नागढुङ्गा सुरुङमार्ग: गाडी चलाउँदा पैसा तिर्नु पर्ने, बाइक छिर्नै नपाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2024 | 07:40:17 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको पहिलो आधुनिक सुरुङमार्ग 'सिस्नेखोला–नागढुंगा'को मुख्य टनेल 'ब्रेक थ्रु' भएको छ ।  आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सुरुङमार्ग छेडिएको हो ।  प्रचण्डले विद्युतिय स्वीच दबाएर व्लास्टिङ गर्दै सुरुङ मार्गको “ब्रेक थ्रु” भएको घोषणा गरेका हुन्। ब्रेक थ्रु को क्रममा नेपाली पक्ष र जापानीज पक्षले हिन्दू परम्पराअनुसार विशेष पूजा समेत गरिएको छ। 

यो आयोजना  जापानी सहयोग नियोग (जाइका) को सहयोगमा २०६९ देखि २०७२ सालसम्म सर्वेक्षण गरिएको थियो । आयोजनाको औपचारिक निर्माण २०७६ कात्तिक २८ गतेदेखि थालिएको हो । सडक विभाग र जापानी निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनबीच अप्रिल, २०२३ (४२ महिना) भित्र आयोजना निर्माण सक्ने गरी सम्झौता भएको थियो । यो सुरुङमार्ग निर्माणको कार्य सुरु भएको झन्डै ५ वर्ष पछि यसमा गाडी आवात जावत गर्न सक्ने भएका छन् ।

काठमाडौँको नागढुंगा र धादिङको सिस्नेखोलास्थित पृथ्वीमार्गलाई जोड्ने यस सुरुङमार्ग निर्माणको काम गत वैशाखमा नै सक्ने योजना थियो । तर, कोभिड १९ जस्ता बाधाका कारण निमार्ण कार्यमा ढिलाई भएको हो । 

यो सुुरुङमार्गको प्रयोग गरेर यात्रु अथवा चालकले काठमाडौँ आउदा ३३ मिनेट र काठमाडौँ देखि बाहिर जाँदा २३ मिनेट समयको बचत हुने छ । दूरीका हिसाबले सुरूङमार्ग र अहिलेकै सडकबीच त्यति धेरै फरक नदेखिए पनि सुरूङ मार्गको प्रयोगबाट समयसँगै पेट्रोलियम पदार्थको पनि बचत हुने अपेक्षा रहेको छ । सिस्नेखोलादेखि नागढुंगासम्म दिनहुँ सवारी साधन जाम हुने समस्या छ । सुरूङमार्ग सञ्चालनपछि यो समस्या हट्ने विश्वास छ ।

सुरुङमार्गका विशेषताहरु

यस सुरुङ जम्मा २ हजार ६ सय ८८ मिटर लम्बाइको रहेको छ ।  यो आयोजनामा एउटा मुख्य र अर्को उद्धार (रेस्क्यु) गरी दुइटा सुरूङ छन् ।  रेस्क्यु सुरूङको लम्बाइ  २ हजार ५ सय ५७ मिटर छ । मुख्य सुरूङको दुवैतर्फ सवारीसाधन हुन्छन् । यदि कुनै दुर्घटना भइहाल्यो भने तुरून्तै उद्धार पनि गरिन्छ । 

रेस्क्यु सुरूङ मुख्य सुरूङबाट ३० मिटर फरकमा छ । रेस्क्यु सुरूङमा सवारी गुड्ने सडक साढे चार मिटर चौडा हुनेछ । यो सुरूङमा भेन्टिलेटर र जेट फ्यानको सुविधा रहने छ । आकस्मिक अवस्थामा प्रयोग हुने यो सुरूङमा दमकल, एम्बुलेन्स जस्ता साधन गुड्न पाउँनेछन् । साथै, मुख्य सुरूङ र रेस्क्यु सुरूङमा विभिन्न ७ ठाउँमा क्रस प्यासेज राखिएको छ । सुरुङभित्र दुर्घटना भएको अवस्थामा अथवा अन्य आपतकालीन अवस्थामा ति क्रस प्यासेजबाट उम्बुलेन्स तथा दमकल आवतजावत गर्न सक्ने छन् । 

आयोजनाको मुख्य सुरूङमा सवारी गुड्ने सडक साढे ९ मिटर चौडा हुन्छ। जसमा दायाँबायाँ साढे तीन÷तीन मिटर र बीचमा तीन मिटर सडक छुट्टाछुट्टै रेखांकन गरिएको हुन्छ। बीचको तीन मिटर दुवै तर्फका सवारी साधनले प्रयोग गर्न सक्छन् । यो सुरुङमार्गमा बाट दुई पांग्रे साधनलाई आवतजावत गर्न दिइने छैन । साथै,पेट्रोलियम पदार्थ बोकेका, ग्यास बोकेका साधानहरु सवारी सुरक्षाका हिसाबले जान पाउने छैनन् । यस्ता साधनहरुले अहिलेकै सडक प्रयोग गर्नु पर्ने छ । सुरुङबाट मापदण्डअनुसार सामग्री बोकेका मलबाहक ट्रक, एम्बुलेन्स, दमकल लगाएतका साधनहरु गुड्न पाउने छन् । 

त्यस्तै, यो सुरुङमार्गको प्रयोग गर्ने साधनहरुले छुट्टै शुल्क तिर्नु पर्ने हुन्छ । सुरुङ प्रयोग गर्दा हुने समय र पेट्रोलियम पदार्थको बचतलाई आधार बनाएर शुल्क निर्धारण गरिने छ । 

यो सुरुङको “ब्रेक थ्रु” भए पनि अहिले नै सवारी साधनहरु गुड्न भने पाउने छैनन् । सवारी साधन गुड्नको लागि अझै एक वर्ष प्रतिक्षा गर्नु पर्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved