सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले ५ वर्षको लागि नयाँ लाईसेन्स पाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको आज शुक्रबार बसेको सञ्चालक समिति बैठकले टेलिकमलाई ५ वर्षको लाइसेन्स दिने निर्णय गरेको हो। यसको लागि प्राधिकरणले टेलिकमसँग २१ करोड रुपैयाँ दस्तुर लिने छ ।
बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले टेलिकमलाई नयाँ लाईसेन्स दिनको लागि नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको हो । सोहि अनुसार प्राधिकरणले नयाँ लाईसेन्सको निर्णय गरेको हो ।
टेलिकमले २०५६ बैसाख २९ गते जीएसएम सेलुलर मोबाइल सेवाको लाईसेन्स लिएको थियो । दूरसञ्चार ऐनमा लाईसेन्स अवधि अवधि बढीमा २५ वर्ष हुने उल्लेख भएकोले टेलिकमको लाइसेन्स अवधि आज २०८१ बैशाख २८ गते सकिँदै छ । लाईसेन्स अवधि सकिन लागेपछि सरकारले नै नयाँ लाईसेन्स दिने निर्णय गरेको हो ।