विदेशका भीआईपीले समेत रोजेको मेरियटको ‘रुम नम्बर ९०१’ मा के छ खास ?

एक रातकै २ लाख
निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 19, 2021 | 11:13:13 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालकै कान्छो पाँचतारे होटल ‘मेरियट काठमाडौँ’ अहिले चर्चामा छ । नागपोखरीस्थित मेरियट होटल ४ अर्ब लगानीमा निर्माण भएको हो । यो होटलमा उद्योगी शशिकान्त अग्रवालको एकल लगानी छ ।

प्रधानमन्त्रीमा बहाल रहेकै अवस्थामा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधब कुमार नेपालबीच विवाद समाधानका लागि होटल मेरियटमा २ पटक छलफल भयो । पहिलो पटक बैशाख ८ गते दुई नेताबीचको संवाद हिनता तोडिएको कोठा पनि यही ९०१ नै हो । उक्त छलफलमा ओली र नेपालले मेरियटको कोठा नम्बर ९०१ बाट काठमाडौँ नियाले । दुबै नेताले मेरियटको उक्त कोठाबाट धरहरा नियालेको तस्बिर भाइरल नै बन्यो ।

किन विशेष छ रुम नम्बर ९०१ ?

अन्तराष्ट्रिय स्तरको होटल मेरियटका अनेकौँ विशेषतामध्ये प्रमुख विशेषता हो रुम नम्बर ९०१ अर्थात प्रेसिडेन्टल स्वीट्स रुम । २ हजार स्क्वायर फिट अर्थात ८ आना जग्गा बराबरको क्षेत्रफलमा फैलिएको यो कोठा भिभिआई र भिआईपीको रोजाईमा पर्छ । 

काठमाडौँ उपत्यका वरपरको सौन्दर्य प्रष्टसँग अवलोकन गर्दै प्राकृतिक दृश्यापान गर्न सकिने यो कोठाबाट काठमाडौँ पूरै ३६० डिग्रीमा देख्न सकिन्छ । नजिकैको नारायणहिटी दरबार संग्रहालय, स्वयम्भूका सबै स्तुपा र सिंगै डाँडो, काठमाडौँको मध्यभागमा उभिएको धरहरा, नजिकैको नाँगपोखरी र कमलपोखरी छ्याङ्ग देखिने भएकाले ‘प्रेसिडेण्टल स्वीट्स रुम’ विशेष छ ।

प्रेसिडेण्टल स्वीट्स रुमको दाँयापट्टि प्यान्ट्री रुम छ । मिटिङ बस्न सोफासहितको पर्याप्त ठाउँ छ । एकैपटक १० जना अट्ने सजावट सहितका डाइनिङ टेबल, लाइट र स्टडी टेबलले कोठाको सुन्दरता थपेका छन् । 

बाँया तर्फको बेड रुममा आरामदायी सोफाहरू राखिएका छन् । सोफामा बस्दा पनि र बेडमा सुत्दा पनि घुमाएर हेर्न सकिने गरी ठूलो टेलिभिजन सेट गरिएको छ । 

यसअघिः 
कसरी उत्कृष्ट बन्यो नेपालकै कान्छो पाँचतारे ‘होटल मेरियट’ ?

प्रेसिडेण्टल स्वीट्स रुममा ट्वाइलेट, बाथरुम र चेन्जिङ रुमदेखि मेकअप टेबलसम्म व्यवस्था गरिएको छ । यति मात्रै नभई लिभिङ रुम र मिटिङ हलको प्रवन्ध पनि फरक फरक गरिएको छ ।

भीभीआईपीको रोजाई

एमाले अध्यक्ष ओली र नेता नेपालबीचको छलफलपछि मेरियटको रुम नम्बर ९०१ चर्चामा छ । तर, यो भन्दा पहिले पनि देशी तथा विदेशी भीभीआईपी र भीआईपीले मेरियटको सेवा लिईसकेका छन् । 

२०७६ साल कात्तिक २७ गते नेपाल भ्रमणमा आएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मेरियटको प्रेसिडेण्टल स्वीट्स रुममै बसेका थिए । उक्त कोठामै उनले महत्वपूर्ण राजनीतिक भेटघाट पनि गरेका थिए ।

२०७६ असारमा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोका छोरा निकोलस अर्नेस्टो मादुरो गुयरा नेपाल भ्रमणमा आएका थिए । त्यतिबेला उनले पनि मेरियटको यही कोठामा बसेर सेवा लिएका थिए ।

२०७६ भदौमा नेपाल आएका चिनियाँ विदेशीमन्त्री वाङ यी पनि यही रुममा बसेका थिए ।

सगरमाथा आरोहणका लागि नेपाल आएकी कतारी राजपरिवारी सदस्य शेखा आस्मा अल थानी पनि मेरियटको प्रेसिडेण्टल स्वीट्स रुममा बसिन् । 

बेल्जियमका राजकुमारको पनि रोजाईमा परेको मेरियटको रुम नम्बर ९०१ अर्थात् प्रेसिडेण्टल स्वीट्स रुममा नेपालका उच्च तहका राजनीतिज्ञ, ठूला र धनाढ्य उद्योगी व्यवसायीहरु बस्ने गरेका छन् ।

एक रातको २ लाख 

प्रेसिडेण्टल स्वीट्स रुम प्रयोग वापत एक रातको १५ सय अमेरिकी डलर तिर्नुपर्छ । यो भनेको आजको डलर सटही दरको आधारमा १ लाख ७८ हजार ९०५ नेपाली रुपैयाँ हो ।

‘सबै फाइभ स्टार होटलमा प्रेसिडेण्टल स्वीट्स रुम हुन्छ, तर हामीसँग मेरियटको म्यानेजमेन्ट, मेरियटकै सर्भिस छ’ सञ्चालक अग्रवाल भन्छन्, ‘सामान्य बेलामा अरु कोठाको अकुपेन्सी ७० देखि ८० प्रतिशत हुन्छ । तर, प्रेसिडेण्टल स्वीट्स रुममा २० प्रतिशत जति हुन्छ । यो स्वभाविक रुपमै महँगो हुन्छ ।’

भ्याटसमेत जोड्दा यो कोठा प्रयोगवापत एक रातको २ लाख रुपैयाँसम्म तिर्नुपर्ने हुन्छ । तर, अहिले कोभिडका कारण केही सस्तोमै कोठा दिने गरिएको अग्रवालको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved