चाहेजति सबैले कोरियाको भाषा परिक्षा दिन नपाउँने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2024 | 08:10:58 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरिया रोजगारमा नयाँ नियम लागु भएको छ। सरकारले कोरियाको रोजगारीमा जानको लागि आवेदन दिने कै कोटा तोकेको हो । 

जस अनुसार अबदेखि कोरिया सरकारले डिमाण्ड गरेको संख्याको ३ गुणा संख्याले मात्र भाषा परीक्षामा सहभागी हुन पाउने भएका छन्। विभागले एचआरडी कोरिया (ह्युमेन रिसोउर्स डेभलपमेन्ट अफ कोरिया) को निर्देशन अनुसार यस्तो नियम लागु गरेको हो । 

कोरियाले परीक्षा अवधि लामो हुने भएकाले भाषा परीक्षामा सहभागी संख्या मै कोटा तोकेको हो। कोरियाले बारम्बार परिक्षार्थिको संख्या घटाउनेबारे ईपीएस शाखा ग्वार्कोलाई अनुरोध गर्दै आएको थियो । परीक्षार्थिको संख्या धेरै भएपछि परीक्षा समापन गर्न पनि लामो समय लाग्ने भएको भन्दै यसबारे कोरियाले पहिला देखिनै शाखालाई गुनासो गर्दै आएको थियो । 

सो क्रममा गत वर्ष अर्थात २०२३ मा एक क्षेत्रमा परीक्षामा सामेल भएकाले अर्काे क्षेत्रको लागि परीक्षा दिन नपाउने पत्र शाखालाई पठाएको थियो । सोहि विषयले गर्दा २ जना युवाको ज्यान समेत गएको थियो । पछि उच्च अदालत पाटनले सो नियम नै उल्ट्याई दिएको थियो । जस अनुसार शिप विल्डिङको परीक्षामा सामेल भएकाले पनि उत्पादनको परीक्षा दिन पाएका हुन् । 

 रोजगारीको माग संख्याको ३ गुणा संख्या मात्र परीक्षामा सामेल गराउने व्यवस्था गर्नु भनेर शाखालाई एचआरडि कोरियाले पत्र पठाएपछि शाखाले त्यस अनुसारको व्यवस्था गर्न लागेको छ । श्रम, रोजगार तथा सामाजिक सूरक्षा मन्त्रालयका सचिव तथा मन्त्रीहरुको सहमतिमा विभागले परीक्षा फर्म भर्दा नै संख्या घटाउने निर्णय गरेको छ। विभागले गत वैशाख ६ गते यस्तो निर्णय गरेको महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए । 

कोरियाले बारम्बार सो विषयमा अनुरोध गरेपछि विभागले पनि भाषा परीक्षाको आवेदन दिने प्रक्रियामा नै संख्या तोक्ने व्यवस्था गरेको उनले जानकारी दिए । उनका अनुसार आगामी भाषा परीक्षाको आवेदनबाट नै यो नियम लागु हुन्छ । यसका लागि अनलाईबाट नै आवेदन फारम भर्ने सिस्टम बनाइएको महानिर्देशक घिमिरेले जानकारी दिए । 

जब कोरियाले डिमाण्ड संख्या नेपाललाई पठाउँछ सोहि संख्याको ३ गुणा संख्याको मात्र आवेदन लिनेगरी सिस्टम मिलाईएको उनले जनाए । यदि कोरियाले १०० जनालाई रोष्टरमा राख्ने गरी डिमाण्ड पठायो भने सिस्टममा ३ सय जनाको भन्दा बढीको आवेद नलिने गरि मिलाईने उनले बताए ।  आवेदन दिने मिति तय गरिने र सो समयमा पहिलो ३०० मा जो पर्छ सोहि युवाहरु भाषा परीक्षामा सामेल हुन पाउँनेछन् । अर्थात ३०० जनाको आवेदन परेपछि सिस्टमले बाँकीको आवेदन लिँदैन । 

यसका लागि आवेदन समय शाखाले छुट्याएको हुन्छ । उसले निश्चित दिन तथा अवधि तोकेर नै आवेदन दिने समय छुट्याएको हुन्छ । 

कोरियाले नेपालमा मात्रै होइन अन्य देशमा पनि परीक्षार्थिको संख्या घटाएको छ । तर, घटाउँने विधि भने फरक छ । कोरियाले रोजगारीका लागि ईपीएस भाषा परिक्षा अन्तर्गत १६ वटा देशबाट श्रमिक लैजाने गरेको छ । ति अधिकांश देशहरुमा पनि विभिन्न विधिबाट परीक्षामा सामेल हुनेको संख्या तोकिने गरिएको छ । कुनै देशमा गोला प्रथाबाट पनि परीक्षा दिनेको संख्या तय गरिएको एचआरडि कोरियाले जनाएको छ । 

परीक्षा सकिन किन महिनौ लाग्छ ?

सिमित स्रोत र साधनले गर्दा सबै आवेदकहरुको परीक्षा सकिन लामो समय लाग्ने गरेको छ । यो परीक्षा सबै एचआरडि कोरियाले नै लिने गर्दछ । परीक्षा अनलाईनबाट नै हुने गर्दछ । 

अहिलेको अवस्थामा परीक्षा दिनका लागि जम्मा २ सय वटा मात्र कम्पूटर रहेको जनाइएको छ । यस अवस्थामा एक शिफ्टमा २०० जनाको परीक्षा हुन्छ । दिनमा ५ शिफ्टसम्म परीक्षा हुने गरेको छ । 

सोहि अनुसार हिसाव गर्दा १ दिनमा १ हजार जनाको परीक्षा हुन्छ । २०२३ मा उत्पादन क्षेत्रको लागि १ लाख ६३ हजार बढीले आवेदन दिएका थिए । शनिवार पनि परीक्षा सञ्चालन गर्ने हो भने उनीहरु सबैको परीक्षा सक्किन १ सय ६३ दिन लाग्छ । अर्थात सो परीक्षा सकिन साँढे ५ महिना लाग्ने भएको छ । यसरी कोरिया भाषको परीक्षा सधै लामो समयसम्म चलिरन्छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved