वर्षायाममा पनि घटेन विद्युत्भार कटौती

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 19, 2016 | 09:01:54 AM मा प्रकाशित

laxmi  sunrise bank

मागअनुसार विद्युत् उपलब्ध गराउन नसक्दा नेपाल विद्युत् प्राधिकरणले हाल दैनिक छ घन्टा विद्युत्भार कटौती गर्दै आएको छ । साँझको समयमा हाल दैनिक एक हजार ३०० मेगावाट विद्युत्को माग हुँदै आएको छ । दिउँसो माग घटेर सामान्य अवस्थामा पुगे पनि बिहान बेलुका भने माग अत्यधिक हुने गरेका कारण प्राधिकरणले विद्युत्भार कटौतीको समय कम गर्न सकेको छैन ।

हाल प्राधिकरणको भार प्रेषण केन्द्रमा भारतबाट आयात गरिएको समेत गरी कुल ७०८ मेगावाट विद्युत् उपलब्ध भइरहेको छ । भारतबाट हाल २२२ मेगावाट विद्युत् आयात भइरहेको छ ।  भार प्रेषण केन्द्रका उपप्रबन्धक दीपक धितालका अनुसार कुल मागअनुसार विद्युत् उपलब्ध हुन नसक्दा विद्युत्भार कटौती कम गर्न सकिएको छैन ।

भूकम्पबाट ध्वस्त भएको ४५ मेगावाट क्षमताको भोटेकोसी हाल पनि पूर्णरुपमा बन्द छ । आगामी पुससम्म आयोजना पुनःनिर्माण गर्ने लक्ष्य राखिएको भए पनि केही दिन पहिले आएको बाढीका कारण आयोजनाको बाँधमा सामान्य क्षति पु¥याएका कारण पछाडि धकेलिने अवस्था देखिएको छ ।

यस्तै प्राधिकरणको सुनकोसी आयोजना पूर्णरुपमा बन्द भएको छ । १० मेगावाट विद्युत् उत्पादन हुँदै आएको भोटेकोसी बाढीका कारण बन्द गर्नुपरेको सुनकोसी जलविद्युत् केन्द्रका प्रमुख सुरज दाहालले जानकारी दिनुभयो ।

यस्तै प्राधिकरणकै मोदी खोला जलविद्युत् आयोजनासमेत आधा क्षमतामा मात्रै सञ्चालनमा रहेको छ । आयोजनाको बाँध तथा विद्युत् गृह नजिकको पर्खालमा सामान्य समस्या आएका कारण सात मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको केन्द्र प्रमुख तारादत्त भट्टले जानकारी दिनुभयो ।

उहाँले पूर्ण क्षमतामा नै आयोजना चलाउन केही दिन लाग्ने बताउनुभयो । आयोजना केही दिन बन्द हुँदा प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा विद्युत् आपूर्ति कम भएको थियो ।

यस्तै निजी प्रवद्र्धकका केही जलविद्युत् आयोजनासमेत सञ्चालनमा आउन सकेका छैनन् । भूकम्पका कारण क्षतिग्रस्त मैलुङ जलविद्युत् आयोजना सञ्चालनमा आउन सकेको छैन । चिलिमे जलविद्युत् आयोजनाका पूर्व प्रमुख डम्बरबहादुर नेपालीको संयोजनमा रहेको पाँच मेगावाट क्षमताको मैलुङ खोला आयोजना मर्मतको क्रममा रहेको छ ।

पछिल्लो दिनमा बढेको बाढी पहिरोका कारण सञ्चालनमा रहेका जलविद्युत् आयोजना पूर्ण क्षमतामा चलाउनसमेत समस्या पैदा भएको छ । बाढी र पहिरोसँगै आउने बालुवा, ढुङ्गा माटो तथा काठका कारण विद्युत् उत्पादन गृहमा क्षति हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै पूर्ण क्षमतामा नचलाइएको आयोजना प्रमुखहरुको भनाइ छ ।

प्राधिकरणले प्रक्षेपण गरेको तथ्याङ्कलाई नै मान्ने हो भने आगामी हिउँदमा एक हजार ४२५ मेगावाट विद्युत्को माग हुनेछ । वर्षायाममा समेत पूर्ण क्षमतामा नचलेका आयोजना हिउँदमा पूर्ण क्षमतामा चल्छन् भन्ने अवस्था छैन ।

सरकारले भारतबाट थप ३०० मेगावाट विद्युत् आयात गर्ने जनाएको छ । तर ढल्केबरमा सवस्टेसनको क्षमता कम हुँदा अपेक्षित विद्युत् आयात गर्न सहज नहुने अवस्था रहने नै छ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय बैठकले भने ढल्केबरमा मोबाइल सवस्टेसन राखेरै भए पनि विद्युत् आयात गर्ने निर्णय गरेको छ ।

यस्तै कुशाहा–कटैया, रक्सौल–परवानीपुरबाट थप ५०÷५० मेगावाट विद्युत् आयात गर्ने र हिउँदमा पनि विद्युत्भार कटौतीलाई छ घन्टामा सीमित राख्ने सरकारको योजना छ । यस्तै निर्माणका क्रममा रहेका केही आयोजना सम्पन्न हुनेछन् । त्यसबाट थप १०० मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ । तर भूकम्पबाट क्षति भएका र निर्माणका क्रममा रहेका आयोजना पूरा नहुँदा भने विद्युत्भार कटौती कम गर्न प्राधिकरण असमर्थ नै रहने देखिन्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved