रोकिएन अरनिको यातायातको ‘सिण्डिकेट’, प्रतिस्पर्धीमाथि भौतिक आक्रमण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 23, 2024 | 03:34:38 PM मा प्रकाशित

laxmi  sunrise bank

सिण्डिकेटकै झल्को दिँदै प्रतिस्पर्धी यातायात कम्पनीलाई निषेध गर्दै आएको पूर्व अरनिको यातायातले यो क्रम जारी राखेको छ । खासगरि गणेश हिमाल तराई यातायातमाथि निषेधपूर्वक व्यवहार देखाइरहेको अरनिको यातायातले प्रतिस्पर्धी यातायात कम्पनीका गाडी छेकेर चालक र सह–चालकमाथि हातपात नै गर्दै आएको छ ।

आज पनि ओखलढुङ्गाको खिजीफलाटेमा अरनिको यातायातका २ वटा गाडीका चालक कर्मचारीहरु मिलेर गणेश हिमाल तराई यातायातको एक गाडीका चालकमाथि घाइते नै हुने गरि हातपात गरेका छन् । खिजीफलाटेबाट काठमाडौँका लागि छुटेका अरनिको यातायातका ९५०४ र ९०५६ नम्बरका गाडीका चालक र सहचालकले बाटो छेकेर ८७५१ नम्बरको हिमाल तराई यातायातका चालकमाथि कुटपिट गरेको हिमाल तराई यातायात प्रा.ली.ले जनाएको छ ।

जबकी अरनिको यातायातका बस खिजीफलाटेबाट काठमाडौँका लागि बिहान ६ बजे छुट्दै आएको छ । बिहान ७ बजे मात्रै गणेश हिमाल तराई यातायातको गाडी छुट्छ । एक घण्टा अगाडी खिजीफलाटेबाट छुटेको र खिजीकातीबाट आएको अर्को गाडी चण्डेश्वरीमा रोकेर राखेर गणेश हिमाल तराई यातायातको गाडीलाई कुरेर उसलाई बाटो छेकेर चालकमाथि हातपात गरेको पाइएको खिजी प्रहरीले जनाएको छ । 

‘९५०४ नम्बरको खिजीफलाटेबाट छुटेको गाडीले चण्डेश्वरीमा छेकेर बसेछ, त्यसपछि हिमाल तराई गयो, बाटो छेकेपछि गाडी जान पाएन, पछि पछि खिजीखातीबाट फलाटे हुँदै आएको अरनिको ९०५७ नम्बरको गाडी आयो, दूबै अरनिको गाडीका कर्मचारी मिलेर हिमाल तराईका चालक र सहचालकलाई कुटपिट गरेछन्’ स्रोत भन्छ, ‘पाल्जंग शेर्पा चालक र अर्का एक जना सहचालकलाई कुटपिट गरेर चण्डेश्वरीबाट अरनिको यातायातका दूबै गाडी भागेर रगनी पुगेछन् । त्यहाँ प्रहरीमा खबर गरेर रोक्न लगाएर छलफल गर्यौँ ।’

प्रहरीले दूबै गाडीलाई नियन्त्रणमा लिए पनि अरनिको यातायातका गाडी भने छोडेको छ । तर, हिमाल तराई यातायातको गाडी भने चालकले चलाउन नसके पछि रोकिएको छ । रोकेर राख्दा यात्रुलाई मर्का पर्ने भएकाले अरनिको यातायातका २ वटै गाडीमा आफूहरुको गाडीमा भएका यात्रुसमेत राखेर पठाइएको हिमाल तराई यातायात ओखलढुंगा काउण्टरका प्रतिनिधिले बताएका छन् । 

अब दूबै पक्षलाई प्रहरीले छलफलमा बोलाएपछि यसबारे थप अनुसन्धान अघि बढ्नेछ । अहिले चालक शेर्पाको सामान्य उपचार पश्चात उजुरी दिइएको छ ।

‘अरनिको यातायातका चालक र कर्मचारी मिलेर हिमाल तराई चालकमाथि कुटपिट भएछ, मिलापत्र गरेर गाडी छोड्ने तयारी गरिएकोमा गणेश हिमाल तराई यातायातका चालकले गाडी लैजान नसक्ने भएपछि त्यो गाडी यहीँ छ, उसका समेत यात्रु राखेर अरनिको यातायातलाई पठाइएको छ, अब भोली फर्किएपछि दूबै पक्षसँग छलफल राख्छौँ, सामान्य निवेदन पनि आएको छ’ स्रोतले भन्यो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved