सुनकोशी मरिण डाइभर्सन परियोजनाबाट प्रभावित माझी समुदायको चिन्ताः भविष्य के होला ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2024 | 02:01:45 PM मा प्रकाशित

laxmi  sunrise bank

बैशाख २६ गते सुनकोशी मरिण बहुउद्देश्यीय डाइभर्सन परियोजनाको सुरुङ छिचोलिँदै छ । आयोजना प्रमुख मित्र बराल अहिले सुरुङ ‘ब्रेक थ्रू’का लागि प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तिहरुलाई आयोजना स्थलमा उतार्ने अभियानको चाँजोपाँजो मिलाउने दौडधूपमा छन् । 

तर, आडैको माझी बस्ती भने भविष्यको चिन्ताले पिरोलिएको छ । रामेछापको मन्थली नगरपालिका वडा नम्बर ६ (भलुवाजोर) सेलेघाट, हात्तीटार, नबुघाट, कुनौरीसहित आसपासका बस्तीहरु माझी समुदायको पुख्र्यौली थलो हो । तर, सुनकोशी मरिण बहुउद्देश्यीय डाइभर्सन परियोजनाबाट प्रभावित स्थानीय माझी समुदायहरु अहिले पारीपट्टिको आयोजनास्थल हेरेर आफू र आफ्ना सन्तानको भविष्यप्रति चिन्ता व्यक्त गरिरहेका छन् । 

उब्जनी हुने खेतका फाँट रहला कि नरहला भन्ने चिन्ता त छँदैछ, सँगै आफ्नो थकथलो नै छोड्नुपर्ने हो कि भन्ने चिन्ताले उनीहरुलाई पिरोलेको छ । स्थानीय डम्बर बहादुर माझीका अनुसार रामेछापका तत्कालिन प्रमुख जिल्ला अधिकारीसहित भएको छलफलमा रातो माटो र फुङ्ग उडेर हिउँद याममा उजाड जस्तै देखिने वरपरका डाँडाकाँडा बाह्रै महिना हरियाली बनाइदिने आश्वासन परियोजनाले दिएको छ । सँगै, बासस्थान नै नरहला भन्ने चिन्ता नगर्न पनि भनेको छ । 

तर, तामाकोशी र सुनकोशी नदीको संगमलस्थलमै सुनकोशी नदीलाई थुनेर १३.३ किलोमिटर लामो सुरुङमार्फत डाँडो छिचोलेर सुनकोशीको पानीलाई मरिण नदीमा खसालिँदा खुर्कोट नजिकै १२ मिटर अग्लो ब्यारेज बनाइँदैछ । यसपछि हात्तिटार फाँट डुब्छ कि भन्ने त्रासले आफूहरु निदाउन नसकेको स्थानीय डम्बरबहादुर माझी बताउँछन् ।

रामेछाप जिल्लालाई तराईका जिल्लासँग र राजधानी काठमाडौँलाई जोड्ने महत्वपूर्ण सहायक राजमार्ग पनि यहीँ बस्ती हुँदै जान्छ । खुर्कोट–मन्थली सडक खण्डको दायाँ बायाँ नै माझी बस्ती छन् । उनीहरुले भविष्यप्रतिको चिन्ता जाहेर गरिरहँदा केवल अन्नको जोहो र बस्ने बासको मात्रै कुरा छैन, प्रकृति पूजक माझी समुदायलाई संस्कृति नै संकटमा पर्ने हो कि भन्ने चिन्ताले पनि पोलिरहेको छ । 

स्थानीय सामाजिक अगुवासमेत रहेका तिलक माझी भन्छन्, ‘नदीसँग माझी समुदायको छुट्टै सम्बन्ध छ, प्रकृतिका पूजारी माझी समुदायले कोशी पूजा (लदी पूजा) गर्छन्, यहीँ क्षेत्रमा विभिन्न घाट तथा दोभानहरु छन् । यी भनेका माझी समुदायको रितिरिवाज र संस्कृतिसँग जोडिएका विषय हुन् । यसको व्यवस्थित संरक्षण हुन जरुरी छ ।’

त्यसो त, माझी समुदायले उपभोग गर्दै आएको सो क्षेत्रको जमिनलाई उकास गर्ने विषय आयोजनाको गुरुयोजनामै समेटिएको छ । ‘डुबानमा पर्ने जग्गा सुधारका साथै हात्तिटारस्थित २७ हेक्टर जग्गा उकास गरी वर्षाैंदेखि भोगचलन गर्दै आएको माझी समुदायलाई नै हस्तान्तरण गर्ने कार्यले अल्पसंज्ञख्यक तथा सीमान्तकृत समुदायको उत्थानमा सहयोग पुग्ने छ’ आयोजनाको सार्वजनिक प्रकाशनमा भनिएको छ ।

तर, हात्तिटार र सेलेघाटबासीहरु यसको कार्यान्वयनमा शंका व्यक्त गरिरहेका छन् । उत्पादन हुने जमिन मासिने भएपछि थकथलो छोडेर माझी समुदाय त्यहाँबाट विस्थापित हुनुपर्ने हो कि भन्ने शंका लागेर आफूहरु निरन्तर खबरदारीमा रहेको तिलक माझीको भनाइ छ ।

स्थानीय पूर्ण माझीका अनुसार अहिले हिउँदमा तल देखिएको तामाकोशी वर्षामा गड्गडाएर बग्छ र असारमा रोपाईँ गरेको धानसहितको खेत कटान गर्छ । बेगिएर आएको तामाकोशीबाट जोगिएको धानबालीले जेनतेन परिवार पालिँदै आएको छ । 

‘उत्पादन हुने जमिन मासिनेवाला छ, आयोजनाले भनेजस्तो उकास गरेर खेतीयोग्य बनाउन समय लाग्ला, अहिले ब्यारेज बनाउने, पानी मरिणमा खसाल्ने तर्फ मात्रै काम भइरहेको छ, यतातर्फ कुनै काम अघि बढेको छैन’ स्थानीय तिलक माझी थप्छन्, ‘यसकारण उब्जाउ हुने जमिनको प्रबन्ध कसरी गर्ने भन्नेतर्फ अहिले नै परियोजनाले सोच्नुपर्ने हुन्छ, यस परियोजनाबाट प्राप्त हुने लाभमा यहीँका स्थानीयलाई प्राथमिकता दिइनुपर्छ ।’

परियोजनाले भने जमीन उकासको काम पनि सँगसँगै हुने आशयको कुरा गरेको छ । 

‘अहिले जहाँ खेती भइरको छ, त्यहाँको जमिनको सतहको माटो एक ठाउँमा थुपारेर खोलाको गेग्राङले जमीन उचालेर खेतीयोग्य जमिनलाई उकास गर्ने योजना हाम्रो मास्टर प्लानमै समावेश छ’, आयोजना प्रमुख मित्र बराल भन्छन्, ‘सतहको माटो एक ठाउँमा जम्मा पारेर राख्ने, त्यो ठाउँमा खोलाको गेग्राङले भर्ने र त्यसमाथि खेतीयोग्य जमिनबाट निकालेर एक ठाउँमा जम्मा पारेर राखेको माटो बिच्छ्याउने हो, यसो गर्दा खेतीयोग्य जमिन पूर्ववत् अवस्थामै फकिन्छ ।’

मन्थली ६ का पूर्व वडाध्यक्षसमेत रहेका स्थानीय गोपाल माझी भने स्थानीय माझी समुदायलाई परियोजनाले रोजगारीसँग जोड्नुपर्ने बताउँछन् । तामाकोशी र सुनकोशीको पानी डाँडा पारीको मरिण खोलामा झारेर तराई मधेशका ५ जिल्ला (धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा) का १ लाख २२ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाई सुविधा उपलब्ध हुने भएकाले तामाकोशी र सुनकोशी नदी किनारका माझी समुदायले यसको रोयल्टी प्राप्त गर्नुपर्ने उनको मत छ ।

‘क्षति हाम्रो, फाइदा अर्कैलाई’

सुनकोशी मरिण बहुउदेश्यीय डाइभर्सन परियोजनाबाट रामेछाप र सिन्धुलीका ५ वटा गाउँ प्रभावित हुनेछन् । सिँचाईका लागि पानी लैजाँदा सिङ्गो माझी समुदाय र २ जिल्लाका ५ बस्तीले ब्यहार्ने नोक्सानीको भर्पाइ हुने छनक नपाउँदा हात्तीटार र आसपासका माझी समुदाय चिन्तित छन् । उनीहरुले आयोजनाबाट उत्पादन हुने ३१.०७ मेगावाट बिजुलीमा पनि आफूहरुले हिस्सा पाउनुपर्ने बताएका छन् । 

‘विकास गर्दा विनाश हुन्छ भन्ने हामीलाई राम्रोसँग थाहा छ, तर एकातिरको विनाशले अर्कोतिर मात्रै लाभ दिने कुरा न्यायसंगत हुँदैन’ भलुवाजोरका समाजसेवी स्थानीय शंकरबहादुर थापा भन्छन्, ‘यहाँ हाम्रा माझी समुदायका दाजुभाई दिदीबहिनीले वातावरणीय र आर्थिक नोक्सानी व्यहोर्नु पर्ने भएकाले यो परियोजनाबाट सिर्जना हुने विभिन्न आर्थिक उपार्जनका अवसरहरुमा यहीँका माझी समुदायलाई प्राथमकिता दिएर उक्त नोक्सानीको भर्पाइ गरिनुपर्छ ।’ 

उनले ब्यारेजमा आधुनिक खालका डुंगा चलाउने, विशाल पोखरीहरु बनाएर बजारमा उल्लेख्य माग हुने खालका माछा पालन गर्ने, ‘रिभर बिच’को कन्सेप्टमा लगानी भित्र्याएर रोजगारीमा यहीँका समुदायलाई प्राथमिकता दिने जस्ता काम राज्यले परियोजनामा नीतिगत रुपमै व्यवस्था गर्नुपर्ने मागसमेत गरेका छन् ।

आयोजनाको ब्यारेज बन्दा प्रभावित हुने जनसंख्याको ९० प्रतिशत हिस्सा माझी समुदायको छ । यत्ति हुँदाहुँदै पनि माझी समुदायले परियोजना नै बन्नु हुँदैन भनेनन् । बरु, राष्ट्रिय गौरवको यो परियोजना बनिसक्दा रोजगारी सिर्जना र आर्थिक उन्नयनको ढोका खुल्नेमा आशाका किरणहरु देखिरहेका छन् । जसका लागि स्थानीय प्रशासन र जनप्रतिनिधिमार्फत अधिकतम् लाभ हुने कुराको ग्यारेन्टी खोजिरहेका छन् ।

यस अघि : सुनकोसी मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रू’ हुँदै, बिपी राजमार्गको ९ सय मिटर सारिने

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved