अमेरिकामा सेटल भईसकेका डेमोक्रेटिक पार्टीमा आबद्द दर्शन रौनियार पछिल्लो ४ बर्ष यता नेपालमा आफ्नो सक्रिय उपस्तिथी जनाउदै आएका छन। २६ बर्षदेखि अमेरिकामा बस्दै आएका रौनियार सन २०१२ र २०१६ को चुनावमा डेमोक्रेटिक पार्टीको उम्मेदवार बन्ने प्रयास समेत गरे। 

पहिलो प्रयासमा पाँचौ स्थानमा रहेका रौनियार सन २०१६ मा दोस्रो स्थानमा आउन सफल भए। सन २०१२ मा डेमोक्रेटिक पार्टीको उम्मेदवार बने यता नेपालमा चर्चामा रहेका रौनियारलाई नेपालमा भिजिनरी नेतृत्त्वको आवश्यक रहेको निष्कर्षमा पुगेका छन। युवा पुस्ताबाट नै नयाँ नेतृत्त्वको जन्म होस् भनेर रौनियारले पछिल्लो ४ बर्ष यता 'मुभमेन्ट फर चेन्ज'अभियान पनि चलाउदै आएका छन। 

पछिल्लो ४ बर्ष यता चलाएको अभियान केहि हदसम्म सफल रहेको उनको बिश्वास रहेको छ। अहिले नेपालमा रहेका रौनियारले विभिन्न सार्वजनिक कार्यक्रममा समृद्ध नेपालको लागि बैकल्पिक फोर्सको आवश्यकता रहेको बताउदै आएका छन। रौनियारले नेपालको पछिल्लो अवस्थालाई कसरि लिएका छन् ? यत्तिका बर्ष उनले चलाएको अभियानले कस्तो नजिता हात पर्यो ? बैकल्पिक फोर्सको खाँचो के का लागि ? यी र यस्तै बिषयमा बिजपाटीका लागि पुष्पलाल पाण्डे र मोहम्मद अज्मत अलिले गरेको कुराकानी:

सन १७७६ मा अमेरिका स्वतन्त्र हुँदै गर्दा नेपाल एक समृद्द र शक्तिशाली राष्ट थियो तर समय चक्रसंगै अमेरिका र नेपालको अवस्था ठिक बिपरित भएको छ यहाँले यो अवस्थाको तुलना कसरी गर्नु भएको छ ?
मैले यो कुरालाई धेरै नजिकबाट नियालेर हेरिरहेको छु। मेरो कांग्रेसको सन २०१२ को क्याम्पेनपछी नेपालमा हरेक बर्ष आउने गरेको छु। गाउँ गाउँ पुगेर राजादेखि रन्तसम्मका धेरै व्यक्तिहरुलाई भेटेको छु। 

गत बर्ष आएको महाबिनाशकारी भूकम्पको समयमा अत्यन्त बिकट क्षेत्रमा पुगे। यो समय मैले आफैलाई यहि प्रश्न धेरै पटक सोधे। हाम्रो देश नेपाल आखिर किन पछाडी छ ? किन यहाँको अवस्था झनै भद्रगोल हुँदै गएको छ ? राजनीतिक, धार्मिक, आर्थिक र सांस्कृतिक रुपमा हामि किन पछि पर्दै गएका छौ ? 

भिजन भएको नेताको अभाब नै नेपालको अहिलेको अवस्था हो भन्ने निष्कर्षमा पुगेको छु। नेपालमा भएका नेताहरुलाई म नेता पनि मान्दिन र भन्दिन पनि। यिनीहरुमा दुरदर्शिताको अभाब छ। 

नत कुनै नेताले संबिधानमा जोड दिएका छन। न कोहि सहि सिस्टम बनाउन तर्फ लागेका छन् नत कानुनको पालना गर्छन र गराउछन्। नेपालमा नेताकै रुपमा हेर्ने हो भने पृथ्वीनारायण शाह हुनुहुन्थ्यो, उहाँले नेपाललाई एकजुट बनाउनुभयो र नेपाल देश दिनुभो । राजा महेन्द्रले केही गर्न चाहे त्यस्तै वीपीले प्रजातन्त्रका लागि लड्नुभो, गणेशमान सिंहले बहुदलका लागि आफ्नो जीवन नै दिनुभो।

तर पछिल्ला ३ दशकमा नेता भन्न लायकको कोहि व्यक्ति पनि नेपालमा जन्म भएन। सिंगापुरमा लि क्वानले देश बनाए, चुन डूले दक्षिण कोरिया र महाथिरले मलेसिया बनाए । अहिले शेख महम्मदले मरुभूमिजस्तो ठाउँलाई दूबई बनाएका छन् । यो सबै भिजिनरी नेताका कारण सम्भब भएको हो। हो नेपालमा पनि अब भिजिनरी नेताको आवश्यकता छ।

२०४० साल देखि अहिलेसम्म नेपालमा धेरै तन्त्र आए, परिवर्तनका लागि थुप्रै लडाई भए, व्यवस्था परिवर्तनका लागि धेरैले जिबन बलिदान गरे, तर जनताको चुल्होसम्म कहिलेपनि विकास र समृद्धि पुगेन। यहाँ विकास भयो त विभिन्न बाद र परिवर्तनको लडाई लड्ने नेताहरुको जिबनशैली मात्रै। सत्ताको कुर्चीमा बस्ने व्यक्तिको अनुहार मात्रै परिवर्तन भए तर देशको अवस्था सधै यस्तै भद्रगोल रह्यो र रहेको छ।

राजनीति र नेतृत्त्वलाई मात्रै दोष दिएर आफु पन्छिन मिल्छ र ? 
राजनीति भनेको मूल हो। मूल नै पोहोर र दुषित भएपछी सबै तर्फ दुर्गन्ध फैलिन्छ। राजनीति यस्तो चीज हो जहाँ भिजन भएकाले नेतृत्त्व गर्छ। जनताको दैनिकीलाई सहज बनाउछन। जनतालाई जिबन सहज बनाउन आवश्यक पूर्वाधार र नीति बनाउने काम राजनीतक नेतृत्त्वको हो। तर विडम्बना नै भन्नुपर्छ नेपालमा यस प्रकारका नेता नभईदिंदा देशको अवस्था यस्तो भएको हो। 

नेपाली जनता सरल, सहज, साधारण छन् भने प्रति व्यक्ति आम्दानीको हिसाबमा गरिबी बढी छ भने त्यहि हिसाबले शिक्षाको पहुँच पनि कम छ। नेपाली जनताको यहि अवस्थाको फाइदा नेपालका नेताले लिंदै आएका छन। 

यो फोहोरलाई सफा गरी समृद्द नेपाल बनाउन कुनै मिसन, भिजन र उपाय छैन ?
अहिलेको नेताहरु र पार्टीहरुमा यो कुरा म देख्दिन। अन्यौलमा रहेका नेपालका जनताहरु अझैपनि समाधानको बाटो खोजिरहेका छन। भद्रगोल अवस्थामा रहेको नेपाललाई सहि दिशा दिने नेतृत्त्वको आशामा नेपाली जनता छन। 

कांग्रेस, एमाले, माओवादी सत्तामा आएकै हुन। तर कसैले केहि गर्न सकिरहेको छैन। अहिलेका नेताहरुबाट देशमा सकारात्मक परिवर्तनको अपेक्षा गर्ने कुनै ठाउँ नै बाँकी छैन। अहिलेका दल र तिनका नेताहरुले आ आफ्नो स्वार्थमा यति लिप्त भएकि नेपाली जनताले समेत यिनीहरुबाट आशा नै मारिसकेका छन। 

हामीले अहिलेका दल र नेताहरुबाट समृद्ध नेपालको अपेक्षा गर्ने सक्दैनौ। हामीले बैकल्पिक फोर्स खोल्नै पर्छ। त्यो टार्गेट अहिलेका युवा पुस्ताबाट नै सुरु हुन्छ। यहि बैकल्पिक फोर्स जन्माएर युवा पुस्ताबाट नयाँ नेतृत्त्व ल्याउनु पर्छ। 

बैकल्पिक फोर्सको नेतृत्त्व कसले गर्ने ? कतै दर्शन रौनियार नै यस फोर्सको नेतृत्त्व गर्न इच्छुक त होइन ? 
मैले बिगत ४ बर्षदेखि 'मुभमेन्ट फर चेन्ज' अभियान पनि चलाउदै आएको छु। यसको मूल उद्देश्य भनेको नै नयाँ नेतृत्त्व ल्याएर बलियो अर्थतन्त्र, समृद्द नेपालमामा जोड दिने। देशको प्राकृतिक स्रोत साधन र देशमा विद्यमान क्षमताको प्रयोग गरि समृद्द नेपाल बनाउने नै मुख्य उद्देश्य हो। नेपाली जनताले चाहे बैकल्पिक फोर्सको नेतृत्त्व लिन तयार छु। 

युवा पुस्तालाई केन्द्रमा राखेर नयाँ बैकल्पिक फोर्स भनेर अहिले पनि धेरै नेपालमा धेरै क्याम्पेनहरु चलिरहेका छन, तपाइँको कुरा त पुरानै भएन र ? 
अहिले विभिन्न क्याम्पेन चलाएकाहरुको ब्याकराउण्ड हेर्नुस, कहाँबाट आएका हुन् त्यो खोज्नुस। पढ्दै नपढेकाहरु संसदमा छन्। जंगलबाट 'क्रान्ति' गरेकाहरु नेतृत्त्वमा छन। जंगलमा बस्ने नेताहरुले कसरि राष्ट्रलाई आवश्यक पर्ने नीति , निर्माण गर्न सक्छन। हिजो बिनास गर्दै, भएका संरचना भत्काउदै हिड्नेहरुले नेपालको बिकास कसरि गर्छन ? 

जो व्यक्ति देश विदेशमा काम र अध्ययन गरेर सिप र शिक्षा हासिल गरेको छ। जसले बिकसित राष्ट्रहरुको राजनीति र सिस्टमलाई भोगेको छ र बुझेको छ, त्यस्ता व्यक्तिहरुको एउटा बैकल्पिक फोर्षको आवश्यकता छ नेपालमा। 


नयाँ बैकल्पिक फोर्सको नेतृत्त्व दर्शन रौनियारले गर्छ भन्ने हो भने अमेरिकी नागरिक बनिसकेका रौनियारलाई नेपालका जनताले बिश्वाश गर्ने आधार के छ त ? 
त्यो मेरो काम हो। सम्झाउने, बुझाउने र मेहनत गर्ने मेरो काम हो। नेपालमा मेरो आवश्यकता छ र नयाँ बैकल्पिक फोर्सको नेतृत्व म लिन सक्छु भन्ने कुरा बुझाउने जिम्मेवारी मेरो हो। यदि त्यो सम्भब भएन भने यसलाई म आफ्नो असफलता मान्ने छु। 

बिगत ४ बर्ष नेपाल आउने जाने क्रममा धेरै सम्बन्ध बनेको छ। अमेरिका गएर मेहनत गरेर काँग्रेसकको उम्मेदवार बनेको छु। म कुनै भ्रस्टाचारको आरोपित व्यक्ति होइन। म क्लिन छु। मैले चलाउदै आएको अभियानलाई पब्लिक समर्थन रहेको छ। यस आधारमा मैले समर्थन पाउनेमा बिश्वस्त छु। नेपालका जनतालाई अहिलेका पार्टीहरुमा सन्तुष्टि छ भन्ने मलाई रत्ति भर बिस्वाश छैन। सबै जनता सबल नेतृत्त्वको खोजमा छन।


त्यसो भए दर्शन रौनियार पनि फोहोरो राजनीति खेलको खेलाडी बन्ने हो ?
फोहोरो खेल खेल्नेले धेरै खेलीसके। मैले पनि फोहोरो राजनीतिक खेल खेल्नु पर्छ जस्तो लाग्दैन। यहाँका जनताहरुमा बिगतमा भन्दा धेरै चेतना आइसकेको छ। नेपालमा मध्यम बर्गीय जनताहरुले राम्रोसंग बुझेका छन् अहिलेको फोहोरो राजनीतिक खेल। 

मेरो अनुभबले यहि भन्छ कि नेपालमा धेरै इमान्दार मान्छेहरु छन्। उहाँहरुलाई लिएर संगठन बनाएर अभियान चलाएर यसैको आधारमा बैकल्पिक फोर्स खडा गर्ने हो। यहि बैकल्पिक फोर्सले समृद्द र बिकसित नेपाल बनाउने छ। 

मानौ दर्शन रौनियार सफल भयो र नेतृत्त्वको लगाम उसको हातमा आयो। यस्तो अवस्थामा अहिलेको नेपाली जनताको प्रति व्यक्ति आम्दानी ७ सय बाट १४ सय डलरमा कहिले पुग्छ ? खुशी मापनमा १२७ नम्बरमा रहेको नेपाल २७ नम्बरमा कहिले आउँछ ?  कति बर्ष भित्र ब्यापार घाटामा नाफामा जान्छ ? 
हाम्रो १० बर्षे योजना छ । योजना अनुसार काम हुनका लागि देशमा राजनीतिक स्थिरता अत्यन्त आवश्यक छ। त्यसैले सबै भन्दा पहिले राजनीतिक स्थिरता ल्याउनु छ। भ्रष्टाचार निवारण गर्नु छ । राजनीति नै प्रमुख व्यवसाय भैसकेको र माफियाहरुबाट सत्ता समीकरण परिवर्तन भईरहने देशमा यहाँ रहेको यो पद्दतिलाई सुधार गर्नु छ। 

अहिलेको अवस्थाको समाधान भनेको प्रजातान्त्रिक तानाशाही नेतृत्व नै हो। जसले प्रजातन्त्रलाई प्राथमिकतामा राखोस र भ्रष्टाचार लगायतका खराब आचरणलाई रोक्न सकोस। 

चाहे त्यो १ हजार होस् या १ करोड होस्। भ्रष्टाचारीलाई कम्तिमा १० बर्ष जेल सजायको व्यवस्था गर्नु पर्छ। मेरो योजना भनेको पहिले स्थिर राजनीति, दोस्रो गुड गभर्नेन्स, तेस्रो सहि सिस्टम। 

नेपालको विकासका लागि आवश्यक जनशक्ति प्रयाप्त छैन। यसका लागि बिदेशमा रहेका नेपालीहरुलाई स्वदेश बोलाउने वातावारण बनाउनु पर्छ। जसरि महेन्द्रले गाउँ फरक अभियान चलाए, हामीले पनि देश फर्क अभियान चलाउनु पर्छ। स्वदेश फर्किनेलाई हामि रेड कार्पेट दिन्छौ। उहाँहरुले विदेशमा सिकेका सिप, आर्जन गरेका सम्पति आफ्नै गाउँ फर्केर लगानी गर्ने छन्। त्यसका लागि हामीले उच्च कोटीको सिस्टम खडा गर्ने छौ। 

तपाइँको कुरा सुन्दा बाबुराम भटराईको कुरा याद आयो, दुवै जनाको उद्देश्य समृद्द नेपाल नै हो भने तपाइँहरु मिलेर अगाडी किन नबढ्ने ? 
राम्रो व्यक्तिसंग मिलेर अघि बढ्न पाउँदा म खुसि छु। तर बाबुराम र उनले खडा गरेको नयाँ शक्तिको भिजन मैले अहिले सम्म बुझ्न सकेको छैन। 

उहाँले १० बर्ष जनयुद के का लागि चलाउनु भयो। जंगलबाट महलमा बस्न थाल्नुभएको छ। तर उहाँले न त  यसको औचित्य पुष्टि गर्न सक्नु भएको छ , न त जनतासंग माफि माग्नु भएको छ ? उहाँकी श्रीमतीलाई जोडेर भ्रष्टाचारको धेरै चर्चा चलेको छ, यसको खण्डन कहिले गर्न सक्नुभएको छैन। 

समृद्ध नेपाल बनाउछु भनेर १० बर्षे जनयुद्दका नाममा यत्रो भयानक हिँसा गर्नु भयो। त्यो जनयुद्दको खास कारण के थियो ? सत्ता थियो भने उहँ सत्तामा पनि आउनु भयो प्रधानमन्त्री समेत बन्नु भयो। व्यवस्था परिवर्तन हो भने त्यो पनि भयो। तर उहाँ जंगलबाट महलमा आउनु भयो तर जनता र देशको अवस्था उस्तै छ। मेरो बुझाईमा बाबुराम र उहाँको नयाँ शक्ति भनेको नयाँ बोत्तलमा पुरानो रक्सि हो। त्यसैले उहाँ (बाबुराम) नसुध्रिएसम्म उहाँसंग सहाकार्य असम्भब नै छ। 


यहाँले राजनितिक स्थिरताको सपना देख्नु भएको छ विश्व अर्थतन्त्रको दोस्रो र तेस्रो स्थानमा रहेका चीन र भारतको नेपालसंगको स्वार्थलाई कसरि सम्बोधन गर्नु हुन्छ ? 
हरेक देशको आफ्नो स्वार्थ हुन्छ। तर नेपालमा भारत र चीनको उपस्तिथी जसरि भएको छ, यो गराइएको हो। आफु कम्जोर भएपछि जसले जे भने पनि हुन्छ। 

यो सत्य हो कि नेपालमा भारत र चीन दुवै राष्ट्रको चाँसो छ। नेपालमा भारतको चाहना भनेको पानि, खुला सिमाना नियन्त्रण र चाइना हो। यी कुराहरुबारे भारतसंग स्वतन्त्र रुपमा एक बृहत छलफल गरेर दुवै देशको हितमा हुने गरि आवश्यक बिषय बस्तुमा सहमति गर्न सकिन्छ। अहिले भएका समस्याहरुलाई अध्ध्यन गरी दुवैको स्वार्थको सम्बोधन हुनु पर्छ। भारत पनि नेपालसंग यहि चाहन्छ भन्ने लाग्छ र उ नेपालमा विश्वासिलो पात्रको खोजिमा छ। 

त्यस्तै चीनपनि नेपालमा स्थिर राजनीति चाहन्छ। चीन नेपालको विकास चाहन्छ। त्यसैले चीनसंग पनि छलफल गरेर दुवै राष्ट्रको हितमा हुने गरि सहमति गर्न सकिन्छ। 

त्यसैले नेपालको अहिलेको अवस्था, बढ्दो बैदेशिक हस्तक्षेप नेपालका दल र तिनका नेताहरुको स्वार्थका कारण निम्तिएको हो। 

नेपाली नागरिकहरु अहिले धर्मनिरपेक्ष कि हिन्दुराष्ट्र, संघियता, प्रदेश बाँडफाँड, गणतन्त्र कि राजतन्त्र जस्ता बिषयहरुमा बिभाजित छन, यहाँले यो अवस्थालाई कसरि हेर्नु भएको छ ? र नेताको हसियतले यसको व्यवस्थापन कसरि गर्नु हुन्छ ? 
संघियता लगायतका विभिन्न व्यवस्थाहरु नेताहरुले आफ्नो स्वार्थका लागि अघि बढाएको हो भन्ने मेरो धारणा हो। नेपालमा हिन्दुराष्ट्र, संघियता गणतन्त्र र राजतन्त्र जस्ता बिषयमा जनमत संग्रह हुनुपर्छ। जनताको मत अनुसार नै देशको व्यवस्था निर्धारण गर्नु पर्छ, न कि नेताहरुको स्वार्थ जनताले जे निर्णय गर्छन्, त्यसलाई तपाईले मान्नैपर्छ।