दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश गएको छ: अर्थमन्त्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2024 | 05:10:17 PM मा प्रकाशित

laxmi  sunrise bank

 अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले मात्र नभएर  व्यवहारिक रुपमै सरकार निजी क्षेत्रमैत्री रहेको पुष्टि भइसकेको बताएका छन्। राजस्व परामर्श समिति र निजी क्षेत्रका छाता संगठनहरुबीच आगामी बजेटबारे मन्त्रालयमा आइतबार आयोजित अन्तरक्रिया कार्यक्रममा  मन्त्री पुनले पछिल्लो समय सरकारले निजी क्षेत्रमैत्री वातावरण निर्माण गरेको बताए । 

लगानी अनुकूल वातावरण निर्माणका लागि अध्यादेशमार्फत विभिन्न ८ वटा कानूनमा गरिएको सुधार तथा लगानी सम्मेलनमा निजी क्षेत्रको सक्रिय सहभागिताले सरकार निजी क्षेत्रमैत्री रहेको पुष्टि भइसकेको उनको भनाइ थियो । मन्त्री पुनले अर्थतन्त्रमा विद्यमान शिथिलता अन्त्य गर्न राज्यले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने र निजी क्षेत्रले राज्यसँग हातेमालो गरेर अघि बढ्ने वातावरण निर्माण गर्नुपर्ने पनि बताए ।

‘लगानी सम्मेलनमा उदघाटनदेखि छलफलका सबै बन्द सेसन र समापनसम्म निजी क्षेत्रलाई प्रस्तुत गरेका छौं । स्वदेशी र विदेशी लगानीकर्तालाई लक्षित गरेर ८ वटा कानूनमा भएको संशोधनले सकारात्मक वातावरण बनेको छ’, उनले भने, ‘मुखले मात्र भनेर होइन दुनियाँले देख्ने गरी नै सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएको छ ।’ 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बारम्बार आगामी बजेटमा सरकार आफैंले र निजी क्षेत्रसँगको सहकार्यमा उत्पादन र उत्पादकत्व वृद्धिका कार्यक्रमलाई प्राथमिकतामा राख्न आफूलाई दिशानिर्देश गरिरहेको पनि उनले बताए । 

‘सम्मानजनीय प्रधानमन्त्रीले निजी क्षेत्रको मनोबल उठाउनुप¥यो । निजी क्षेत्रमैत्री वातावरण बनाउनुप¥यो । लिबरल हुनुप¥यो भनिरहनुभएको छ’, उनले भने, ‘त्यसलाई अर्थ मन्त्रालयको तर्फबाट सैद्धान्तिकरण गर्ने कोसिस जारी छ ।’ 

मन्त्री पुनले आफूले यसअघि नै सार्वजनिक मञ्चबाट करका दर हेरफेर गर्दा कसैलाई पोस्ने र कसैलाई निरुत्साहित नगरिने प्रतिबद्धता जनाएको स्मरण गरे । अर्थतन्त्रमा राम्रो योगदान गरिरहेको, उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने तथा देशलाई अगाडि बढाउने नीतिमा परिवर्तन नगरिने पनि उनले बताए । उनले भने, ‘करका दर हेरफेर गर्दा यो कारणले बढायौं, यो कारणले घटायौं भन्छौं । यो हाम्रो सार्वजनिक प्रतिबद्धता पनि हो । ’  

फरक प्रसंगमा मन्त्री पुनले लगानी सम्मेलन भव्य रुपले सम्पन्न भएको दाबी गरे । सम्मेलनमा सरकार र प्रतिपक्षी दलका नेताबाट लगानी मैत्री वातावरणबारे व्यक्त समान धारणाले आर्थिक नीतिमा सिंगो देश एकै ठाउँ रहेको सन्देश गएको पनि उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवाल, चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालसहित राष्ट्रिय उद्योग व्यापार संघ, नेपाल उद्योग व्यापार महासंघका पदाधिकारी तथा प्रतिनिधिहरुको सहभागिता थियो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved