यो आर्थिक वर्षमा अर्थतन्त्रको आकार ५७ खर्ब नाघ्ने, आर्थिक वृद्धि ३.८७ प्रतिशत मात्रै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2024 | 05:50:18 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०८०/८१ मा नेपालको अर्थतन्त्रको आकार ५७ खर्ब नाघ्ने अनुमान गरिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक राष्ट्रिय लेखा अनुसार चालु आर्थिक वर्ष २०८०/८१ मा नेपालको अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब पुग्ने प्रारम्भिक अनुमान गरिएको छ।

गत आर्थिक वर्ष २०७९/८० मा अर्थतन्त्रको आकार ५३ खर्ब ४८ अर्ब रहने संशोधित अनुमान गरिएको कार्यालयले जनाएको छ। त्यसैगरी, आर्थिक वर्ष २०७८/७९ मा अर्थतन्त्रको आकार ४९ खर्ब ७६ अर्ब रहने अन्तिम विवरण सार्वजनिक गरिएको छ।  

कार्यालयका अनुसार कुल गार्हस्थ्य उत्पादन (Gross Domestic Product – GDP) का अनुमान आधारभूत मूल्य (Basic Price) र उपभोक्ताको मूल्य (Purchaser's Price) मा प्रस्तुत गरिएको छ। अर्थतन्त्रको आकार मापन गर्न उपभोक्ताको मूल्यमा मापन गरिएको प्रचलित मूल्यको GDP प्रयोग गरिएको छ।  

हाल प्रकाशित राष्ट्रिय लेखाका स्थिर मूल्यका अनुमान तथा आर्थिक वृद्धिदर आर्थिक वर्ष २०६७/६८ को आधारभूत मूल्य (Basic Price) मा आधारित छन् ।

कार्यलयका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ मा स्थिर मूल्यमा अनुमान गरिएको आर्थिक वृद्धिदर (GDP को वार्षिक वृद्धिदर) आधारभूत मूल्यमा ३.५४ प्रतिशत र उपभोक्ताको मूल्यमा ३.८७ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेको छ। आधारभूत मूल्यको आर्थिक वृद्धिदर गत आर्थिक वर्ष २०७९/८० मा २.३१ प्रतिशत हुने संशोधित अनुमान गरिएको छ। त्यसैगरी, अन्तिम तथ्याङ्कअनुसार आधारभूत मूल्यको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०७८/७९ मा ५.२८ प्रतिशत कायम गरिएको छ।

उपभोक्ताको मूल्यमा आर्थिक वृद्धिदर गत आर्थिक वर्ष २०७९/८० मा १.९५ प्रतिशत हुने संशोधित अनुमान गरिएको छ भने अन्तिम तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/७९ मा ५.६३ प्रतिशत कायम गरिएको छ  ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved