एकाघर बीमाको नयाँ नियममा अभिकर्ता र बीमा कम्पनीको विरोध

लक्ष्मण लम्साल

लक्ष्मण लम्साल

May 07, 2024 | 10:36:01 AM मा प्रकाशित

laxmi  sunrise bank

बीमा बजारलाई थप पारदर्शी र अनुशाशित बनाउने क्रममा नियामक नेपाल बीमा प्राधिकरणले एकपछि अर्को गर्दै विभिन्न किसिमका नीति नियममा परिवर्तन तथा संशोधन गरिरहेको छ। अभिकर्तामा आधारित बीमा व्यवसायलाई थप अनुशासित बनाउने भन्दै अभिकर्ताको लागि परीक्षा अनिवार्य गरिदिएर बजारमा एक किसिमको हलचल ल्याएको बीमा प्राधिकरणले अभिकर्तालाई नै जोडेर अहिले फेरि अर्को व्यवस्था गरेको छ। 

अभिकर्तालाई परीक्षा अनिवार्य गरिदिएपछि एक प्रकारले आलोचित बनेको बीमा प्राधिकरणले अहिले फेरि अभिकर्ताले एकाघर परिवारको बीमा गर्न नपाउने व्यवस्था लागू गरेको छ। प्राधिकरणले संस्थाको सुशासन सम्बन्धी निर्देशिका २०८० मार्फत् अभिकर्ता (एजेन्ट) ले एकाघर परिवारको बीमा गर्न नपाउने व्यवस्था गरेको हो। 

बीमा प्राधिकरणको यो कदमलाई बीमा व्यवसायको ’मेरुदण्ड’ मानिएका अभिकर्ताहरुले मनपराएका छैनन् भने अभिकर्तामा आधारित व्यवसाय भएकाले बीमा कम्पनीहरुले पनि यो नियममा असन्तुष्टि जनाएका छन्।  पेशागत बीमा अभिकर्ता संघले एकाघर परिवारको बीमा गराउन नपाउने व्यवस्थाको विरोध खुलेरै गरेको छ। 

पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष केदारनाथ अधिकारीले जीवन बीमाको समग्र बजार नै धानेको ठूलो स्टेकहोल्डर एजेन्ट नै भएको बताउँदै संघसँग छलफल नै नगरि प्राधिकरणले यस्तो व्यवस्था लाद्न खोजेको भन्दै विरोध गरेका छन् । प्राधिकरणले बजार शुद्धिकरणको नाममा यस प्रकारको व्यवस्था लागू गरेर अभिकर्ताहरुको मनोबल गिराउने काम गरेको बताए। अभिकर्ताहरुको प्रत्यक्ष सरोकार र चासोको विषयहरुमा छलफल नै नगरेकोमा आफुहरुको घोर आपत्ति रहेको उनले बताए।

’यो विषय अभिकर्ताहरुको प्रत्यक्ष चासोको विषय हो । अभिकर्ताको चासो र सरोकारको विषयमा छलफल नगरिकन प्राधिकरणले गम्भिर त्रुटि गर्यो’ उनले भने, 'एकाघर परिवारको बीमा गराउन नपाउने व्यवस्था प्राधिकरणले फिर्ता लिनुपर्छ।’

उनका अनुसार यदि सो व्यवस्था संशोधन नभएको खण्डमा संघले आन्दोलन गर्नेदेखि बीमालेख रोक्नेसम्मको योजना बनाएको छ ।  उनले अगाडी भने, ’आन्दोलन गर्ने हाम्रो मनशाय होइन । तर, प्राधिकरणले गल्ति नसच्याए आन्दोलन गर्नेेखि बीमालेख रोक्छौं। मलाई आशा छ प्राधिकरणले यस्तो  निर्णय सच्याउँछ।’

आफ्नै घर परिवार र अन्य आफन्तजनलाई बीमा गराएर अभिकर्ता पेशाको शुरुवात गर्ने अवधारणा रहेको उल्लेख गर्दै प्राधिकरणले अभिकर्ता बन्ने बाटो नै भत्काइदिएको अभिकर्तहरुको भनाइ छ। अभिकर्ता पेशामा अगाडि बढ्ने क्रममा आफन्तको बीमा गराएर बामे सर्नु पर्छ। तर, प्राधिकरणले बामे सर्न चाहिने खुट्टानै भाँचिदिएको धारणा अधिकांश अभिकर्ताको छ। 

त्यस्तैै, एक बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सीईओ) ले पनि बीमा प्राधिकरणको यो नियम नेपालको अहिलेको परिस्थिति अनुकुल नभएको बताए। नेपालमा भर्खरै मात्र अभिकर्ताहरुले यो पेशालाई सम्मानित ठान्न लागेको समयमा निरुत्साहित पार्नेगरि यो व्यवस्था ल्याउनु समय अनुकुल सान्दर्भिक नभएको उनको भनाइ थियो । 

परीक्षा अनिवार्य गरिएपछि ५० प्रतिशत अभिकर्ताहरु यो पेशाबाट बाहिरिएको अवस्थामा अहिले एकाघरको बीमा गर्न नपाउने व्यवस्थाले अवस्था झनै भयावह हुने उनको भनाइ छ। 

’एकाघरको बीमा गर्दा गराउँदा जसले जहाँ गल्ति गरेको छ, त्यसलाई नै कारबाही गर्नुपर्नेमा अहिलेको अप्ठ्यारो अवस्थामा यस्तो नीतिले बीमा उद्योगलाई थप अप्ठ्यारो बनाउँछ’  ती सीईओले भने, ’अभिकर्ता नै नरहने स्थिति आयो भने अभिकर्तामा आधारित बीमा  व्यवसाय ढल्न समय लाग्दैन।’

के भन्छ बीमा प्राधिकरण ?

अभिकर्ताले एकाघरको बीमा गर्न नपाउने व्यवस्था हचुवाको भरमा नभएर अध्ययन अनुसन्धान र तथ्यतथांकमा आधारित भएको बीमा प्राधिकरणको दाबी छ। एकाघरका बीमामा नै सबैभन्दा धेरै समस्या देखिएकाले यो व्यवस्था लागू गरिएको प्राधिकरणको भनाइ छ। 

यसबारे बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले अभिकर्ताहरुले एकाघर अर्थात् आफ्नो परिवार र आफन्तको बीमा गर्ने क्रममा बीमा गर्दा चाहिने आवश्यक कागजात र प्रक्रियामा धेरै कुरामा नजरअन्दाज गरिएको भेटिएकोले नै यो व्यवस्था लागू गर्नुपरेको बिजपाटीलाई बताए। 

संस्थागत सुशासन कायम गर्ने उदेश्यले नै यो व्यवस्था लागू भइसकेकाले प्राधिकरण यो निर्णयबाट फिर्ता नहुने समेत उनले बताए।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved