जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएको छ। सो पार्टीका सात सांसदले आज निर्वाचन आयोगमा पार्टीको आधिकारिता दाबी गर्दै निवेदन दिएका छन्। जसपाका नेता अशोक राई नेतृत्वको समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएको जसपाका सांसद सुशीला श्रेष्ठले बताईन्।
सांसद श्रेष्ठले आफ्ना मुद्दालाई जनतासमक्ष प्रभावकारी रुपमा लैजान र आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन अहिलेको बाटो तय गरेको दाबी गरिन। उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीसमेत रहेका जसपा अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेका बेला अर्को समूहले निर्वाचन आयोगमा आधिकारिकता दाबी गरेको हो। निर्वाचन आयोगका अनुसार निआवेदन अध्ययन भइरहेकोे छ।
जसपाको सङ्घीय संसदमा १२ सांसद छन्। उनीहरुमध्ये सात सांसदले निर्वाचन आयोगमा निवेदन दर्ता गराएका हुन्। निवेदनमा हस्ताक्षर गर्नेमा अशोक राई, नवलकिशोर साह सुडी, प्रदीप यादव, रञ्जु झा, वीरेन्द्र महतो, हसिना खान र सुशीला श्रेष्ठ रहेका छन् । त्यस्तै, केन्द्रीय कार्यकारिणी समितिका नौ र केन्द्रीय समितिका २७ जनाले राई समूहलाई साथ दिएको बताइएको छ ।
नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी प्रस्ताव गरिएको छ। पार्टीको संघीय परिषद अध्यक्षमा राजेन्द्र श्रेष्ठ रहेका छन् भने केन्द्रीय समिति अध्यक्ष अशोक कुमार राई रहेका छन् । सह अध्यक्षमा रेणु कुमारी यादवलाई प्रस्ताव गरिएको छ । उपाध्यक्षमा नवल किशोर शाह सुडी, रणध्वज लिम्बु, परशुराम बस्नेत र , सुशिला श्रेष्ठ प्रस्ताव गरिएको छ । मोहम्मद इस्तियाक राई महासचिव, र प्रदिप यादव उप महासचिव प्रस्ताव गरिएको छ । दुई जना सचिवमा रिपक कार्की र रन्जु ठाकुर प्रस्ताव गरिएको छ भने कोषाध्यक्षको जिम्मेवारी डा. विरेन्द्र महतोलाई दिने पार्टीको तयारी छ ।