहरूको उपस्थितिले आफूहरू "उत्साहित बनेको" बताएका छन्।

त्यस्तै लगानी सम्मेलनको समापन कार्यक्रमलाई सम्बोधन गर्दै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत शुशिल भट्टले पनि तेस्रो लगानी सम्मेलन सम्पूर्ण रुपमा सफल भएको दाबि गरेका छन्। लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले सम्मेलनमा ऊर्जा, सूचना प्रविधिलगायत कैयौँ क्षेत्रमा महत्त्वपूर्ण छलफल र साझेदारीको ढोका खोल्ने काम भएको बताए। उनले सम्मेलनको समापन समारोहमा दिएको जानकारीअनुसार सम्मेलनमा १५२ वटा परियोजना राखिएका कैयौँमा लगानीका लागि लगानीकर्ताले चासो देखाएका छन्।

लगानी सम्मेलन

त्यस्तै एक दर्जनभन्दा बढी समझदारीपत्रमा हस्ताक्षर भएका छन्। सम्मेलन अवधिमा ३० भन्दा बढी विदेशी लगानीकर्ताको टोलीले नेपालका उच्च अधिकारीहरूसँग भेटघाट गरेर आफ्नो लगानीका चासोबारे छलफल गरेको पनि उनले जानकारी दिए। विभिन्न विषयका १२ वटा सत्रहरूमा लगानीबारे गहन छलफल भएको र त्यसले लगानीका विषयमा कैयौँ कुरा स्पष्ट पार्न पाइएको भट्टले बताए।

आयोजक नेपाल सरकार तथा समन्वयकर्ता लगानी बोर्डले  लगानी सम्मेलन सफल भएको दाबी गरेपनि विज्ञ तथा जानकारहरुले सम्मेलन 'असफल' भएको प्रतिक्रिया दिएका छन्।  यस्ता सम्मेलनमा जनाइने प्रतिबद्धताको खासै अर्थ नरहेको र "देखावटी रूपमा गरिने यस्ता कार्यक्रमले लगानी भित्र्याउन मद्दत गर्ने सम्भावना कम रहेको" भन्दै लगानी सम्मेलन सफल भनिएकोप्रति विज्ञहरुले आलोचना गरेका छन्।

सरकारी समाचार एजेन्सी राससका अनुसार तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत्‌ विभिन्न चारवटा परियोजनाका लागि ९ अर्ब १३ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ। राससले उद्योग विभागको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शङ्करसिंह धामीलाई उद्धृत गर्दै उक्त लगानी स्वीकृत भएको जनाएको छ।

भक्तपुरमा लगानी कम्पनी स्थापनाका लागि ६ अर्ब, काठमाण्डूमा व्यावसायिक भवन निर्माणका लागि ३ तीन अर्ब, संयुक्त अधिराज्यको एकेलस इनर्जी लिमिटेडको ८५ प्रतिशत र कैलालीको मोहन्याल गाउँपालिकाको १५ प्रतिशत लगानीमा दुई सय किलोवाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि सात करोड ६६ लाख र ललितपुरमा होटल तथा रेस्टुराँ निर्माणका लागि ६ करोड २५ लाख रुपैयाँ बराबरको लगानी स्वीकृत भएको हो।

त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख सहप्राध्यापक रेशमबहादुर थापाले भने, "लगानी सम्मेलन एउटा प्रथा धाने जसरी भइरहेको छ। यसले अनौपचारिक रूपमा देशको ब्रान्डिङ र पर्यटनमा केही फाइदा भयो होला। तर यसलाई सफल भन्न मिल्दैन।"

पहिलेका दुईवटा सम्मेलनमा पनि लगानीको खासै प्रतिबद्धता नआएको र जनाइएका प्रतिबद्धता अनुरूप लगानी नभित्रिएको उनले स्मरण गरे। यसपालि पनि त्यस्तै भएको थापा बताउँछन्।

"नेपालको जस्तो पूर्वाधार भएको देशमा हाम्रा यस्ता परियोजना छन् भनेर देखाएको भरमा लगानी भित्रिएको इतिहास छैन," उनले भने। पूर्वाधारको आवश्यकता औँल्याउँदै उनले भने, "हामीले काफल मात्र हेरिरहेका छौँ तर काफलको रूख हेरेका छैनौँ। रूखविना काफल त फल्दैन।"

त्यस्तै स्थानीय सरकारहरू क्षमतावान् नभई विदेशी लगानी भित्रिन नसक्ने थापाको भनाइ छ।


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved