अक्सिजन संकट समाधानका लागि सरकारबाट भईरहेका प्रयासहरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 16, 2021 | 01:37:09 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रेम कुमार श्रेष्ठ

देशमा दोश्रो चरणमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलँदै गएपछि गत वैशाख १६ गतेपछि जिल्ला प्रशासन कार्यालयहरुले आ-आफ्नो कार्यक्षेत्र भित्र निषेधाज्ञा गर्न थालेका छन l गत वर्षको पहिलो चरणको तुलनामा यस पटकको भाइरसको संक्रमणले जनजीवनमा निकै दु:ख र कष्ट दिएको छ l कोरोनाको संक्रमणपछि हजारौँ मानिस अस्पताल भर्ना हुन पुगेका छन् भने आजसम्म मृत्यु हुनेको संख्या ४,६६९ पुगेको छ l अस्पताल भर्ना भएका मध्ये अधिकांशलाई अक्सिजन दिनुपर्ने अवस्थामा पुर्याएको छ l पहिलो चरणको कोरोना संक्रमणमा अमेरिका, युरोप, अस्ट्रेलिया, दक्षिणपुर्व एसियाका मुलुकहरु लगायत छिमेकी मूलुक चीन र भारतमा समेत व्यापक रुपमा असर गरी धेरै मानिसहरुलाई मृत्युको मुखमा पुर्याउँदा नेपाल ती मूलुकहरुको तुलनामा कम प्रभावित बनेको थियो l यसले गर्दा एकातर्फ हाम्रो भान्सानै कोरोना प्रतिरोधात्मक भएको भन्ने विश्वास बढेको र अर्कोतर्फ तथ्यांकले समेत कोरोनाले हामी नेपालीलाई धेरै असर गर्न सक्दैन भन्ने पुष्टीले हाम्रो आत्मविश्वास बढाएको थियो l दोश्रो चरणको कोरोना भाइरसको संक्रमण फैलिएर निषेधाज्ञा हुनु अघिसम्म हाम्रा सबै विद्यालय, विश्वविद्यालय, विवाह व्रतवन्ध, जात्रा मेला, सभा समारोह र भोज भतेर खुला भइसकेको थियो l यस्तो परिस्थितिमा सर्वसाधारण जनता, स्थानीय सरकार, प्रदेश सरकार, सङ्घीय सरकार, सञ्चारगृह र अन्य संघ संगठनहरुले समेत कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा थप प्रयास गरिरहन कसैबाट आवश्यक ठानिएन l 

अहिले फैलँदो क्रममा रहेको कोरोना भाइरसबाट प्रभावित मध्ये अधिकांश मानिसलाई ग्रस्त पारी अस्पतालको सघन उपचार कक्षमा पुर्याएको र नियमित अक्सिजन उपलव्ध गराउनु पर्ने भएपछि अक्सिजनको अत्यधिक माग बढ्न गएको छ l साविकमा काठमाडौँ उपत्यकामा स्थापना भएका १० मध्ये सञ्चालनमा रहेका ८ वटा अक्सिजन उद्योगहरु आफ्नो कुल क्षमताको २० प्रतिशत मात्र उत्पादन गरेर उपत्यकाको माग पुरा गर्दै आएकोमा हाल ती सबै उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुँदा समेत उपत्यकाको कुल मागको ५० प्रतिशत मात्र आपूर्ति गर्न सक्षम भएका छन् l 

कोरोनाको दोश्रो प्रकोप शुरु हुँदैको अवस्थामा वैशाख महिनाको दोश्रो हप्तातिर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उपत्यकाका सबै अक्सिजन उद्योगी व्यवसायीसँग अक्सिजन उत्पादन र आपूर्तिको विषयमा छलफल गर्दा तत्काल अक्सिजन उत्पादनमा कुनै समस्या नभएको र माग अनुरुप अक्सिजन आपूर्ति गर्न सकिने तर सिलिन्डरहरू अभाव हुन सक्ने राय पेश गरिएको थियो l सोही राय सुझाव अनुसार सरकारले तत्काल मित्रराष्ट्र चीनबाट २०,००० सिलिन्डर सहयोग माग गरी त्यस मध्ये २,००० हवाई मार्गवाट र अन्य स्थल मार्गवाट प्राप्त हुने क्रममा छ l वैशाखको दोश्रो हप्तासम्म सिलिन्डर मात्र अभाव हुने अनुमान गरेका व्यवसायीहरु तेश्रो हप्ताको शुरुमा नै उपत्यकामा उपलव्ध भएका सिलिन्डरहरु नै भर्न नसक्ने अवस्थामा पुगी सकेका थिए l तेश्रो हप्ताको शुरुदेखि नै दिन प्रतिदिन अक्सिजनको माग वढ्दै गएको थियो l यस्तो अवस्थामा सम्वन्धित विषयगत मन्त्रालयहरुको प्रभावकारी समन्वय हुनु पर्ने भएकोले नेपाल सरकारका मुख्य सचिवज्यूको समन्वयमा बसेको सबै सचिवहरुको बैठकबाट यस संक्रमणको रोकथाम र नियन्त्रणको लागि तत्काल प्रतिकार्य गर्न कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (CCMC) सचिवालयलाई निर्देशन भए अनुसार सचिवालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको संयोजकत्वमा अक्सिजन आपूर्ति कार्यदल गठन गरेको थियो l यस कार्यदलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गृह मन्त्रालय र सबै सुरक्षा निकायका उच्च अधिकृतहरुको प्रतिनिधित्व गराइएको थियो l 

कार्यदलले उपत्यका भित्र र बाहिर रहेका अक्सिजन उद्योगहरुको अधिकतम उत्पादन क्षमता तथा मुख्यत उपत्यका भित्रका अस्पतालहरुको अक्सिजन मागलाई ध्यानमा राखेर तत्काल देशभित्र आपूर्ति हुन सक्ने अक्सिजनको न्यायोचित र समानुपातिक वितरणको लागि हरेक अस्पतालको शैया संख्या, सघन उपचार कक्ष संख्या, भेन्टिलेटर संख्या, अस्पतालमा अक्सिजन उत्पादन प्रणाली भए नभएको अवस्था र विरामीको चाप समेतलाई विश्लेषण गरी प्रत्येक अस्पतालको लागि प्रत्येक दिन अक्सिजन सिलिन्डर उपलव्ध गराउने गरी संख्या निर्धारण गरिएको थियो l यसरी संख्या निर्धारण गर्नुको साथसाथै कुन अस्पतालले कुन अक्सिजन उद्योगबाट अक्सिजन प्राप्त गर्ने भन्ने सूचि वैशाख २७ देखि नै वेवसाईटमा राखिने गरिएको थियो l पहिलो दिनको पहिलो सूचिमा देखिएका कमि कमजोरीलाई सच्याउँदै पछिल्ला दिनहरुमा थप सुधार र सिलिन्डर संख्या समेत थपिएको थियो l कार्यदलले कार्य शुरु गरेको दिनदेखि नै अक्सिजन उद्योगहरुमा सुरक्षाकर्मी परिचालन गरिएको थियो l कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको सचिवालयले तत्काल यी गतिविधिहरू अघि नबढाएको भए अक्सिजन उद्योगीहरुले आफ्नो उद्योग सहज रुपमा सञ्चालन गर्ने अवस्था आउने थिएन l  

हाल सञ्चालित अक्सिजन उद्योगहरुलाई पूर्ण क्षमतामा सञ्चालन गराउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र उद्योग विभागवाट समेत तदारुकता लिइ आवश्यक सहजीकरण गरिएको छ l उपचारात्मक कार्यमा बाहेक अन्य उद्योग व्यवसायहरु; ग्रील उद्योग, सून चाँदीको गहना निर्माण उद्योग, क्रसर तथा खानी उद्योग, कवाडी प्रशोधन केन्द्र, चिनी मील, जलविद्युत आयोजना, मोटर गाडी मर्मत केन्द्र र फलाम जन्य उद्योगहरुमा  उपयोग भइरहेका अक्सिजन सिलिन्डरहरुलाई यथाशीघ्र सम्वन्धित अक्सिजन उद्योगमा फिर्ता गराउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट गरिएको प्रयास स्वरूप वैशाख २३ मा १,१३४ सिलिन्डरहरु फिर्ता प्राप्त भएकोमा वैशाख २९ सम्ममा यो संख्या ४,८१६ पुगेको थियो l नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले समेत आफ्नो महासंघअन्तर्गत सबै उद्योगहरुमा प्रयोगमा रहेका सिलिन्डरहरु स्थानीय सरकारहरू मार्फत फिर्ता गर्ने प्रतिवद्दता सहित अपिल जारी गरेको छ l 

अक्सिजन उद्योगहरुको नियमित सञ्चालनको लागि पानी र विद्युत आपूर्ति नै नियमित आपूर्ति हुनुपर्ने रहेछ l यसको सुनिश्चितता र अन्य आवश्यक प्रशासनिक एवम् प्राविधिक सहयोगका लागि उद्योग विभागवाट प्रयाप्त ध्यान पुर्याइएको छ l कतिपय उद्योगहरुमा साविकमा कार्यरत जनशक्ति समेत कोरोना संक्रमणबाट प्रभावित भएपछि सुरक्षाकर्मीबाट समेत उद्योग सञ्चालन गराइ अक्सिजन आपूर्तिलाई नियमितता दिइएको छ l शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, ट्रमा सेन्टर, नेपालगञ्ज मेडिकल कलेज, त्रि.वि.वि. शिक्षण अस्पताल र भेरी अस्पतालमा कूल ९३ टन लिक्विड अक्सिजन प्लान्टलाई पूर्ण क्षमतामा सञ्चालन गराउन सम्वन्धित निकायहरुबीच समन्वय बढाइएको छ l 

देशमा अक्सिजन सङ्कट उत्पन्न भएपछि मात्र अक्सिजन उद्योगप्रति सरकार र सर्वसाधारणको ध्यान आकृष्ठ भएको हो l अक्सिजनको खोजी गर्ने क्रममा उपत्यका भित्रका ८ वटा उद्योगहरुबाट औषत दैनिक करिव ७,५०० सिलिन्डर उत्पादन हुने र उपत्यका बाहिरका १७ वटा उद्योगहरुबाट औषत ६,५०० सिलिन्डर उत्पादन हुने तथ्य प्राप्त भएको छ l यस बाहेक देशभरका २७ सरकारी तथा निजी अस्पतालहरुबाट समेत अक्सिजन उत्पादन हुने गरेकोमा ती सबै  अस्पतालहरुको अक्सिजन उत्पादन क्षमताको विवरण प्राप्त हुन सकेको छैन l हाल देशमा स्थापना र सञ्चालनमा रहेका उद्योगहरुबाट अक्सिजनको माग पुरा हुन नसक्ने भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ५० शैयाभन्दा बढी क्षमतामा सञ्चालनमा रहेका र अब स्थापना हुने अस्पतालहरुमा अनिवार्य रुपमा अक्सिजन प्लान्ट राख्नु पर्ने व्यवस्थाका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सुझाव प्रस्तुत गरेकोमा १०० शैयाभन्दा बढी क्षमताका अस्पतालका लागि मात्र उक्त प्रावधान कार्यान्वयन हुने गरी निर्णय लिएको छ l 

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (CCMC) को सचिवालयद्वारा गठित अक्सिजन व्यवस्थापन कार्यदलले अक्सिजनको न्यायोचित र समानुपातिक वितरणको लागि हरेक अक्सिजन उद्योगहरुको उत्पादन र आपूर्ति अवस्था तथा अस्पतालको शैया संख्या, सघन उपचार कक्ष संख्या, भेन्टिलेटर संख्या, अस्पतालमा अक्सिजन उत्पादन प्रणाली भए नभएको अवस्था र विरामीको चाप समेतलाई विश्लेषण गरी प्रत्येक अस्पतालको लागि प्रत्येक दिन अक्सिजन सिलिन्डर उपलव्ध गराउन सक्ने सम्भावित संख्या जस्ता आधारभूत सूचना तथा जानाकारी स्थापित गरेको छ l उल्लेखित पृष्ठभूमीकै आधारमा वैशाख २७ देखि ३० सम्म करिव २६,००० अक्सिजन सिलिन्डरहरु विभिन्न अस्पतालहरुलाई उपलव्ध गराउने आदेश जारी गरेपछि नेपाल सरकारका मुख्य सचिवज्यूको संयोजकत्वमा बसेको सचिवहरुको बैठकले अक्सिजनको व्यवस्थापन सम्बन्धी कार्य स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट हुने गरी जिम्मेवारी तोकेको हो l 

नेपाल सरकारले यस बीचमा मित्रराष्ट्र चीनबाट प्राप्त गरेको अक्सिजन सिलिन्डर, अक्सिजन कन्सेंट्रेटर लगायतका उपकरणहरु र यस रोगको उपचारको लागि आवश्यक औषधि रेम्देसिभिर समेत कोभिड रोगको उपचार हुने अस्पतालहरुमा पठाइएको छ l यसै गरी निजी क्षेत्रबाट औषधि, यन्त्र उपकरण आयात गर्दा आवश्यक पर्ने विदेशी मुद्रा सटहीको लागि स्वास्थ्य सेवा विभागको सिफारिसमा एउटा विजकबाट एकलाख अमेरिकी डलरसम्मको रकम ड्राफ्ट वा टी.टी को मध्यमबाट भुक्तानी गर्न सक्ने गरी सहजीकरण गरिएको छ l साथै विदेशस्थित नेपाली कुटनीतिक नियोगहरुलाई परिचालन गरी सहयोग प्राप्त गर्ने क्रम जारी रहेको छ l  

 निषेधाज्ञाको समयमा दैनिक आवश्यकताका आधारभूत वस्तुहरुको आपूर्ति व्यवस्थालाई सहज बनाउने उद्देश्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखा प्रमुखको संयोजकत्वमा औद्योगिक प्रवर्द्धन महाशाखा, द्वीपक्षीय व्यापार महाशाखाका सहसचिव सहित गृह मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिवहरु रहेको द्रुत प्रतिकार्य दल पनि गठन गरेको छ भने गृह मन्त्रालयले समेत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एवम्  सबै सुरक्षा निकायका प्रतिनिधिहरु रहेको उपत्यका सुरक्षा, अत्यावश्यक सेवा सञ्चालन, समन्वय एवम् अनुगमन समितिको गठन गरी कार्यविवरण समेत तोकेको छ l      

अहिलेको महामारीको समयमा देखिएको जटिल समस्यालाई सम्बन्धित सबै निकायको सहयोगमा समाधान गर्ने हो l रोगको संक्रमणको रोकथाम, नियन्त्रण र निर्मुल गर्ने हो l अनावश्यक तर्क वितर्क नगरी लक्ष्यतर्फ उन्मुख हुने हो l CCMC द्वारा गठित कार्यदलमा समेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १० तह देखि १२ तहसम्मका उच्च अधिकृतहरुको संलग्नता रहेकै थियो l अस्पतालहरुलाई वितरण गर्न तोकिएको अक्सिजन सिलिन्डर संख्यामा उहाँहरुकै रायलाई नै स्वीकार गरिएको थियो l अन्य मन्त्रालयको संयोजक तोकिएकाले अक्सिजन वितरणमा समस्या भएको होईन l सत्य कुरा चाहिं माग अत्यधिक वढी र आपूर्तिको अवस्था कमजोर भएकोले समस्या भएको हो l कार्यदलमा संयोजक तोकिएका व्यक्तिले पत्र प्राप्त गरेपछि मात्र कार्यदल गठन गरेको थाहा पाएको हो l आफ्नो ३६ वर्षको सरकारी सेवाकाल मध्ये एक तिहाइ १२ वर्ष स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेर कार्य गरिसकेको र जनस्वास्थ्यमा स्नातकोत्तर गरेको कुनै व्यक्ति पदाधिकारीलाई स्वास्थ्य सम्बन्धि ज्ञान नभएको भन्नु पनि ठिक होइन कि ? संकटको समयमा दिइएको जिम्मेवारीबाट पन्छिनु उचित नहुने ठानेर काममा खटिएको हो, कुनै थप सेवा र सुविधाको आशाले होइन l यति भन्दै लेख्दै गर्दा समेत यो पङ्तिकार यस विपदको घडीमा आफ्नो स्वास्थ्यले साथ दिएसम्म प्राप्त जिम्मेवारी पुरा गर्न प्रतिवद्द रहेको व्यहोरा व्यक्त गर्न चाहन्छ l 

लेखक प्रेम कुमार श्रेष्ठ अक्सिजन व्यवस्थापन टास्क फोर्सका संयोजक तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव हुन्  l 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved