हेलिकप्टरबाट पानी खन्याएर वनमा लागेको डढेलो निभाउन कति सम्भव ?

निरोज कुमार थापा

निरोज कुमार थापा

May 07, 2024 | 10:57:34 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रि–मनसुन गतिविधि बढेसँगै देशब्यापी बढिरहेका डढेलो नियन्त्रण हुन्छ कि भन्ने आशा जगाएको छ । तर, पर्याप्त पानी परेको छैन । पर्याप्त पानी नपर्दा देशका ५३ भन्दा बढी जिल्लामा लागेको डढेलो नियन्त्रण हुन सकिरहेको छैन ।

देशब्यापी डढेलो बढिरहेका कारण ठूलो धन जनसहित पर्यावरणको क्षति भएको छ । १ सय जना जतिको आगलागीमा परेर निधन भएको छ । सयौँ हेक्टर जमिनका रुख बिरुवा जलेका छन् । यस्तो अवस्थामा डढेलो नियन्त्रणमा केन्द्र सरकारले खास पहल गरेको देखिएको छैन । विपद व्यवस्थापन समितिको बैठकमा डढेलो नियन्त्रणका लागि हेलिकप्टर प्रयोग गर्ने बारे सामान्य छलफल भए पनि यस सम्बन्धमा पनि गृह मन्त्रालयले कुनै निर्णय गर्न सकेको छैन ।

तर, विगतदेखि नै हेलिकप्टरमार्फत आगलागी तथा डढेलो नियन्त्रण गर्दै आएको सिम्रिक एयरले भने सरकारले भनेको खण्डमा आफूहरु जुनसुकै बेला हेलिकप्टर उपलब्ध गराउन तयार रहेको बताएको छ । सिम्रिक एयरका महाप्रबन्धक मुरलीधर जोशीले सिम्रिक एयरले विगतमा पाथीभरा मन्दिर क्षेत्रका जंगलमा लागेको आगो, शिवपूरी राष्ट्रिय निकुन्जमा लागेको आगो, बालाजु औद्योगिक क्षेत्रभित्रको नेबिको विस्कुट उद्योगमा लागेको आगोसहित देशका अन्य क्षेत्रमा लागेको आगोसमेत सिम्रिक एयरका हेलिकप्टर प्रयोग गरेर केही घण्टामै नियन्त्रणमा लिइएको स्मरण गराउँदै अहिले देशभरी भइरहेको आगलागी नियन्त्रणका लागि पनि आफूहरु तयार रहेको बताएका छन् ।

‘हामीले सन् २०१६ देखि २०१९ सम्म एरियल फायर फाइटिङ प्रणाली प्रशिक्षण गर्यौँ, सन् २०२० देखि वन क्षेत्रमा लागेको आगो निभाउँदै आएका छौँ’ जोशीले भने, ‘सन् २०२० मा पाथीभरा मन्दिर क्षेत्रको जंगलामा भिषण आगालागी भएको थियो, ३ दिनसम्म आगो नियन्त्रणमा नआए पछि हामीलाई खबर आयो, हामीले केही घण्टामै आगो नियन्त्रण गर्न सफल भयौँ । यो हाम्रो पहिलो प्रयास थियो, पहिलो प्रयास नै सफल भयो ।’

उनले अहिले देशभरी फैलिरहेको आगलागी नियन्त्रण गर्न आफूहरु हेलिकप्टर तयारी अवस्थामा राखेर बसेको र सरकारबाटै समन्वय पर्खिरहेको बताएका छन् । अहिले पनि सिम्रिक एयरलाई देशका विभिन्न ठाउँबाट आगलागी भइरहेको खबर आउने गरेको भए पनि वनको वास्तविक नाम, नक्सा र नजिकै रहेको पानीको स्रोतबारे स्पष्ट जानकारी नआउँदा हेलिकप्टर प्रयोग गर्न नसकिएको महाप्रबन्धक जोशी बताउँछन् ।

‘हामीले बम्बी बकेटमा पानी भरेर डढेलो लागिरहेको वन क्षेत्रमा माथिबाट पानी खन्याउने हो, यसका लागि कम्तीमा १५÷२० किलोमिटर आसपास पानीको स्रोत चाहिन्छ, तालतलैया वा नदीहरु हुनुपर्छ’ जोशी भन्छन्, ‘यसकारण यस विषयमा हामी सरकारबाटै समन्वय होस् भन्ने चाहन्छौँ । केन्द्र र प्रदेश सरकारको समन्वय पर्खिरहेका छौँ । हेलिकप्टर तयारी अवस्थामा छन् ।’

उनका अनुसार सिम्रिक एयरसँग १ हजार लिटर क्षमताका बम्बी बकेट छन् ।

यस्तै, ‘एरियल फायर फाइटिङ’का विज्ञ किशोर भट्टराईका अनुसार नेपाल जस्तो भू–बनोट भएको मुलुकका लागि डढेलो नियन्त्रण गर्न हेलिकप्टरको प्रयोग गर्नुपर्ने अति आवश्यक छ । वन क्षेत्रमा दमकल जान नसक्ने र कहीँ कतै गइहाले पनि आफैँ डढेलोमा पर्ने जोखिम हुने भएकाले डढेलो नियन्त्रण गर्न हेलिकप्टरको प्रयोग आवश्यक हुने उनको भनाइ छ ।

‘चोभारको वनमा आगो निभाउन गएको दमकल दुर्घटनामा पर्यो, इटलीमा बनेको मर्सिडिजको १० करोड पर्ने दमकल मर्मत नहुने गरि बिग्रियो, अर्को एक ठाउँमा आगो निभाउन गएको दमकल आफैँ जल्यो’ भट्टराई भन्छन्, ‘यसकारण दमकल भनेको बजार क्षेत्रमा मात्रै हो, वन क्षेत्रमा आगो निभाउन हेलिकप्टर प्रयोग गर्नुपर्ने आवश्यकता छ ।’

उनले ‘एरियल फायर फाइटिङ’ प्रणाली कुनै ‘एडभान्स’ कुरो नभएको बताउँदै हामीलाई नौलो लागे पनि विभिन्न देशहरुले यसको प्रयोग वर्षौ अघिदेखि गर्दै आएको जानकारी पनि दिए ।

‘हेलिकप्टरबाट पानी खन्याएर आगो निभाउने भनेको सुन्दा हामीलाई धेरै नै एडभान्स लाग्न सक्छ, तर यो कुनै एडभान्स कुरै होइन’ भट्टराई भन्छन्, ‘हात काट्दा टेप लगाएको जस्तै हो ।’

डढेलोले मानवीय क्षति नहुँदा पनि इन्धन, मौसम र भूगोललाई प्रभावित बनाउने भएकाले यसतर्फ विश्व नै अहिले सचेत भइरहेका बेला नेपालले पनि स्पष्ट नीति बनाउनुपर्ने उनको भनाइ छ ।

यस्तै, राष्ट्रिय निकुन्ज विभागका पूर्व महानिर्देशक फणिन्द्रराज पोखरेलले पनि डढेलो नियन्त्रणका लागि सरकारले नै कार्यक्रम बनाउनुपर्ने बताएका छन् । उनका अनुसार विगतमा अग्नी नियन्त्रणका योजना बनाउँदा हेलिकप्टरबाट आगो नियन्त्रण गर्न सकिन्छ भनेर कुनै सोच नै नराखिएको र अहिले यो अत्यावश्यक भइसकेको छ ।

‘विगतमा हेलिमार्फत आगो नियन्त्रण गर्ने भन्ने विषय कसैको सोचमै थिएन, हामी खाली फागुन चैत महिनामा डढेलो लाग्न सक्छ भनेर वन क्षेत्र र राष्ट्रिय निकुन्जमा फायर लाइन बनाउँथ्यौँ, एक ठाउँमा लागेको आगो अन्त जान नपाओस् भनेर त्यस्ता लाइनहरु हरेक वर्ष क्लियर गरिन्थ्यो’ उनी भन्छन्, ‘यो एकदमै परम्परागत प्रणाली हो, अब यसबाट मात्रै पुग्दैन । आधुनिक औजार उपकरण प्रयोग गर्नुपर्छ । सिम्रिक एयरले पाथीभरा र शिवपूरीमा लागेको आगो हेलिकप्टरबाट पानी खन्याएर निभाएको मलाई थाहा छ । अहिले यसैलाई प्राथमिकतामा राखेर देशभरी लागेको आगो निभाउन सकिन्छ भन्ने लाग्छ । यसका लागि सरकारले नै पहल गर्नु जरुरी हुन्छ ।’

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved