प्रमुख प्रतिपक्षी नेकपा एमाले  सहितका ९ राजनीतिक दलले आज राजधानीमा जनप्रदर्शन गर्दै छन् । संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई राष्ट्रघाती भनेर सडक र सदन दुवैमा आन्दोलन चर्काउदै आएका एमालेसहितका नौ दलहरूले आज राजधानीमा बृहत शक्ति प्रदर्शन गर्न लागेका हुन् । यस अघि एमालेले हिजो मोटरसाइकल र्याली समेत गरेको थियो  । 

उनीहरुको विरोधसभा दिउँसो ३ बजे राष्ट्रियसभा गृह अगाडि सडकमै हुने छ । त्यसका लागि सडक मै  मञ्च निर्माण भएको छ । त्यस अघि  ४० ठाउँबाट जुलुस निकालिने र  उक्त जुलुस १ बजे रत्नपार्क पुग्ने र त्यहाँबाट एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा जुलुस कार्यक्रमस्थल सम्म पुग्ने एमालेले जनाएको छ  ।

कहाँ कसको जुलुस

नेमकिपाले सुन्धारा, नेकपा मालेले मैतीदेवी, राजमोले अद्धैतमार्ग, परिवार दलले नागपोखरी, बहुजनशक्ति पार्टीले माइतीघर मण्डला तथा मधेस समता पार्टी, दलित जनजाति पार्टी, नेपाः पार्टीले रत्नपार्कबाट जुलुस निकाल्नेछन् । 

 ४० वटा जुलुसमध्ये एमालेका ३० वटा जनवर्गीय संगठनका बेग्लाबेग्लै जुलुस हुनेर उपत्यकाका १५ निर्वाचन क्षेत्रका निर्वाचन कमिटीले बेग्लाबेग्लै जुलुस निकाल्ने एमाले प्रचार प्रसार बिभागले जनाएको छ । त्यस्तै काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीका बेग्लाबेग्लै जुलुस हुने र  विभिन्न जिल्लाका सम्पर्कमञ्चहरुको अर्को जुलुस हुनेछ ।

एकीकृत जुलुस रत्नपार्कबाट पुरानो बसपार्क, भद्रकाली, सहिदगेट, न्युरोड गेट, भोटाहिटी, रत्नपार्क, बागबजार, पुतलीसडक हुँदै प्रदर्शनीमार्गमा सभामा परिणत हुनेछ। 

राजधानीका विभिन्न स्थानबाट जुलुस निस्कने भएकाले सिंगो राजधानीकै ट्राफिक ब्यबस्था अस्त व्यस्त हुने निश्चित छ   । 

 ट्राफिक प्रहरीले पद्मोदय मोड र सभागृह मोडबाट सवारी आवगमन निषेध गरेर वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको भएपनी अन्य रुटको बारेमा  केही खुलाएको छैन   ।  

 जनप्रदर्शनलाई व्यवस्थित गर्न ५  सय स्वयम्सेवक परिचालन गरिने एमालेले जनाएको छ  ।