'सजिलो कामले अल्छि बनाउँछ, दुख गरे गुणात्मक सफलता प्राप्त हुन्छ', बैंकर बुद्धि मल्लको लेख

डा.बुद्धि मल्ल

डा.बुद्धि मल्ल

Apr 14, 2021 | 08:26:03 AM मा प्रकाशित

laxmi  sunrise bank

४० को दशकमा कक्षा ६ को नेपालीमा एउटा राजकुमारको कथा पढ्नु पर्थ्यो। कथामा राजकुमार यात्रा गरिरहदा बाटोमा सैनिकले उनलाई सोध्छन्– सरकार ! अब २ वटा बाटो आउँछ । एउटा बाटो छोटो पर्छ तर, त्यस बाटोमा बाघ भालुको एकदमै डर हुन्छ भने अर्काे बाटोमा बाघ भालुको कुनै डर हुँदैन तर बाटो लामो पर्छ । कुन बाटो जाने हो आज्ञा पाउँ सरकार । सैनिकको यस्तो कुरा सुनेपछि राजकुमारले भन्छन्– बाघ भालुको डर भएपनि छोटो बाटो नै जाने ।

कथामा भएका राजकुमारको यस्तो साहासिक निर्णले नै ऊ राजकुमार हुन योग्य भएको हो । उनले राजा रानीको कोखबाट जन्मिएर राजकुमारको उपाधि प्राप्ति गरेको भएतापनि जोखिम लिने क्षमता, भविष्यमा आईपर्ने दुःख, पीडा, समस्यासँग नडराउने उनको दृष्टिकोणले गर्दा उनी सैनिकहरुको अगाडि एउटा वास्तविक राजकुमार सावित भएका थिए । यी राजकुमार सफल मानिसको एक प्रतिनिधि पात्र हुन् । अहिले संसारका जतिपनि सफल ब्यक्तिहरु छन्, उनीहरुले दुःख गर्ने निर्णय लिएका थिए, उनिहरुले सजिलो काम भन्दा पनि अरुले नगरेका, नसोँचेका काम गर्न तम्तयार भएर आफूले आफैलाई दुःख गर्ने, संघर्ष गर्ने निर्णय लिएका थिए ।

एकजना शासकले एकजना मानिसलाई सजाय दिने निर्णय गरेपछि १०० कोर्रा खाने वा १०० वटा प्याज खाने मध्ये कुनै एउटा सजाय रोज्न निर्णय लिन आदेश दिन्छन् । मानिसलाई शरीरमाथि कोर्रा बर्साउँदा शरीरले पाउने सजाय भयानक लाग्छ र प्याज खाने निर्णय गर्छन् किनभने उनलाई प्याज त खाने चिज नै हो भन्ने लाग्छ र खान पनि पाउने भन्दै धेरै बेर नसोँचि फ्याट्टै प्याज खाने सजाय रोज्छु भन्छन् । उक्त मानिस प्याज खान थाल्छन्, १, २ वटा आरामसँग खाएपछि उनको आँखाबाट बर्बति आँशुको भेल बग्न थाल्छ, अनुहार रातो पिरो हुन  थाल्छ, पेट पोलेर असह् पीडा हुन थाल्छ र पीडा सहनै नसकेर राजासँग बिन्ति भाउ गर्दै हजुर अब म प्याज खान सक्दिन, बरु कोर्रा बर्साउनुहोस् भन्न थाल्छन् । शासकले पनि उसको बिन्ति अनुसार कोर्रा बर्साउन शुरु गर्न थाल्छन् । १,२, १०, १५ कोर्रा पुगेपछि उसलाई फेरी पीडा हुन थाल्छ र कोर्राको पीडा भन्दा प्याजको पिरो सहनै बेस जस्तो लाग्न थाल्छ किनभने उसले त्यतिबेलासम्म  प्याजको पीडा भुलिसकेको थियो । फेरी उसले बस् बस् बरु म प्याज नै खान्छु भनेर शासकसँग बिन्ति गर्छ । शासकले पनि उसको बिन्ति सुन्छ, कोर्रा बर्साउन शुरु....... फेरी उस्तै क्रम दोहरिन्छ,... केहि प्याज खाएपछि बस् अब सक्दिन बरु कोर्रा बर्साउनुस । यस्तै क्रम दोहाेरिदै उसले १०० वटा प्याज पनि खान्छ अनि, १०० कोर्रा पनि खान्छ ।

सजिलो खोज्ने मानिसको स्वभाव नै हो । हुन त यहि सजिलो खोज्ने बानीले गर्दा पनि धेरै फाइदा भएका छन् र मानिसलाई आकर्षण गर्नको लागि विभिन्न वस्तु तथा सेवाहरुको उत्पादन तथा विकाश पनि भएका छन् तर, सजिलो खोज्ने बानीले मानिसलाई अल्छि बनाउँदै गएको छ भने संघर्ष गर्ने, दुःख गर्न सकभर गर्न नपरोस् भन्ने सोँच्छन् ।

सफल रेस्लर तथा विश्वका महंङ्गा कलाकार ड्वेन जोनसन अर्थात दि रकले “सफलताको मापन सँधै महानतासँग गरिदैन, निरन्तरतासँग गरिन्छ । निरन्तर कडा मेहेनतले सफलता प्राप्त हुन्छ, जसले मानिसलाई महान बनाउँछ” भनेर सफलताको लागि कडा मेहेनत गर्नुपर्छ भनेर जोड दिएका छन् । रकले सानैबाट कडा मेहेनत गर्न सिके, जोखिम लिन सिके । उनले डब्लुडब्लुई मा बिश्व च्याम्पियन भएर अपार सफलता र प्रसिद्धि कमाईरहँदा पनि आफूले अझै धेरै मेहेनत गर्न बाँकी रहेको र धेरै दुःख गर्ने बताउँथे । उनको त्यहि सोँचअनुसार अझ मेहेनत, अझ दुःख गर्ने अभिनयतिर होम्मिए र अहिले बिश्वको सबैभन्दा महंङ्गा कलाकार बन्न सफल भएका छन् ।

मानिसको उत्पत्तिको बारेमा विभिन्न थरीका भनाइहरु पढ्न, सुन्न पाइन्छ, ती मध्ये कसैले मानिसको पूर्वज माछा भएको पनि दाबी गर्छन् र ती पूर्वज माछाहरु मध्ये केहि माछाहरु सँधैभरी एउटा प्रकारको जीवन यापन गर्दा दिक्क भई कुनै नयाँ प्रयोग गर्ने, दुःख, संघर्ष गर्नुपरे पनि नयाँ स्थानमा नयाँ चिजको लागि गर्ने र सोको लागि जस्तो सुकै दुःख पीडा भोग्नुपरे पनि भोग्ने अठोटका साथ ज्यानको बाजी लगाएर पानीबाट बुकुर्सी मारेर जमिनमा आए । ती जमिनामा आएका कतिपय माछाहरु भने जमिनको वातावरण, हावापानी, तापक्रम लगायत अन्य दुःखहरु सहन नसकेर फेरी पानीमै फर्के भने कतिपय माछाहरु मरे । तर, जुन माछाहरु प्रतिकूल अवस्था पनि सहन सके, तिनिहरु मानिस भए र अहिले संसारमा राज गर्ने प्राणी भएका छन् ।

सफलता र सजिलो बीच नकरात्मक सम्बन्ध रहेको हुन्छ । जति सजिलो काम त्यति सानो सफलता, जति असजिलो अर्थात् गाह्राे काम, त्यति धेरै सफलता । यहि सिद्धान्त अनुसार दैनिक ज्यालादारी गर्ने मजदुर तथा प्रमुख कार्यकारी अधिकृतहरुको ज्याला तथा तलब निर्धारण गरिएको हुन्छ । यदि कसैले मेरो काम सजिलो छ भन्यो भने उसको आशादित सफलता प्राप्त नगर्न सक्छ तर, चुनौतिपूर्ण काम रोजेको मानिस आफ्नो काममा सफल भयो भने गुणात्मक रुपमा सफलता प्राप्त गर्न सक्छ ।

यदि कुनै ब्यक्ति आफ्नो काम तथा ब्यवसाय चलिरहेको, गुज्रिरहेको छ भनिरहेको हुन्छ भने उसले थप सफलताको लागि केहि थप दुःख, केहि थप चुनौति लिनको लागि तयार हुनुपर्छ । चलिरहेको, गुज्रिरहेको भन्ने शब्दले उसले खासै ठुलो चुनौतिको सामना गर्नु नपरेकाे  अवस्थालाई बुझाउने भएकोले यसले उसको सफलतामा नकरात्मक असर पार्छ ।

हामी सबै आफ्नो छोराछोरी, परिवारका सदस्यहरुलाई माया गर्छौैं । यहि मायाको प्रतिक्रिया स्वरुप आफ्ना परिवारले दुःख पाएको हामीलाई सहन हुँदैन र सकभर उनीहरुले सुख पाओस् भन्ने सोँच्छौ तर, यो सरासर गलत हो । परिवारलाई माया गर्नुपर्छ तर यस अर्थमा होइन कि, उसले दुःख नगरोस् । हाम्रो माया उसलाई जस्तो सुकै दुःख परे पनि त्यस्तो दुःखको सामना गरेर पार पाउन लायक बनाउनुपर्छ । यदि सजिलो मात्र भईरहोस् भन्ने भावना राख्ने हो सोँच्ने, खोज्ने हो भने ऊ सानातिना दुःखको पनि सामना गर्न नसकेर ब्यवसायिक जीवनमा सफल हुन सक्दैन ।

कवी बालकृष्ण समले नाटक मुकुन्द ईन्दिरामा “दुःखीको घरमा मात्र तेरे बास हुने भए, हे ईश्वर म माथि दुःख राखी मलाई अझ दुःख देऊ” भनेर दुःख, पीडा सहनको लागि मानिस तत्पर हुनुपर्छ भन्ने सन्देश प्रवाह गर्न खोजेका छन् । मानिस जति बढि दुःख पीडा सहन सक्यो, त्यति नै बलवान हुन्छ । दुःख पीडा सहन सक्ने मानिसको दिमाग पनि बढि क्रियाशील हुन्छ । सजिलो कामले मानिसलाई अल्छि बनाउँछ । मानिस कि परेर सिक्छ, कि पढेर सिक्छ । सजिलो होईन, चुनौतिपूर्ण काम गरे मानिसले गुणात्मक सफलता प्राप्त गर्न सक्छ । सजिलो कामले मानिसलाई अल्छि बनाउँछ, दुःख गर्ने बानीले गुणात्मक सफलता प्राप्त हुन्छ । नयाँ वर्षले यहाँहरुलाई नयाँ जोश, जागर दिओस्, समस्याहरुसँग डटेर लड्ने साहास दिओस् । नयाँ वर्ष २०७८ को हार्दिक मंगलमय शुभकामना । 

लेखक बुद्धि मल्ल बैंकर हुन् ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved