काठमाडौँमा तयार भयो देशकै सर्वाधिक ठूलो विद्युत् सबस्टेसन,प्रधानमन्त्रीले गरे उद्घाटन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2024 | 07:21:28 PM मा प्रकाशित

laxmi  sunrise bank

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजधानीको चन्द्रागीरि नगरपालिका-८ स्थित हालसम्म देशकै सर्वाधिक ठूलो मातातीर्थ दुई सय २० केभी सबस्टेसन तथा मर्स्याङदी-काठमाडौँ दुई सय २० केभी प्रसारण लाइनको उदघाटन गरेका छन् । 

काठमाडौँ उपत्यकाको बढ्दो विद्युत् माग पूर्ति गर्न र मर्स्याङदी नदी करिडोरमा उत्पादन हुने बिजुलीलाई काठमाडौँसम्म लैजान उक्त सबस्टेसन र विद्युत् प्रसारण लाइन प्रयोग हुनेछन् । अब उत्पादन हुने विद्युत् परिमाणलाई हाल रहेको एक सय ३२ केभी क्षमताको प्रसारण लाइनले धान्न नसक्ने अवस्था छ । कूल ८३ किलोमिटर लामो काठमाडौँ-मर्स्याङदी प्रसारणलाइन तनहुँ, गोरखा चितवन र धादिङ हुँदै काठमाडौँ ल्याइएको छ ।  

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले केही वर्षयता उत्साहजनक ढङ्गले वृद्धि भएको विद्युत् उत्पादनअनुरुप आन्तरिक खपतलाई गुणात्मक ढङ्गले बढाउन र बचत भएको विद्युत्लाई निर्यात गर्न मातातीर्थ सबस्टेसन र मस्र्याङ्दी-काठमाडौँ दुई सय २० केभी प्रसारण लाइन महत्वपूर्ण पूर्वाधार भएको बताए । 

उत्पादनमा वृद्धि भए पनि हिउँदयाममा कम उत्पादनका कारण आयात गर्नुपर्नेजस्तो असन्तुलित स्थिति अन्त्य गर्न कर्णाली चिसापानी, माथिल्लो अरुणजस्तो ठूला परियोजना र दूधकोशीजस्तो जलाशययुक्त परियोजना अघि बढाइएको प्रधानमन्त्री दाहालले उल्लेख गरे । 

उत्पादनसँगै विद्युत्को आन्तरिक खपत बढाउन यससम्बन्धी कार्ययोजना अघि बढाइएको जानकारी उनले दिए । आगामी एकदेखि डेढ वर्षभित्र देशमा शत्प्रतिशत विद्युतीकरण गरिने उनले बताए । 

छिमेकी मुलुकहरुसँग भएको विद्युत् सम्झौताले उत्पादित विद्युत्को बजार सुनिश्चित गरेको उनको भनाइ थियो । भारत र बङ्गलादेशसँग यससम्बन्धी सम्झौतामा हस्ताक्षर भइसकेको र उत्तरमा चीनतर्फ पनि विद्युत् निर्यात गर्न चिलिमे केरुङ प्रसारण आयोजना अघि बढाइने जानकारी प्रधानमन्त्रीले दाहालले दिए । 

विश्वव्यापी मौसम परिवर्तनबाट देशको विद्युत् उत्पादन केन्द्रमा पर्न सक्ने असरबाट जोगिन आवश्यक सतर्कता अपनाउने र अन्तर्राष्ट्रिय समुदायको ध्यान यससम्बन्धमा आकर्षित गर्न थालिएको उनले स्पष्ट पारे । 

“विद्युत् आयोजना निर्माणका क्रममा आउने वन र जग्गा प्राप्तिसम्बन्धी व्यवधानलाई हटाउन विद्यमान कानुनलाई विकास निर्माणको बाधक नभई साधक बनाइनेछ,” प्रधानमन्त्री दाहालले भने । 

उत्पादनलाई थप गति दिन हाल चलिरहेको लगानी सम्मेलनमा विद्युत् उत्पादन र प्रसारण लाइन निर्माणलाई प्राथमिकताका साथ राखिएको उनले बताए। 

कार्यक्रममा ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले नेपाल विद्युत्को खुद निर्यातक देश बन्दै गरेको अवस्थामा मातातीर्थ सबस्टेसन र काठमाडौँ-मातातीर्थ सबस्टेसन लाइन समृद्धिको सूचक भएको बताए । 

सरकार आगामी १२ वर्षभित्र २८ हजार सात सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यतर्फ अघि बढेको मन्त्री बस्नेतको भनाइ छ । उनले  उत्पादित विद्युत्मध्ये ५० प्रतिशत देशभित्रै खपत गर्ने र ५० प्रतिशत निर्यात गर्ने लक्ष्य लिइएको जानकारी दिए  ।  यसैगरी, विद्युत् उत्पादनमा जनतालाई प्रत्यक्ष सहभागी बनाउन ‘जनताको जलविद्युत्’ जस्ता कार्यक्रमलाई स्थानीय सरकारमार्फत अघि बढाइने उनले बताए।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved