सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक सनराइज क्यापिटलले आज शुक्रबार ११ बजे भर्चुअल माध्यमबाट आईपिओ बाँडफाँड गरेको हो ।
आईपिओ बाँडफाँड भए पनि आईपिओको नतिजा भने आईसकेको छैन । अर्थात् कसलाई आईपिओ पर्यो र कसलाई परेन अहिले नै थाहा पाउन सकिदैन । बिक्रि प्रबन्धक सनराइज क्यापिटलले आज अपरान्हसम्ममा नतिजा प्रकाशन भई सक्ने जनाएको छ । नतिजा प्रकाशन भईसकेपछि विभिन्न ४ तरिकाबाट नतिजा हेर्न सकिन्छ ।
जस अनुसार सीईडिबि हाइड्रोको वेबसाइट https://www.chdc.com.np/ , बिकी प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट https://www.sunrisecapital.com.np/ , सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ । बेलुकासम्ममा नतिजा प्रकाशित हुने बिक्रि प्रबन्धकले जनाएको छ ।
आईपिओमा ४ हजार ४ सय ४२ जनाको आवेदन अयोग्य भएको र योग्य रहेका १६ लाख ८५ हजार ६ सय २७ जनालाई गोलाप्रथामा सहभागी गराई गोलाप्रथाबाट २ लाख ३४ हजार १ सय ९५ जनाले शेयर १० कित्ताको दरले शेयर पाएका छन् । २ लाख ३४ हजार १ सय ९५ जनाले मध्ये ४ जनाले भने ११ कित्ता शेयर पाएका छन् ।
कम्पनीले सर्वसाधारणको लागि २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २ सय ३० कित्ता आइपीओ निष्काशन गरेको हो । जस मध्ये ५० हजार ३ सय ६५ कित्ता कम्पनीको कर्मचारीको लागि र १ लाख २५ हजार ९ सय ११ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो । बाँकि रहेको २३ लाख ४१ हजार ९ सय ५४ कित्ताको सर्वसाधारणले आवेदन दिन दिएका हुन् । कम्पनीको आईपिओमा १४ लाख ५५ हजार बढी आवेदन हात खाली भएका छन् ।
क्लिन इनर्जी डेभलपमेन्ट बैंकद्धारा प्रबर्धित सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड नेपालको प्रचलित कानुन अन्तर्गत मिति २०६६÷०८÷१५ गतेका दिन नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको हो । कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं जिल्ला का. म. न. पा. वडा नं. ११, त्रिपुरेश्वरमा रहेको छ । हाल यस कम्पनीमा २६५ संस्थापक शेयरधनीहरु रहेका छन् ।
कम्पनीले कसुवा खोला हाइड्रो, युनिभर्सल पावर कम्पनी , मोरङ्ग इनर्जी लिमिटेड, राप्ती हाइड्रो एण्ड जनरल कन्सट्रकसन, गण्डकी इनर्जी लिमिटेड, राधि विद्युत कम्पनी, दोर्दी खोला जलविद्युत कम्पनी, र खारे इन्भेष्टमेन्ट लिमिटेडमा शेयर लगानी गरेको छ ।