नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्न अहिले १६ जना दौडमा छन् । विवादै विवादमा कार्यकाल सकेर धनञ्जय रेग्मी बिदा भएपछि खाली रहेको सीईओ पदमा २० जनाको आवेदन परे पनि १६ जनाको आवेदन सदर भएको छ ।
नेपाली नागरिक भएको, मास्टर्स डिग्रीसम्मको अध्ययन सकेर पर्यटन क्षेत्रमा १० वर्षको कार्यानुभव भएको, कुनै पनि फौजदारी अभियोग नलागेको, कुनै पनि विदेश देशको स्थायी आवास अनुमति पत्र नभएको लगायतका मापदण्ड तोकिएको भए पनि अहिले आवेदन दिएका र बढी चर्चामा रहेको केही आवेदकहरुलाई हेर्दा यी मापदण्ड विपरितका पाइने स्रोत बताउँछ ।
स्रोतका अनुसार अहिले पर्यटन बोर्डको सीईओका लागि सबैभन्दा बढी चर्चामा रहेका पात्र हुन राजाराम गिरी । उनीसँग बेलायतको स्थायी आवास अनुमतिपत्र (पीआर) भएको बुझिएको छ । उनले बेलायतमै मास्टर्स डिग्रीसम्मको अध्ययन गरेको भनेर आवेदन दिँदा दाबी गरेको भए पनि त्रिभुवन विश्वविद्यालयले समकक्षता नदिएको बताइन्छ ।
उनी अहिले नेकपा माओवादीका नेतासमेत रहेका पूर्व सभामुख अग्नि प्रसाद सापकोटाको ‘पावर’ लगाएर बोर्डको सीईओ बन्ने दाउमा रहेको स्रोत बताउछ। आफ्नो पुख्र्यौली घर सिन्धुपाल्चोक भएकाले उनले सापकोटासँग सम्बन्ध देखाएर बार्गेनिङ गरिरहेको बताइन्छ । तर, उनी माओवादीसँग खास सम्बन्ध भएका पात्र भने नभएको स्रोत बताउँछ । बरु सीईओका अन्य दाबेदारहरु ठाकुर देवकोटा, दिपक बस्ताकोटी र सूर्य घिमिरे भने माओवादी निकट हुन् ।
त्यस्तै, दाङका लक्ष्मण गौतम पनि सञ्चारमन्त्री रेखा शर्मा र एमाले महासचिव शंकर पोखरेलको ‘पावर’ देखाएर सीईओ बन्ने दौडमा देखिएका छन् । बोर्डकै कर्मचारी रहेका गौतममाथि नक्कली सर्टिफिकेट (शैक्षिक योग्यताको नभई अनुभवको प्रमाणपत्र) पेश गरेर बोर्डको प्रबन्धक बनेको आरोप लागेको छ । यस विषयमा अख्तियारले अनुसन्धान गरिरहेको बताइन्छ । उनले प्रबन्धकको बढुवाका लागि कागजात पेश गर्दा स्थापना नै नभएको कम्पनी (पछि स्थापना भएको)मा २ वर्ष काम गरेको भनेर अनुभवको प्रमाणपत्र पेश गरेको बोर्डकै कर्मचारीहरु बताउँछन् ।
यस्तै, अर्का पात्र हुन् डा. धनञ्जय रेग्मी । विवादै विवादमा कार्यकाल सकेर बिदा भएका रेग्मीले पुनः सीईओका लागि आवेदन दिएका छन् । कहिले विदेशबाट आउँदा रक्सी लिएर आएको विषयमा एयरपोर्टमा कर्मचारीसँग झगडा गर्ने, कहिले विदेशबाट तोकिएको भन्दा बढी सुन ल्याएर जरिवाना तिर्ने जस्ता हर्कतमा मुझिएर असफल सावित भइ बिदा भएका रेग्मी अहिले पुनः शक्तिकेन्द्र धाएर फेरि सीईओ बन्ने दाउ हेरिरहेका छन् ।
र्यिटन बोर्ड कर्मचारी संगठनले नै रेग्मीकै कारण पर्यटन बोर्ड ध्वस्त बनेको भन्दै उनी बोर्डको इतिहासमा नै सबैभन्दा विवादित र अनुभवहीन सीईओ भएको जनाएको थियो । ‘रेग्मीले २०७८ कात्तिक २० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालबाट नियमविपरीत ६ बोतल रक्सी ल्याउन रोकेपछि ड्युटीमा खटिएका कर्मचारीमाथि दुर्व्यवहार गरेको कारण भन्सार ऐन, २०६४ को दफा ५८ बमोजिम सजाय समेत पाएका थिए,’ विज्ञप्तिमा भनिएको छ, ‘यसअघि पनि रेग्मी २०७४ पुस ७ मा भन्सार ऐन, २०६४ को दफा ५७ ९१ क० बमोजिमको सुन पैठारी कसुरमा सजाय पाएका व्यक्ति हुन् ।’
रेग्मीले पर्यटन प्रवर्द्धन तथा व्यवस्थापनका काम शून्यमा झारेर बोर्डलाई नै थला पारेको कर्मचारी संगठनको दाबी थियो ।
तर रेग्मीले आफू पुनः सीईओ नहुने अवस्था आएमा लक्ष्मण गौतमलाई अघि सार्ने बोर्डभित्र चर्चा छ । रेग्मीलाई सीईओ हुँदा उनलाई नियम विपरितका काम गर्न गौतमले नै सघाउने गरेको चर्चा हुने गरेको छ ।
यी बाहेक बोर्डको सीईओ बन्न नेपाली कांग्रेस निकट ज्ञानेन राइले पनि आवेदन दिए छन् । उनी हाल लुम्बिनी विकास कोषका कर्मचारी छन् । यस्तै, नेकपा एमाले निकट विजय नेपाल पनि दाबेदार छन् ।
बोर्डकै कर्मचारीहरु नविन पोखरेल, हिक्मतसिंह ऐर, श्रद्धा श्रेष्ठ र शन्तोष थापाले आवेदन पेश गरेका छन् ।
बोर्डकै पूर्व सीईओ दीपकराज जोशी पनि आवेदक छन् । अरु पनि ६ जना छन् ।
यस अघि : नेपाल पर्यटन बोर्डको सीईओ बन्न २० जनाको आवेदन