आगामी असार ८ र ९ गते ‘हुवावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ को आयोजना हुने भएको छ । आइसिटी फाउण्डेसन नेपालको आयोजनामा हुन लागेको कन्क्लेभसँगै हुवावेले मोवाइल नेपाल कंग्रेश(एमएनसी) को पनि आयोजना गर्न लागेको छ । कन्क्लेभमा विभिन्न देशका आइसिटी बिज्ञहरुसहित ७० बढी स्रोत व्यक्तिहरु सहभागी हुने आयोजकले बताएको छ ।
द सोल्टी काठमाडौंमा आयोजना हुने कन्क्लेभमा विभिन्न ६ थिममा १५ बढि सेसनहरु सञ्चालन हुनेछन् । उक्त कन्क्लेभमा दक्षिण कोरिया, सिंगापुर, भारत, बंगलादेशबाट विषय विज्ञहरुको उपस्थिती रहने बताइएको छ ।
आयोजकका अनुसार ‘फोस्टरिङ डिजिटल्ली सक्षम नेपाल’ को नारासहित आयोजना हुने कन्क्लेभले डिजिटल रुपान्तरणको लागि नेपालको सक्षमता र यसको लागि आवश्यक नीति र कार्यान्वयनमा जोड दिनेछ । उद्घाटन सत्रमा विभिन्न राष्ट्रिय र अन्तरास्ट्रिय बिज्ञहरुको ४ वटा कि–नोट र मन्त्री रेखा शर्मासँगको पावर संवाद सेसन हुनेछ । यसैगरी, पहिलो दिनको सेसनमा डिजिटल पूर्वाधार, डिजिटल परिचय(आइडेन्टिटी) र डिजिटल गभर्नेन्स सम्वन्धि सेसनहरु रहने छन् ।
दोस्रो दिन भने डिजिटल इन्नोभेसन र उद्यमशीलता, टेक स्टाक र डिजिटल सक्षमता, डिजिटल इकोनोमी र फिनटेक सक्षमताको सेसनहरु रहने छन् । यसैगरी, कन्क्लेभमा डेटा गभर्नेन्स र डिजिटल सेक्युरिटी, डिजिटल लिडरसिप र डिजिटल सक्षमताको लागि अबको बाटो सेसनहरु सञ्चालन हुने आयोजकले जनाएको छ ।
कन्क्लेभसँगै शिर्ष प्रायोजक हुवावेईले मिनि मोवाइल वल्र्ड कंग्रेशको रुपमा मोवाइल नेपाल कंग्रेशको आयोजना गर्नेछ । सहभागीले ५ जी, एआईसँगै नयाँ प्रविधिहरुको जानकारी मोवाइल कंग्रेशमा पाउने छन् । आइसिटी फाउन्डेसन नेपालले आयोजना गरेको डिजिटल नेपाल कन्क्लेभको यो दोस्रो संस्करण हो ।
कन्क्लेभमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, दुरसञ्चार प्राधिकरण, नेपाल उद्योग बाणिज्य महासंघ लगायतको सहयोग रहेको छ ।