नेकपा माओवादी केन्द्रले अखित्यार प्रमुख लोकमानसिंह कार्कीको महाअभियोगबारे निर्णय लिने 'अन्तिम अधिकार' पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दिने निर्णय गरेको छ। 

लोमानविरुद्ध १५७ जना सांसदको हस्ताक्षरसहित महाअभियोग दर्ता भएपछिको अवस्थाको समाधान खोज्नका लागि प्रचण्ड निवासमा लाजिम्पाटमा शनिबार दिनभर बसेको पार्टी पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । पार्टी प्रवक्ता पम्फा भूसालले यसबारेमा दलहरुसँग छलफल तथा परामर्श गरेर निर्णय लिने अधिकार प्रधानमन्त्री प्रचण्डजीलाई दिने निर्णय बैठकले गरेको बताएकी छिन। 

बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले महाअभियोग ल्याउनुपर्ने कारण र यसको औचित्यबारे बताएका थिए। कांग्रेस र एमाले नेतृत्वसँग अनौपचारिक परामर्श भएर नै महाअभियोग आएको स्पष्ट पार्दै कांग्रेस पनि यसको विपक्षमा नरहेको प्रचण्डको दाबी रहेको छ। प्रचण्डले कांग्रेस र एमालेका नेताहरुसँग आफू निरन्तर सम्पर्क र सम्वादमा रहेको बताएका थिए ।

सत्ता साझेदार नेपाली कांग्रेससंगको सहमतिमा महाअभियोग प्रक्रिया अघि बढाउनु पर्ने अवस्थामा केहि सदस्यहरुले हतारमा महाअभियोग प्रस्ताब दर्ता गर्दै सिंगो पार्टी नै अप्ठ्यारोमा परेको आवाज बैठकमा हाबी भएको थियो। 

बैठकमा सहभागी अधिकांश सदस्यहरुले महाअभियोग प्रस्ताब आइसकेकाले अब कुनै पनि हालतमा पार्टी ब्याक हुन नहुने बताएका थिए। बैठकमा सहभागी एक नेताले प्रचण्डले पार्टी तथा अन्य दलसंगको परामर्शपछि मात्र ठोस निर्णय लिने बताए।