डलरको मूल्यले नयाँ रेकर्ड बनाउँदा नेपाली मुद्रा हालसम्म कै कमजोर, नेपाललाई के पर्छ असर ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 16, 2024 | 10:01:45 AM मा प्रकाशित

laxmi  sunrise bank

पछिल्लो समय लगातार आकाशिँदै गएको अमेरिकी डलरको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । आज मंगलबार एक अमेरिकी डलरको बिक्रीदर १३३ रुपैयाँ ८३ पैसा पुग्दै हालसम्मकै महँगोको रेकर्ड बनाएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार नेपाली मुद्रामा डलरको यो विनिमयदर हालसम्मकै उच्च हो । यस अघि गत चैत २३ गते अमेरिकी डलरको बिक्रीदर १३३ रुपैयाँ ८१ पैसा सम्म पुगेको थियो। आज सो रेकर्ड तोडिएको हो ।  राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिददर भने १३३ रुपैयाँ २३ रुपैयाँ तोकेको छ ।

 यसको अर्थ नेपालीहरुले एक डलर साट्न १३३ रुपैयाँ ८३ पैसा खर्च गर्नु पर्नेछ । अर्थात् नेपाली रुपैयाँ हालसम्म कै कमजोर बनेको छ। नेपाली बजारमा अमेरिकी डलर यति महँगो बनेको यो नै पहिलो पटक हो। 

पछिल्ला केही महिनायता विश्व बजारमा अमेरिकी डलरको माग बढ्दा डलर बलियो हुदै गएको छ ।  भारतीय मुद्रा (भारु) भने कमजोर बन्दै आएको छ । नेरु र भारुबीच स्थिर विनिमय दर छ । स्थिर विनिमय दरसँगै नेपालको कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ ।

 नेपालमा पर्नेछ यस्तो असर

डलरको विनिमय उच्च हुँदा हुने सबैभन्दा ठूलो फाइदा विदेशमा कार्यरत नेपाली कामदारले पठाउने रेमिट्यान्सको आयमा हुन्छ। हाल विदेशमा झन्डै ५० लाख कामदार कार्यरत छन्। उनीहरूले नेपाल पठाउने उक्त पैसा डलरमा ‘कन्भर्ट’ भएर आउने हुँदा त्यसले नेपाली अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ।  

यसैगरी डलर बलियो हुँदा नेपालको निर्यात बजारमा त्यसले सकारात्मक प्रभाव पार्छ। डलर बलियो हुँदा निर्यातबाट हुने डलर आर्जन बढ्छ। यसले निर्यात बढाउन सहयोग मिल्छ। 

डलरको विनियम उच्च हुँदा डलरधारीले खरिद गर्ने वस्तु तथा सेवा सस्तो हुने हुँदा पर्यटक आगमनमा पनि सकारात्मक प्रभाव पर्छ। यस्तै आयातित वस्तुबाट हुने भन्सार संकलनमा पनि डलर महँगिँदा प्रभाव पर्छ। 

नेपालजस्तो आयातमुखी अर्थतन्त्रका लागि डलरको भाउ उच्च हुँदा त्यसको प्रभाव समग्र अर्थतन्त्रमा नकारात्मक हुन्छ। आयातका लागि मूलतः डलर खर्च गरिने हुँदा आयात गरिने वस्तुको भाउ उच्च पर्न जान्छ। 

डलरको विनिमय बढ्दा सरकारले विदेशबाट लिएको साँवा र ऋणको भुक्तानीमा थप भार पर्छ। डलरमा सरकारले खरिद गरेको विद्युत आयोजनाका लागि तिर्नुपर्ने रकम पनि बढ्न जान्छ। 

औषधोपचार, अध्ययन, भ्रमण लगायतका लागि विदेश जानेहरूले बढी मूल्यमा डलर खरिद गर्नुपर्दा त्यसले पनि असर पार्छ। डलर बढ्दा मुलुकको सोधनान्तर स्थितिमा समेत नकारात्मक प्रभाव पार्छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved