आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै साना तथा मझौला उद्योग: उद्योग मन्त्री भण्डारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2024 | 03:21:49 PM मा प्रकाशित

laxmi  sunrise bank

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै  लघु, घरेलु, साना तथा मझौला उद्योग भएको बताएका छन् । मन्त्री भण्डारील नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीहरुसँगकोे छलफलमा यस्तो बताएका हुन् ।

उनले निर्यातजन्य वस्तु साना मझौला उद्योगमै रहेको र यस्ता उद्योेगको प्रबद्र्धन र विकासमा आफु हरतरहले लाग्ने प्रतिबद्धता व्यक्त गरे । 

साना तथा मझौला उद्योगहरुको बजार मागमा आएको उच्च कमीका कारण समस्यामा परेका उद्योगी व्यवसायीहरुको समस्या समाधानका लागि उचित नीति बनाइ कार्यान्वयन गराउनको लागि तयार  रहेको भन्दै मन्त्री भण्डारीले भने, “अब हाम्रो सम्भावना, रोजगारीको क्षेत्र, हाम्रो समृद्धिको यात्रा साना घरेलु तथा लघु र मझौला घरेलु उद्योगहरु नै हो । त्यसमा पनि अझ हाम्रो स्रोत र साधनमा आधारीत उद्योगहरुको निर्यातमा ठूलो योगदान रहन्छ ।”

देशमै औद्योगिक उत्पादन बृद्धि गरी नेपाली वस्तु तथा सेवाको पहुँच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा विस्तार गरी रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिंदै मन्त्री भण्डारीले लघु, घरेलु तथा साना उद्योगीहरुका लागि कर्जामा सहुलियत र प्रविधि हस्तान्तरणका लागि प्रधानमन्त्री नेपाली उत्पादन तथा उपयोग अभिबृद्धि कार्यक्रम छिट्टै मन्त्रीपरिषदमा जान लागेको बताए ।

नेपाली उद्योगहरुको समस्याकै रुपमा तयारी वस्तु र कच्चा पदार्थमा एउटै कर हुँदा समस्या भएकोतर्फ ध्यानाकर्षण गर्दै उनले अब तयारी वस्तुमा धेरै र कच्चा पदार्थमा थोरै कर लगाउने गरी प्रस्ताव गरेको जानकारी दिए ।

“अबको नीति तथा कार्यक्रम र बजेटमा लघु, घरेलु तथा साना उद्योगका धेरै भन्दा धेरै कुरामा देखिनेगरी सरकारभित्र पनि निजी क्षेत्रको पैरवी गर्छु । उद्यमशीलताका तमाम सम्भावनाहरु छन् । आज पनि आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेको साना तथा मझौला उद्योग नै हुन् । निर्यातजन्य वस्तु साना मझौला उद्योगमै छ । अहिले पनि हामीसँग जडिबुटी प्रशस्तै छ । अमला, टिमुर यत्तिकै खेर गइरहेको छ । उत्पादनले बजार पाएको छैन ।” मन्त्री भण्डारीले भने ।

सरकारले नीतिमा सहुलियत दिने हो । उद्योग त उद्योगी व्यवसायीले चलाउने हो । त्यसैले उद्योगी व्यवसायीलाई प्रोत्साहित गर्ने र उद्योग व्यवसायको विकासका लागि सरकार प्रतिवद्ध रहेको मन्त्री भण्डारीको भनाई थियो ।

महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले नेपालको सन्दर्भमा लघु, घरेलु तथा साना उद्योगहरु आर्थिक समृद्घिको सम्बाहकका रुपमा रहेतापनि यस्ता उद्योगहरुको प्रमुख समस्याको रुपमा बजार पहुँच रहेको बताए ।

नेपाल सरकारले महिला उद्यमी, कृषि उद्योग लगायतका उद्यमीहरुलाई दिदै आएको सहुलियतपूर्ण कर्जा र कोभिड पीडित उद्यमीहरुलाई दिइदै आएको पुर्नकर्जा कार्यक्रमलाई यथावत राख्दै साना उद्यमीहरुलाई बैंकहरुले कर्जा प्रवाहमा गर्ने भेदभावपूर्ण व्यवहारको अन्त्य गर्न सरकारले सहजीकरणको भूमिका निर्वाह गर्न उनले अनुरोध गरे ।

उद्योगहरुमा जडान गरिएका मील मेसिनरी र औजारहरुको स्वामित्वको प्रमाणपत्र जारी गरी सो लाई पनि धितो मानी दैनिक उत्पादनको क्षमता र उत्पादित वस्तुको मौज्दात हेरी लघु, घरेलु तथा साना र महिला उद्यमीहरुलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था मिलाइ दिन उनको आग्रह थियो ।

आगामी बजेट मार्फत ७५३ वटै पालिकाहरुले लघु, घरेलु तथा साना उद्योगको विकासका लागि प्रत्येक पालिकाहरुले २० प्रतिशत बजेट विनियोजन गरी लघु, घरेलु तथा साना उद्योगको विकासका लागि मात्र प्रभावकारी रुपमा खर्चिने नीतिगत व्यवस्था गराइदिन अध्यक्ष सिंहले अनुरोध गरे ।

महासंघका वरिष्ठ उपाध्यक्ष सूर्य कँडेलले नेपालको संरचना जस्तै महासंघको पनि देशभर संरचना रहेको भन्दै लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धनमा देशैभर पैरवी गरिरहेको बताए ।

कार्यक्रममा महासंघका पूर्व अध्यक्षहरु वासु गिरी र लता प्याकुरेल, वरिष्ठ उपाध्यक्ष सूर्य कँडेल, उपाध्यक्षहरु हरिहर थापा, राजेन्द्रमान श्रेष्ठ, अञ्जना शाक्य, सत्यनारायण प्रजापति, मोहन कटुवाल, महासंघ अन्तरगत  केन्द्रिय महिला समिति अध्यक्ष रोशनी उपाध्याय र वरिष्ठ उपाध्यक्ष रीता अवाल, कोषाध्यक्ष अच्युत पाण्डे, सचिव रुद्र न्यौपाने, केन्द्रिय सदस्य पूर्ण पाण्डे, महासंघ अन्तरगत केन्द्रिय महिला समिति सचिव दीपा शाक्य तथा सदस्य गोमा खनाल, महासंघ, बागमती प्रदेश महिला समिति अध्यक्ष सुलोचना श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved