'शेयरमार्केट बियरिस हुँदापनि हामी राम्रो प्रतिफल दिन्छौ', सीइओ प्याकुरेलको अन्तर्वाता

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 05, 2021 | 08:17:26 PM मा प्रकाशित

laxmi  sunrise bank

आरविवि मर्चेन्ट बैकिङ लिमिटेडले असार २३ गतेदेखि आरविवि म्युचुअल फण्ड १ को इकाई निष्काशन गर्दै छ । कम्पनीले संचालन गर्न लागेको यो पहिलो सामुहिक लगानी कोष योजना हो ।

यो योजना कोष प्रवद्र्घक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र योजना व्यवस्थापक तथा डिपोजिटरी आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड हुने गरी “आरविवि म्यूचुअल फण्ड” अन्र्तगत संचालन हुने बन्दमुखी योजना  हो । यस योजनाको समयावधि सात बर्षको रहनेछ । 

बिजपाटी डटकमले यस योजनाको विषयमा, योजनाको उदेश्य, कम्पनीको भावी योजना र म्युचुअल फण्ड समबन्धि अन्य विविध विषयमा आरविवि मर्चेन्ट बैकिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलसँग कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश ः 

कम्पनीले संचालन गर्न लागेको यो योजना कस्तो हो ?

हामीले आरविवि म्युचुअल फण्ड १ योजना संचालन गर्न लागेका हौ । योजनाको कोष प्रबर्दक सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक रहेको छ ।  योजना ब्यबस्थापक आरविवि मर्चेन्ट रहेको छ । यो आरविविको पहिलो सामुहिक लगानी कोष योजना हो ।  

यो १ अर्ब आकारको ७ वर्षे योजना अवधि भएको बन्दमुखी योजना हो ।  योजना अन्तर्गत १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशन हुने छ । जस मध्ये १ करोड ५० लाख इकाई कोष प्रबर्दक राष्ट्रिय वाणिज्य बैंक र योजना ब्यबस्थापक आरविवि मर्चेन्टलाई छुट्याईएको छ । बाँकि रहेको ८ करोड ५० लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । 

माग भन्दा बढीको आवेदन परेको खण्डमा योजनाको आकारलाई बढाएर १ अर्ब २५ करोडको पुर्याउन सकिने ब्यबस्था छ ।  सर्वसाधारणले आवेदन दिंदा न्युनतम १ सय इकाई र अधिकतम १ करोड इकाईको लागि आवेदन दिन सक्ने छन् ।  २०७८ असार २३ गतेदेखि आवेदन खुला हुने छ भने छिटोमा असार २७ गतेसम्म आवेदन दिन सकिने छ ।  सो अवधिसम्म पूर्ण आवेदन नपरेमा साउन ६ गतेसम्म आवेदन दिन सकिन्छ ।  तोकिएको समयमा नै सबै इकाई बिक्रि हुनेमा हामी विश्वस्त छौ ।  

यस योजनाले के के मा लगानी गर्छ ?

धितोपत्र बोर्डको नियमावली र निर्देशिकाको अधिनमा रही इकाई बिक्रीबाट संकलन भएको रकम बोर्डमा दर्ता भएको धितोपत्र, सार्वजनिक निष्काशन भएको धितोपत्र, धितोपत्र बिनिमय बजारमा सूचिकृत धितोपत्र, नेपाल सरकारले जारी गरेको वा नेपाल सरकारको जमानत वा पूर्ण सूरक्षित हुने गरी सरकारी स्वामित्व वा नियन्त्रणमा रहेको कुनै संस्था वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र, ट्रेजरी वील तथा मुद्रा बजारका अन्य साधनहरुमा लगानी गर्ने छ । बैंक निक्षेप, मुद्रा बजार उपकरण र बोर्डले तोकिदिएको अन्य क्षेत्रमा लगानी गर्न सकिने छ । लगानी गर्दा नियमावलीको व्यवस्थालाई मध्यनजर गरि प्रतिफलको आधारमा एक क्षेत्रको लगानीलाई अन्य क्षेत्रको लगानीमा सार्न सकिनेछ ।

धितोपत्रमा लगानी गर्दा के को आधारमा कम्पनी छनौट गरिन्छ ? 

यो सेलेक्ट फण्ड प्रकृतिको योजना होइन, कुनै २० वटा वा ४० वटा कम्पनीमा मात्र लगानी गर्ने होइन । यो ब्यालेन्स फण्ड  प्रकृतिको हो । हामी कम्पनी विश्लेषण गरेर राम्रो सम्भावना भएका, प्रतिफल दिन सक्ने, लाभ हुने खालका कम्पनी छनौट गरेर लगानी गर्ने छौ । कम्पनीको संख्या र लगानी गरिने शेयरको परिणाम समय अनुसार फरक फरक हुन्छ । 

यसमा लगानी गर्ने लगानीकर्ताले कति प्रतिफल अपेक्षा गर्न सक्छन् ?

हामीले पहिलो वर्ष १० प्रतिशत लाभांश, दोस्रो वर्षमा १३ प्रतिशत, तेस्रो वर्षमा १७ प्रतिशत र चौथो वर्षमा १९ प्रतिशत लाभांश वितरण गर्ने प्रक्षेपण गरका छौ । त्यस्तै पाचौ वर्षमा २१ प्रतिशत छैठौ वर्षमा २२ प्रतिशत र सातौ तथा अन्तिम वर्षमा २५ प्रतिशत लाभांश वितरण गर्ने प्रक्षेपण गरेका छौ । यो लाभांशको हिसाबले लगानीमा गरिएको वार्षिक प्रतिफल पहिलो वर्ष १६.३९ प्रतिषत, दोस्रो वर्षमा २१.१७ प्रतिशत, तेस्रो वर्षमा २४,३६ प्रतिशत, चौथो वर्षमा २५.२२ प्रतिशत, पाचौ वर्षमा २५.१६ प्रतिशत, छैठौ वर्षमा २४.५५ प्रतिशत र अन्तिम वर्षमा २३.२६ प्रतिशत हुने प्रक्षेपण गरेका छौ । संचित लगानीमा हुने प्रतिफल पहिलो वर्ष १६.३९ प्रतिशत, दोस्रो वर्ष ३७.५६ प्रतिशत, तेस्रो वर्ष ६१.९२ प्रतिशत, चौथो वर्ष ८७.१५ प्रतिशत, पाचौ वर्ष ११२.३१ प्रतिशत, चौथौ वर्ष १३६.८६ प्रतिशत र सातौ तथा अन्तिम वर्षमा १६०.१२ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । 

अहिले शेयर बजार उच्च विन्दुमा छ, ७ वर्षको अवधिमा बजारमा बियरिस ट्रेण्ड आएर बजार घट्न पनि सक्छ,  यस्तो अवस्थामा ७ वर्ष नै बढ्दो दरमा प्रतिफल दिन सकिने आधार के हो ?

प्रतिफल प्रक्षेपण गर्दा ऋणपत्र, बण्ड, मुद्दती लगानी जस्ता स्थीर आम्दानी उपकरणहरुबाट वार्षिक ८ प्रतिशत, नगद लाभांशबाट वार्षिक ३ प्रतिशत, बोनस शेयरबाट वार्षिक ५ प्रतिशत, ब्याज आम्दानीबाट वार्षिक ४ प्रतिशत प्रतिफल आउने प्रक्षेपण गरिएको छ । यसको अलावा २० प्रतिशत पुँजीगत नाफा हुने प्रक्षेपण गरिएको छ । आम्दानी मध्ये केहि संचित गरिने भएकोले बियरिस बजारमा पनि प्रक्षेपण गरिएकै दरमा लाभांश वितरण गर्न सक्षम हुने छौ ।

आरविवि कै म्युचुअल फण्डमा किन लगानी गर्ने ?

हाल बजारमा खुलामुखी र बन्दमुखी योजना छन् । हामीले बन्दमुखी योजना संचालन गर्न लागेका हौ ।  हामीले लगानी गर्दा कम्पनीको आधारभुत विश्लेषण गर्छौ, प्राविधिक विश्लेषण गर्छौ, र अन्य विभिन्न विधि प्रयोग गरेर लगानीको लागि कम्पनी छनौट गर्छौ । हाम्रो फण्ड म्यानेजमेन्ट  टीम अनुभवि र कुशल  हुनुहुन्छ । सुपरिवेक्षक टीममा पनि विभिन्न क्षेत्रको अनुभव बटुलेका विज्ञहरु हुनुहुन्छ । जसले गर्दा कुन क्षेत्र तथा कम्पनीमा बढी लगानी गर्ने, कसरी गर्ने, कुन स्टक बढी होल्ड गर्ने, भन्ने विषयमा निर्णय लिन सजिलो हुन्छ । यसकै आधारमा हामीले लगानीकर्तालाई राम्रो प्रतिफल दिन सक्छौं, त्यसैले लगानीकर्ताले आरविवि म्युचुयलमा  लगानी गर्न सक्नुहुन्छ ।

कस्ता लगानीकर्तालाई यो बढी उपयुक्त हुन्छ ? 

म्युचुअल फण्ड सानो पुँजीलाई एकत्रित गरेर ठुलो बनाएर लगानी गर्ने हो । लगानीबाट आएका प्रतिफल लगानीकर्तालाई दिने हो । त्यस कारण म्युचुअल फण्ड सबै उमेर समुह, सबै पेशाका लगानीकर्ता, व्यक्तिगत , संस्थालाई उपयुक्त हुन्छ । 

लगानीकर्तालाई के संदेश दिन चाहनु हुन्छ ?

हाम्रो आरविवि म्युचुअल फण्ड पहिलो हो, हामी राष्ट्रिय वाणिज्य बैंकको स्वामित्व भएको कम्पनी हो, लगानीकर्ताले गर्नु भएको लगानीकर्तालाई हामी सुरक्षित लगानी गर्छौ, हामीले प्रक्षेपण गरेकै आधारमा प्रतिफल दिन्छौ । म लगानीकर्तालाई निर्धक्क भएर आवेदन दिन आग्रह गर्छु । 

खुलामुखी योजना संचालन गर्ने तयारी छ ?

अहिले हामीले पहिलो बन्दमुखी योजना संचालन गर्दैछौ । यस पछि फेरि अर्को एउटा बन्दमुखी योजना ल्याएपछि खुलामुखी योजना ल्याउने छौ ।


अब समग्र विषयका केहि कुरा गरौ, बजारमा लगानी गर्दा जोखिम कम हुने भएकोले म्युचुअफल फण्डबाट प्रवेश गर्दा उचित हुन्छ भनिन्छ, तर नेपालमा त्यस्तो देखिदैन , यस्तो के कारणले भएको होला ?

बजारमा जहिले पनि जोखिम हुन्छ । लगानी गरिरहेका लगानीकर्ताले समेत विभिन्न प्रकारको विश्लेषण गरेर जोखिम लिएर लगानी गर्छन् । नयाँ तथा नव प्रवेशी लगानीकर्तालाई यसबारे कम ज्ञान हुन सक्छ । यस्तो अवस्थामा कम जोखिम हुने भएकोले म्युचुअल फण्ड उपयुक्त विकल्प हो । तर अहिले हेर्दा लगानीकर्ताहरुले सुरुमै बढी प्रतिफल खोजेको जस्तो देखिन्छ । यस विषयमा लगानीकर्ता शिक्षाको पनि केहि कमि देखिन्छ । सबै सरोकारवालाले यसमा ध्यान दिनु पर्ने देखिन्छ ।

म्युचुअल फण्डले मुद्दती निक्षेपमा राखेर कमायो, आईपिओको आरक्षण लिएर कमायो भन्ने गरिन्छ, यसबारे तपाइको धारणा के छ ? 

हामीलाई धितोपत्र बोर्डले नियमन गर्छ । बोर्डले बनाएका नीति नियम र कानुन मै भएको ब्यबस्था अनुसार मुद्दतीमा लगानी गरिएको हुन्छ । बोर्डल तोकेको सीमा भन्दा बढी रकम मुद्दतीमा राख्नु हुदैन , यदि कसैले त्यसो गरेको छ भने कारवाही हुनु पर्छ । तर नियम अनुसार नै लगानी गर्दा आलोचना गर्नु पर्ने कारण छैन । त्यस्तै आईपिओको आरक्षण पनि कानुनमा भएको ब्यबस्था अनुसार नै दिईएको हो । यो आरक्षणको फाइदा अन्ततः लगानीकर्ताले नै पाउने हो । अहिले लगानीकर्ताको संख्या बढ्दै जाँदा आईपिओ पर्न कठिन छ, तर लगानीकर्ताले म्युचुअल फण्डमा लगानी गरेमा म्युचुअल फण्डलाई दिइएको आरक्षणको फाइदा र त्यसको प्रतिफल पाउने नै लगानीकर्ताले हो ।

बजेटमा आएको म्युचुअल फण्ड सम्बन्धि ब्यबस्थाले कस्तो प्रभाव पर्छ ?

बजेटले म्युचुअल फण्डलाई कर नलाग्ने भनेको छ । यसले राम्रै गर्छ । पहिले पनि कर तिर्ने गरिएको थिएन । त्यसमा केहि अन्योलता नै थिए । तर अहिले बजेटले नै कर नलाग्ने भनेपछि यो अन्योलता प्रष्ट रुपमा हटेको छ । यो सकारात्मक पक्ष हो । 

अन्तिममा, म्युचुअल फण्डमा लगानी गर्नु अगाडी के के विषयमा ध्यान दिनु उचित हुन्छ ?

सुरुमा लगानीकर्ताले योजना संचालन गर्न लागेको कम्पनी, संस्थागत सुशासन, विगत वर्षका वित्तीय विवरण हेर्नु पर्छ । थप विश्लेषण गरेर लगानी गर्दा उपयुक्त हुन्छ । सुरुमा प्रतिफल केहि कम हुन गए पनि दीर्घकालिन रुपमा राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved