अटोमेटिक रुटबाट विदेशी लगानी स्वीकृत हुने व्यवस्था सुरु, पहिलो दिन नै ९ अर्ब स्वीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2024 | 04:51:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सरकारले स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्ने व्यवस्था सुरु गरेको छ। विदेशी लगानी तथा प्रविधी हस्तान्तरण नियमावली २०७७ को पहिलो संशोधन गरी २०८० वैशाख ७ गते राजपत्रमा प्रकाशित व्यवस्था अनुसार स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्न थालिएको हो।

जस अनुसार शत प्रतिशत शेयर स्वामित्व वा संयुक्त लगानीमा नयाँ कम्पनी संस्थापना गर्न वा विदेशी लगानीमा संस्थापना भई सन्चालनमा रहेको विदेशी लगानिकर्ताले त्यस्तो कम्पनीमा पूँजी वृद्वीका लागि लगानी गर्न स्वचालित मार्ग मार्फत निवेदन दिने तथा स्वीकृत गर्ने व्यवस्था गरिएको छ ।

उद्योग मन्त्री दामोदर भण्डारीका अनुसार यसै व्यवस्था अनुसार आज नै उद्योग विभागबाट ९ अर्व १३ करोडको विदेशी लगानी स्वीकृत भएको पत्र तीन जना लगानीकर्तालाई हस्तान्तरण गरिएको छ। चिनियाँ लगानीकर्ता सुसन हुलाई इन्भेष्ट कम्पनी स्थापना गर्न ६ अर्ब, अष्ट्रेलियाको एस एण्ड जेजीलाई बिजनेश कम्प्लेक्स बनाउन र संचालन गर्न ३ अर्ब तथा युकेको एचीलुस इनर्जी लिमिटेड र कैलालीको मोहनयाल गाउँपालिकाको संयुक्त लगानीमा हाइड्रोपावर बनाउन १३ करोड लगानी स्वीकृत गरिएको छ । 

उद्योग विभागका अनुसार नेपाल सरकारले स्वचालित मार्ग ( अटोमेटिक रुट) बाट कुल पूँजी ५० करोड रुपैयाँसम्म हुने उद्योग व्यवसाय र विदेशी लगानी गर्न सकिने उद्योग व्यवसायका क्षेत्र सम्बन्धी सुचना २०८०/०६/१५ को राजपत्रमा प्रकाशन गरिसकेको छ । तेस्रो लगानी सम्मेलनलाई मध्यनजर गर्दै उद्योग विभागले स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्नको लागि विद्युतीय (www.imis.doind.gov.np) प्रणाली तयार पारेको विभागले जनाएको छ ।

विदेशी लगानीकर्ताले उक्त प्रणालीबाट आजकै मितिबाट आवेदन दिई विदेशी लगानी स्वीकृति गरिएको पत्र ईमेल मार्फत आवेदन दिने बित्तिकै प्राप्त गर्ने सक्ने र सोही आधारमा कम्पनी दर्ता गर्न सक्ने छन्। सुचना प्रविधिमा आधारित उद्योगहरुको लागि स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्दा लगानीको न्युनतम सिमा लागु गरिएको छैन । उक्त स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत हुँदा लगानीकर्ताको समय र खर्चको बचत हुन गई लगानीको बातावरण बढ्ने विभागको भनाई छ । 

विभागका अनुसार स्वचालित मार्ग ( अटोमेटिक रुट) बाट विदेशी लगानी स्वीकृति सम्बन्धि सेवा उपलब्ध गराउने प्रयोजनको लागि विभागले ऐन तथा नियमावली बमोजिम विदेशी लगानीको स्वीकृतिको लागि पेश गर्नु पर्ने बिबरण तथा कागजात विद्युतीय प्रणालीबाट पेश गर्न सकिने गरी विद्युतीय प्रणाली संचालन गरिएको छ ।

स्वचालित मार्ग (अटोमेटिक रुट) बाट विदेशी लगानी स्वीकृति लिन चाहने विदेशी लगानीकर्ताले विभागले संचालन गरेको विद्युतीय प्रणाली (www.imis.doind.gov.np) मा लग इन गरी सो प्रणालीले माग गरे बमोजिमको विवरण तथा कागजात त्यस्तो प्रणालीमा प्रविष्ट गर्नु पर्नेछ ।
विद्युतीय प्रणालीमा विदेशी लगानी स्वीकृतिको लागि आवश्यक विवरण तथा कागजात प्रविष्ट गरे पछि त्यस्तो लगानी स्वीकृतिको लागि विद्युतीय प्रणालीमा पेश गर्नु भन्दा पहिले सम्बन्धित विदेशी लगानीकर्ताले प्रविष्ट गरेको विवरण तथा कागजात जाँच गर्नु तथा सच्याउनु पर्ने भएमा सच्याउन सक्नेछ । प्रविष्ट गरिएको विवरण तथा कागजात विदेशी लगानीकर्ताले जाँच गरी आवश्यकता अनुसार सच्याए पछि विदेशी लगानी स्वीकृतिको लागि विभागको विद्युतीय प्रणालीमा पेश गर्न सक्नेछ ।

विभागका अनुसार विदेशी लगानी स्वीकृतिको लागि विभागको विद्युतीय प्रणालीमा पेश भए पछि त्यस्तो प्रणालीबाट विदेशी लगानीकर्तालाई निजले प्रविष्ट गरेको इमेल ठेगानामा आवेदन नम्बर सहितको निजको लगानी स्वीकृत भएको जानकारी (कन्फर्मेसन) दिइनेछ त्यस्तो जानकारीको अतिरिक्त भएको पत्र विभागको विद्युतीयप्रणालीबाट समेत प्राप्त गर्न सक्नेछ । विदेशी लगानी स्वीकृतिको जानकारी दिए पछि ऐन तथा नियमावली बमोजिम निजको विदेशी लगानी स्वतः स्वीकृत भएको मानिनेछ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved