देशमा लोड्सेडिङ्ग तालिका जति लामो छ, त्यति नै बिजुली उत्पादन गर्ने भनेर दर्ता गरिएका कम्पनीको सुची पनि लामो छ । दर्ता भएका र बिद्युत उत्पादन अनुमति पाएका कम्पनीहरुले साच्चै समयमा काम  गरिदिने हो भने लोडसेडिङको त नेपालमा नामो निशानी  नै रहने थिएन।

बिद्युत विकास विभागले दिएको जानकारी अनुसार १ मेघावाट क्षमता भन्दा माथिको बिद्युत उत्पादन गर्न अनुमति खल्तीमा राखेर ३  सय ७०  कम्पनीहरु बसेका छन्। यदि यी कम्पनीले समयमा काम गर्ने हो भने ९ हजार ९ सय ६२ मेघावाट बिजुली उत्पादन हुन्छ।

नेपाल बिद्युत प्राधिकरणका अनुसार '' नेपालको कूल बिद्युतको माग मात्रा जम्मा १ हजार ५ सय मेघावाट मात्रै हो। " तर झोलामा खोला राखेर बस्ने कम्पनीका कारण देश अध्यारोबाट गुज्रिरहेको छ, खोलामा बिजुली बगिरहेको छ, खोलाकै किनारा अध्यारोमा छाम छुम छाम छुम गरिरहेको छ। 

विभागका अनुसार - १ मेघावाट क्षमताको बिजुली उत्पादनको अनुमति पाएका मात्रै १ सय ७२ कम्पनी छन्। यी कम्पनीको कूल उत्पादन क्षमता १२२ मेघावाटको हाराहारीमा छ। एक मेघावाट बिजुली उत्पादन गर्न सिन्धुपाल्चोकका विभिन्न नदीहरुमा मात्रै १८ कम्पनीले स्वीकृत पाएका छन्।

यस्तै रसुवा,इलाम ,दोलखा ,गुल्मी, बाग्लुङ्ग, ललितपुर, नुवाकोट, धादिङ्ग र सोलुमा यस्ता कम्पनीहरु केन्द्रित भएको विभागले जनाएको छ। एक मेघावाट क्षमताको बिजुली उत्पादनमा रामेछापमा मात्रै १० कम्पनीले अनुमति प्राप्त गरेका छन्।

विभागका अनुसार - १ मेघावाट भन्दा माथि २५ मेघावाट सम्मको बिद्युत उत्पादन गर्न मात्रै ६८ कम्पनीले नदी ओगेटेर बसेका छन्। ति कम्पनीले उत्पादन अनुमति पाएको बिजुली उत्पादन हुने हो भने ५  सय २४ मेघावाट बिजुली राष्ट्रिय प्रसारण मार्फत उपभोक्ताको घर घरमा जोडिने थियो।

साँच्चै उत्पादक इमान्दार हुने हो भने नेपालमा ग्यास, डिजेल र पेट्रोलको   ९ अर्बको आयातमा कमी आउने थियो - विभागका एक इन्जिनियर ले बिजपाटीलाइ बताए। उनका अनुसार ६ हजार भन्दा बढी नदीहरुको ४२ हजार किलोमिटर लम्बाई बिद्युत उत्पादनका लागि उपुक्त छ।  अझ २५ देखि १ सय मेघावाटका आयोजनाका लागि नेपालका नदि सेतो सुन नै हुन् ' उनले भने।

उनका अनुसार २५ देखि १ सय मेघावाट बिद्युत उत्पादनका लागि मात्रै ६८ कम्पनीले स्वीकृत पाइसकेका छन्। यदि यी कम्पनीले समय मै काम सम्पादन गर्ने हो भने ८ सय ३७ मेघावाट बिजुली थप हुने थियो - ती इन्जिनियरले बिजपाटिलाइ जानकारी दिए। यसैगरि १ सय १ मेघावाट क्षमाता भन्दा माथि बिजुली उत्पादनको अनुमती प्राप्त कम्पनीको संख्या १३ मात्रै छ। ति कम्पनीको कुल जडित क्षमता   भने ४ हजार २ सय २३ मेघावाट रहेको छ।

हावाबाट समेत बिजुली निकाल्न समेत  एक कम्पनीले अनुमती लिएर बसेको छ। हावाबाट मात्रै उक्त कम्पनीले ५ सय मेघावाट बिजुली निकाल्ने अनुमति पाएको छ ।  त्यसमाथि २ कम्पनीले फोहोरको डुंगुर प्रगेलेर बिजुली निकाल्न लाइसेन्स लिएर  बसेका छन् । जसले १२ मेघावाट बिजुली उत्पादन गर्ने सम्झौता विभाग संग गरेका छन्।