अक्सिजन सिलिण्डरमा राजनीतिः डाक्टरको स्टाटसले स्वास्थ्यमन्त्री र गृह सचिवबीच टसल

निरोज कुमार थापा

निरोज कुमार थापा

May 18, 2021 | 01:44:36 PM मा प्रकाशित

laxmi  sunrise bank

अक्सिजनका सिलिण्डर मन्त्री तथा सांसद र उच्च पदका अधिकारीले आफूखशी राख्ने गरेको पाईएको छ । आफ्नो राजनीतिक इच्छा पूरा गर्न गृह जिल्लामा पठाउने बाहानामा मन्त्री तथा सांसदहरुले अक्सिजनका सिलिण्डर मनलाग्दी रुपमा लिँदा काठमाडौँ उपत्यकाका कोभिडका बिरामीको उपचार गराईरहेका अस्पतालहरुमा सिलिण्डरको अभाव देखिएको हो ।

अक्सिजन वितरणमा लागू भएको कोटा प्रणालीको फाइदा उठाउँदै मन्त्री तथा सांसदले प्रहरीसँग मिलेर सिलिण्डर ल्याउने गरेको भेटिएको हो ।

ट्रमाका नि. निर्देशकको रोदन

यसको उदाहरण हो ‘राष्ट्रिय ट्रमा सेन्टर’ । केही दिन अघि ट्रमा सेन्टरका लागि तयारी अवस्थामा राखिएका अक्सिजन सिलिण्डर प्रहरीले लग्यो । उक्त घटनाबाट भावुक बनेका ट्रमा सेन्टरका निमित्त निर्देशक डा. सन्तोष पौडेलले वैशाख ३० गते फेसबुकमा ‘आँखै अगाडि धेरै मृत्यु देखिरहेको छु, मजस्तै जीवनहरु तिमीहरुलाई बचाउँन सकिन, माफ गर हार्दिक श्रद्धाञ्जली प्रिय जीवनहरु !’ भनेर स्टाटस लेखे । 

भएको के थियो भने ट्रमा सेन्टरमा लागि तयार गरिएका सिलिण्डर प्रहरीले लगेपछि उपचाररत संक्रमितको मृत्यु भयो । अक्सिजनको खोजीमा भौतारिँदा कतै नपाएपछि उनले गृह सचिव महेश्वर न्यौपानेलाई समेत यसबारे जानकारी गराए । तर, उताबाट पनि भरपर्दो जवाफ नपाएपछि डा. पौडेलले फेसबुकमा स्टाटस लेखे ।

यस्तो छ उनको स्टाटस 

अत्यन्तै मर्माहत छु साथिहरू! 

साँझ ५ः४९ बजे 

आज तेस्रो दिनमा कोठामा आएको मात्र के थिएँ फेरी हस्पिटलबाट फोन आयो 

‘सर, अक्सिजन सकिनै लाग्यो!’

‘कसरी!’ आज त हामीहरुलाई ५० सिलिण्डरका दरले ४–४ घण्टामा दिने हैन र! 

‘हो सर, तर   ४ बजे आउनुपर्ने GAS अझै आएन। सर कम्पनीमा सोधिदिनुहोस् न किन आएन? अब १५ मिनेटलाई मात्र पुग्छ।’

मैले कम्पनिको owner सँग फोन गर्छु, ‘‘..जी खैत आज पनि त्यस्तै भो किन? बिरामी त मर्छन् केहिबेरमा यदि supply भएन भने त।’ 

‘४ बजे नै आउनुपर्ने किन ढिला भयो त?’

उ–सर हजुरहरुलाई राखेको Oxygen Cylinder पुलिसको ठूलो मान्छेहरु आएर लिएर गए। 

हामीले के भन्ने सर, जबरजस्ती गरेपछि!

म ट्वाँ ! (रिस र पिडाले रुन मात्र सकिन)

मः अब के हुन्छ? 

उः हैन सर १० वटा पठइदिहाल्छु।

मः यार तपाई ! मानिसहरु Ventilator मा छन्, oxygen बिना एक मिनेट रहन सक्दैनन्, खेलाँची सम्झनु हुन्छ यो मानव जीवनलाई! ती मानिसको मृत्यु भएमा जिम्मेवार को? तपाई कि म! कि ती ‘ठूला पुलिस’ ?

उ–सर त्यो त म के भनुँ।

निःशब्द !

त्यस पछि गृह सचिवज्यूलाई फोन गरेँ 

र भनेँ, यो देशमा पुलिसको दादागिरी चल्दो रैछ हैन सचिवज्यू?, बरु मेरो अस्पताल तिनैलाई जिम्मा लगाइदिनुहोस् सर, मलाई हटाइदिनुस्!

उताः ‘.. यस्तै हो ..  म बुझ्छु      ‘..!!

पिडा छ हजुर 

जीवनमा डाक्टर भएँ !

मानव जीवनलाई माया गरेँ।

आँखै अगाडि धेरै मृत्यु देखिरहेको छु, 

मजस्तै जीवनहरु तिमीहरुलाई बचाउँन सकिन, माफ गर 

हार्दिक श्रद्दान्जली प्रिय जीवनहरु!

गृह सचिवलाई स्वास्थ्यमन्त्रीले हप्काए

डा. पौडेलले सामाजिक सञ्जालमा स्टाटस लेखेपछि उक्त कुरा गृह मन्त्रालयमा पनि पुग्यो । स्रोतका अनुसार, स्वास्थ्यमन्त्री हृदयश त्रिपाठी पनि सहभागी भएको एउटा बैठकमा गृहसचिव न्यौपानेले ‘डाक्टरले सामाजिक सञ्जालमा त्यस्तो कुरा लेख्न हुन्नथ्यो र यसबारे स्वास्थ्य मन्त्रालयले आवश्यक कदम चालोस्’ भन्ने आशयले कुरा गरे ।

त्यसपछि मन्त्री त्रिपाठीले ‘त्यो डाक्टरले के गल्ती गर्यो ? तपाईहरुले अक्सिजन लगेको हो कि होईन ? होइन भन्न सक्नुहुन्छ ? बिरामी अस्पतालमा छट्पटाइरहेको बेलामा आफू अक्सिजन लाने ? त्यसो गर्न पाइन्छ ?’ भनेर हप्काएका थिए ।

यो सबै उपप्रधानमन्त्री इश्वर पोखरेल नेतृत्वको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले अध्ययन र पार्ने प्रभावको हेक्का नराखी अक्सिजन वितरणमा कोटा प्रणाली लागू गर्दा देखिएको समस्या भएको स्रोतले बताएको छ ।

अहिले उक्त निर्णय खारेज भएर अक्सिजनको वितरण स्वास्थ्य मन्त्रालयले गर्ने भन्ने नयाँ निर्णय भएपनि गृह मन्त्रालयबाट असहयोग भईरहेको स्वास्थ्यका अधिकारीहरुको गुनासो छ ।

‘मन्त्रीले डाक्टरको सर्पोटमा बोलेर गृह सचिवलाई हप्काउनु भएको थियो, त्यही कारणले गर्दा गृहले अहिले गर्नुपर्ने जति सहयोग गरेको छैन’ एक अधिकारी भन्छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved