सिटिजन लाइफ इन्स्योरेन्सले अन्तरिम लाभांश रद्द गरेको छ। कम्पनीको आज वैशाख २५ गते बिहान ८ बजे बसेको संचालक समितिको बैठकले यस अघि घोषणा गरिएको अन्तरिम लाभांश रद्द गर्ने निर्णय गरेको हो ।
बीमा प्राधिकरणको निर्देशन पछि कम्पनीले अन्तरिम लाभांश रद्द गरेको हो । प्राधिकरणले सोमबार नै लाभांश रद्द गर्न निर्देशन दिएको थियो ।
सिटिजन लाइफ इन्स्योरेन्सको वैशाख २३ गते बसेको संचालक समितिको बैठकले हाल कायम शेयर प्रिमियमबाट अन्तरिम लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको २६.९८४१ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.४२०२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। कम्पनीले हाल कायम चुक्ता पुंजीको २६.९८४१ प्रतिशतले हुन आउने १ अर्ब ६ करोड २५ लाख बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १.४२०२ प्रतिशतले हुन आउने ५ करोड ५९ लाख २१ हजार ५२ रुपैयाँ ५३ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।
कम्पनीले नेप्से मार्फत लगानीकर्तालाई दिएको जानकारीमा नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि र कम्पनीको आगामी विशेष साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने उल्लेख थियो। तर प्राधिकरणले लाभांश नै रद्द गर्न निर्देशन दिएको हो।
हाल कम्पनीको चुक्ता पुंजी ३ अर्ब ९३ करोड ७५ लाख रहेको छ। प्रस्तावित बोनस वितरणपछि कम्पनीको चुक्ता पुंजी ५ अर्ब ५३ करोड पुग्ने थियो ।