को हुन् धितोपत्र बोर्ड अध्यक्षका प्रमुख दावेदार शन्तोष नारायण श्रेष्ठ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2024 | 11:09:48 AM मा प्रकाशित

laxmi  sunrise bank

धितोपत्र बजारसँग प्रत्यक्ष तथा अप्रत्यक्ष जोडिएका सबैमा नेपाल धितोपत्र बोर्डको भावी अध्यक्षबारे विशेष चासो रहेको पाइन्छ । त्यसमाथि पनि आवेदन दिएका १९ जना आवेदकमध्येबाट ५ जनाको नाम ‘सर्ट लिस्ट’ भएयता चासो थप बढेको छ । 

चासो यस कारण कि, सर्ट लिस्टमा परेका ५ मध्ये ४ जना व्यक्तिहरु धितोपत्र बजारले प्रत्यक्षरुपमा चिनेका नाम छन् भने एउटा नाम सम्भवतः धेरै कमले सुनेको नाम रहेको छ । ५ जनाको सर्ट लिस्टमा परेका कृष्ण बहादुर कार्की हाल नेपाल स्टक एक्सचेन्जका सीईओ छन् भने डा. नबराज अधिकारी र मुक्ति श्रेष्ठ धितोपत्र बोर्डका कार्यकारी निर्देशक हुन् । चिरिन्जीवी चापागाईं बीमा प्राधिकरण (तत्कालिन बीमा समिति) का तत्कालिन अध्यक्ष हुन् । तर, ५ जनाको सर्ट लिस्टमा परेका शन्तोष नारायण श्रेष्ठ भने नेपालको धितोपत्र बजारले प्रत्यक्ष रुपमा नचिनेको अनुहार हो । त्यसैले पनि श्रेष्ठ को हुन् र कुन ‘ब्याकग्राउण्ड’का हुन् भन्ने आम चासो रहेको पाइन्छ ।

श्रेष्ठ पाँच जनामध्ये कम चर्चामा रहेका पात्र नभई सम्भवतः उमेरका हिसाबले पनि सबैभन्दा कम उमेरका छन् । तर, अनुभव र ‘ब्याकग्राउण्ड’का हिसाबले भने उत्तिकै प्रतिस्पर्धी र बलिया देखिन्छन् ।

बिजपाटीलाई अर्थमन्त्रालयबाट प्राप्त श्रेष्ठको बायोडाटाअनुसार श्रेष्ठको जन्मथलो स्याङ्गजा भए पनि पढाई र कर्मथलो काठमाडौँ भएको देखिन्छ । २०३३ सालमा स्याङ्गजाको भिरकोट नगरपालिकामा जन्मिए पनि उनको पढाई तथा कर्मथलो काठमाडौँ र बुटवल हो ।

काठमाडौँ विश्वविध्यालयबाट फाइनान्समा एमबीए गरेका श्रेष्ठको पढाई मात्र नभई अनुभव पनि बैंक वित्तीय क्षेत्र नै देखिन्छ । श्रेष्ठसँग स्वाभिमान लघुवित्त वित्तीय संस्थामा झन्डै ८ वर्ष अध्यक्षको जिम्मेवारी सम्हालेको अनुभव छ भने तत्कालिन नेपाल एक्सप्रेस फाइनान्समा (कैलाश विकास बैंक हुँदै हाल प्राइममा मर्ज भएको) १० दश वर्ष अध्यक्षको जिम्मेवारी सम्हालेको अनुभव छ । यी दुवै संस्थामा श्रेष्ठ संस्थापक अध्यक्ष हुन् । 

पदीय हिसाबले मात्र नभई संस्थाको संस्थापक तथा लगानीकर्ताको हिसाबले पनि श्रेष्ठले लघुवित्त तथा फाइनान्स कम्पनी र विकास बैंक हुँदै बैंक सञ्चालनको अनुभव प्राप्त गरेको देखिन्छ । 

त्यतिमात्र नभई श्रेष्ठसँग नेपाल विद्युत प्राधिकरणमा तीन वर्ष सञ्चालक समिति सदस्यको रुपमा काम गरेको अनुभव पनि छ । उनले वित्तीय क्षेत्रबाट प्रतिनिधित्व गर्दै प्राधिकरणमा सञ्चालक समितिको जिम्मेवारी निर्वाह गरेका हुन् ।

लगानीकर्ताको हिसाबले बैंक वित्तीय संस्थाको नेतृत्वमा रहेको मात्रै नभई श्रेष्ठसँग सोप एण्ड केमिकल, हाइड्रोपावर तथा कलेजहरुमा प्रत्यक्ष जिम्मेवारी निभाएर काम गरेको अनुभव रहेको छ । हाल श्रेष्ठ तथा उनको परिवारको लगानीमा तीन भन्दा बढी हाइड्रोपावर रहेका छन् । 

त्यस्तै आवद्दताका हिसाबले पनि श्रेष्ठ म्यानेजमेन्ट एसोसियसन नेपाल (म्यान)को आजीवन सदस्य, रुपन्देही चेम्बर अफ इन्डस्ट्रिजको कार्यकारी सदस्य रहेका छन्। 

प्रत्यक्ष रुपमा कुनै पनि सरकारी निकायमा नियुक्ति नलिएकाले बजारमा चर्चा नबटुले पनि श्रेष्ठ शैक्षिक योग्यताका हिसाबले मात्रै नभई अनुभव र क्षमताका हिासबले पनि प्रतिस्पर्धीहरुलाई टक्कर दिने अवस्थामा रहेको उनको बायोडाटाबाट देखिन्छ ।

धितोपत्र बोर्ड अध्यक्षमा ५ जनाको नाम सर्ट लिस्ट भए पनि उनीहरुको अन्तर्वार्ता तथा प्रस्तुति हुन बाँकी नै छ। अन्तर्वार्ता तथा प्रस्तुति सकिएपछि यसको अधारमा अध्यक्ष सिफारिस समितिले ३ जनाको नाम अर्थमन्त्रीलाई बुझाउनेछ । र, अर्थमन्त्रीले ति तीन जनाको नाम मन्त्रिपरिषदमा लैजानेछन् । मन्त्रिपरिषदले ३ जना मध्येबाट एक जनालाई बोर्ड अध्यक्षमा नियुक्त गर्नेछ । सिफारिस समितिमा अर्थसचिव, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा एक जना विज्ञ सदस्य रहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved